विश्व मुख स्वास्थ्य दिवसको अवसरमा नेपाल मेडिकल कलेजमा सचेतना
एक्सन खबर
काठमाडौं, ६ चैत्र । विश्व मुख स्वास्थ्य दिवसको अवसरमा अत्तरखेल जोरपाटी स्थित नेपाल मेडिकल कलेजमा सचेतना कार्यक्रम गरिएको छ । मुख तथा दाँतको सुरक्षा गरे धेरै रोगहरुबाट बच्न सकिन्छ भन्ने सचेतना फैलाउन कार्यक्रम गरिएको कलेजले जनाएको छ ।
कलेजमा विडिएसमा अध्ययनरत विद्यार्थी तथा स्वास्थ्यकर्मीहरुले स्वास्थ्योपचारका लागि आएका बिरामी तथा आगन्तुकहरुलाई मुखको क्यान्सर, दाँत तथा मुख सम्बन्धी रोगका बारेमा सचेतना दिए । साथै, दाँत कसरी सफा र स्वस्थ राख्ने, दाँत तथा गिजा स्वस्थ राख्न कस्ता खानोकुरा खाने र मुख तथा दाँतमा लाग्ने रोगहरुका बारेमा जानकारी दिएका थिए ।
सचेतना कार्यक्रममा आगन्तुकहरुलाई प्रत्येक ६ महिनामा दाँतको स्वास्थ्य परीक्षण गर्नुपर्ने, दाँतका किरा लागेको, दाँत खिइएको वा भाँच्चिएको अवस्थामा हेलचेक्राईं नगर्न पनि सुझाइएको छ ।
नेपालमा पछिल्लो समय दाँत तथा मुखको स्वास्थ्य सम्बन्धी उपचार गर्ने दक्ष चिकित्सकहरुको संख्या बढ्दो छ । देशका प्रमुख शहरहरुमा दन्तरोग विशेषज्ञ चिकित्सकहरु उपलब्ध छन् । नेपाल मेडिकल कलेजले दन्तरोग सम्बन्धी उपचार तथा पठनपाठनको लागि छुट्टै डेण्टल भवन नै निर्माण गरिरहेको छ ।
नेपाल मेडिकल काउन्सिलको तथ्यांक अनुसार नेपालमा दन्त चिकित्सा सेवा तर्फ ५ हजार १५४ डाक्टर दर्ता भएकामा चिकित्सा सेवामा तर्फ स्नातक तह (बिडिएस) अध्ययन गरेका ४ हजार ४१३ र स्नातकोत्तर तह एमडिएस वा सो भन्दा माथी अध्ययन गरेका ७४१ जना चिकित्सक रहेका छन् ।
0 प्रतिकृया