Follow us:


Follow us

२३ भदौ २०८३, मङ्गलवार
२३ भदौ २०८३, मङ्गलवार


नेकमा जीवविज्ञान र विश्वव्यापी स्वास्थ्यः मानव–पर्यावरण सम्बन्धी तालिम सुरु

एक्सन खबर
चैत, ६, २०७९


नेकमा जीवविज्ञान र विश्वव्यापी स्वास्थ्यः मानव–पर्यावरण  सम्बन्धी तालिम सुरु

काठमाडौं, ६ चैत्र । नेपाल इन्जिनियरिङ कलेज (नेक) प्राकृतिक श्रोत व्यवस्थापन संकायको आयोजनामा ‘जीवविज्ञान र विश्वव्यापी स्वास्थ्यः मानव–पर्यावरण  सम्पर्क सतह’ विषयक ५ दिने तालिम सुरु भएको छ ।

ललितपुरस्थित स्नातकोत्तर कलेजमा सुरु भएको तालिमको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डाक्टर महेश्वर ढकालले उद्घाटन गर्दै प्राकृतिक श्रोत सम्बन्धी अध्ययन अनुसन्धान गर्ने विद्यार्थीहरुले आफुलाई अनुशासित राखेर काम गर्नुपर्ने बताए ।

कार्यक्रमका प्रमुख अतिथि रहेका डा. ढकालले प्रकृतिको संरक्षण गर्ने सन्दर्भमा मानव दायित्व अनुशासित हुन सके प्राकृतिक श्रोत, जैविक विविधताहरु संरक्षणमा टेवा पुग्ने चर्चा गरे । उनले नेपाललाई विश्व सामु जुन जैविक विविधताले चिनाउँछ त्यसलाई उजागर गरी नेपालको आर्थिक स्तर उकास्नको निम्ति अध्ययन अनुसन्धान गर्न विद्यार्थी, अनुसन्धानकर्मीहरुलाई जोड दिए ।

साथै, उनले नेपालको जैविक विविधता र प्राकृतिक श्रोतहरुमा अध्ययन अनुसन्धान गर्न गराउन विश्वका अनुसन्धानकर्ता र बैज्ञानिकहरुलाई आब्हान गर्न सकिने पनि बताए ।

केही वर्षदेखि नेपालमा जैविक विविधता र प्राकृतिक श्रोत सम्बन्धी तालिमहरु दिँदै आइरहेका तालिमका मुख्य प्रशिक्षण युनिभर्सिटी अफ वासिङटनका प्रा.डा. रान्डल काइसले नेकमा यो वर्ष तालिम दिन पाएकोमा खुसी व्यक्त गरे । तालिममा अनुसन्धानका सैद्धान्तिक ज्ञानसँगै प्रयोगात्मक विधि र उपकरणहरु सम्बन्धी प्रशिक्षण दिइने डा. काइसले जानकारी दिए ।

त्रिविका सह–प्राध्यापक लक्ष्मण खनालले नेकको कार्यक्रममा विश्वविद्यालयका विद्यार्थीहरुलाई सहभागी गराएकोमा धन्यवाद दिँदै तालिमले मात्रै सबैकुरा सिक्ने नभई अध्ययन अनुसन्धानमा कसरी अगाडी बढ्ने, कस्तो विषयहरुमा अध्ययन अनुसन्धान गर्दा देश र समाजलाई विश्व सामु चिनाउन सकिन्छ भन्ने ज्ञान प्राप्त हुने बताए ।

नेकका सह–प्राचार्य दुर्गा भण्डारीले नेपालको प्राकृतिक श्रोत र जैविक विविधतालाई प्रयोग गरेर नेपाललाई आर्थिक, शैक्षिक र बैज्ञानिक रुपमा कसरी धनी बनाउन सकिन्छ भन्ने पक्षमा विद्यार्थीहरुले पाठ्यक्रममा मात्र सिमित नभई अध्ययन अनुसन्धानमा पनि जोड दिनुपर्ने बताए । कलेजले आफ्ना विद्यार्थीहरुलाई मात्र नभई अन्य विश्वविद्यालय र कलेजका विद्यार्थीहरुलाई तालिम, अध्ययन अनुसन्धानमा सहभागी गराउँदै लैजाने बताए ।

नेक प्राकृतिक श्रोत व्यवस्थापन संकायका प्रमुख कार्यक्रम संयोजक डा. नारायण कोजूले कार्यक्रमको बारेमा प्रकाश पार्दै ५ दिनसम्मको तालिममा गरिने कृयाकलापहरुको बारेमा जानकारी दिए । साथै, सहभागीहरुलाई विश्वको अनुभवलाई नेपालको सन्दर्भमा कसरी प्रयोग गर्ने, विश्वको अनुभवबाट नेपालको जैविक विविधता संरक्षण, मानव र वातावरण विचमा भइरहेको नकारात्मक असरबाट शिक्षा लिएर मानव जातिको पक्षमा जैविक विविधता र वातावरणलाई प्रयोग गर्ने बारेमा केही सिक्न उपयोगी हुने विस्वास व्यक्त गरे ।

तालिममा विभिन्न विषयका प्राध्यापक, अनुसन्धानकर्मीहरुले आफ्नो अनुसन्धान र त्यसमा प्रयोग हुने विधिबारे जानकारी दिनेछन् । तालिममा नेकसँगै त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, विभिन्न आङ्गिक क्याम्पसका प्राध्यापकहरुले तालिम दिनेछन् ।

तालिममा ५ वटा विश्वविद्यालयका १० शिक्षण संस्थाहरुबाट ४२ जना सहभागी रहेकोमा २५ जना स्नातकोत्तर अध्ययनरत १७ जना स्नातक तहमा अध्ययनरत रहेका छन् ।

















0 प्रतिकृया