Follow us:


Follow us

२२ भदौ २०८३, सोमवार
२२ भदौ २०८३, सोमवार


राहदानी विवादमा रवि लामिछानेविरूद्ध मुद्दा नचलाइने

एक्सन खबर
चैत, ६, २०७९


राहदानी विवादमा रवि लामिछानेविरूद्ध मुद्दा नचलाइने

काठमाडाैं, ६ चैत्र । राहदानी विवादमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्ध मुद्दा नचलाइने भएकाे छ । महान्यायाधिवक्ताकाे कार्यालयले लामिछानेले राहदानीकाे दुरूपयाेग नगरेकाले मुद्दा नचलाउन निर्णय गरेकाे हाे ।

महान्यायाधिवक्ता दिनमणि पोखरेलले सोमबार लामिछानेविरूद्ध मुद्दा नचलाउने निर्णय गरेको सहन्यायाधिवक्ता सञ्जीवराज रेग्मीले बताए । जिल्ला सरकारी वकिलको कार्यालयले लामिछानेविरूद्ध मुद्दा नचलाउने प्रतिवेदन उच्च सरकारी वकिलको कार्यालयमा पठाएको थियो ।

उच्च सरकारी वकिलको कार्यालयले जिल्लाको प्रतिवेदनलाई गत बिहीबार महान्यायाधिवक्ताको कार्यालयमा पठाउँदा लामिछानेमाथि विशेषगरी चार वटा आधारका कारण मुद्दा नचलाउने निर्णय गरेको थियो ।

लामिछानेले सन् २०१५ मा लिएको ०८८३४८३८ नम्बरको राहदानी दुरूपयोग गरेको अध्यागमन विभागको रेकर्डबाट नदेखिएको, अमेरिकी नागरिक हुनुअघि उनी वंशजको आधारमा नेपाली नागरिक रहेको र विदेशी नभई गैरआवासीय व्यक्ति सरह रहेको मानेको ठहर गरेकाे छ । उनले बाेकेकाे उक्त राहदानी अध्यागमन विभागबाट रद्द पनि भइसकेको र नागरिकता पुन: प्राप्ति गरिसकेकोले लामिछानेविरूद्ध मुद्दा नचलाउने भनिएकाे छ ।

त्यसैगरी, जिल्ला प्रहरी परिसर काठमाडौंले पनि लामिछानेमाथि मुद्दा चलाउनु नपर्ने भन्दै बुझाएकाे अनुसन्धान प्रतिवेदन समेतलाई हेरेर उक्त निर्णय गरिएकाे भनिएकाे छ ।

त्याग गरिसकेको नागरिकताको आधारमा निर्वाचन जितेर सांसद बनेको भन्दै उनीविरूद्ध सर्वोच्चमा परेकाे रिटमा गत माघ १३ गते सांसद पद खारेज गरिएकाे थियाे । उपप्रधान तथा गृहमन्त्री हुँदा सर्वाेच्चकाे आदेशसँगै उनले मन्त्रीबाट राजीनामा दिएका थिए ।

त्यसकाे भाेलीपल्ट जिल्ला प्रशासन कार्यालय काठमाडौंमा गएर उनले पुन: नागरिकता प्राप्ति गर्दै निष्क्रिय भएको नागरिकताबाट लिएको राहदानी पनि फिर्ता गरेका थिए ।













0 प्रतिकृया