Follow us:


Follow us

२२ भदौ २०८३, सोमवार
२२ भदौ २०८३, सोमवार


नेविसंघमा राजेन्द्र चटौतको नेतृत्वमा समानान्तर कमिटिको तयारी

एक्सन खबर
चैत, ९, २०७९


नेविसंघमा राजेन्द्र चटौतको नेतृत्वमा समानान्तर कमिटिको तयारी

काठमाडाैं, ८ चैत्र । नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघले विधानमा ३२ बर्ष उमेर हद लगाएपछि आजसम्म पटक पटक नेविसंघ नेतृत्व विहिन बनेको छ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन पश्चात नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले २०७८ चैत्र ९ गते नेविसंघको अध्यक्षमा दुजाङ शेर्पालाई र तरुण दलकाे अध्यक्षमा विद्धान गुरुङलाई चयन गरेका थिए ।

नेतृत्व पाएको १२ महिनासम्म पनि कार्यसमितिले पुर्णता पाउन सकेको छैन । दुवै अध्यक्षलाई स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा सदस्यको निर्वाचनको अन्तिम परिणाम प्राप्त भएको मितिले तीन महीनाभित्र केन्द्रीय अधिवेशन गर्न समय दिइएको थियो ।

निर्वाचन आयोगले २८ मंसिर, २०७९ गते प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० र प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० बमोजिमको प्रक्रिया पूरा गरी समानुपातिक निर्वाचनको परिणाम घोषणा गरेसँगै प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको अन्तिम नतिजा प्रकाशन गरेको थियो ।

यसरी अन्तिम तीन महिना वितिसक्दा पनि स्ववियु निर्वाचनका कारण नेपाली कांग्रेसले मौनता साधेर कुनै निर्णय गरेको थिएन । अवधि सकिएपनि अध्यक्षको एकल नेतृत्वमा रहेको नेविसंघबाट पत्र वितरण गरी मनोनित गर्ने कार्य भने रोकिएको छैन ।  

अध्यक्ष शेर्पा माथि नेपाली कांग्रेसको नर्सरीका रुपमा रहेको नेविसंघले पार्टीले दिएको म्यान्डेट भन्दा बाहिर गएर मनोमानी ढंगले जिल्ला जिल्लामा गुटको खेती गरेको, जिल्ला समितिहरुको नेतृत्व बिक्रि गरेको, आफ्नो म्याद सकिँदै गर्दा समेत संगठन कब्जा गरेर लेटर प्याड र छाप दुरुपयोग गरेको, स्ववियु निर्वाचनमा निर्मम रुपले संगठन भित्रका योग्य साथीहरुको राजनैतिक हत्याको षडयन्त्र गरेको आराेप छ ।

त्यस्तै, तिन तहको निर्वाचन र स्ववियु निर्वाचनमा चन्दा आतंक गरेको, गैरराजनीतिक सहकार्य गर्न आम कार्यकर्तालाई बाध्य पारेको लगायतका आरोपहरु लगाउदै नेविसंघ बृहत संघर्ष समितिले केन्द्रीय कार्यालय तालाबन्दी गरेको पनि हप्ता दिन भैसकेको छ ।

नेपाली कांग्रेस काठमाडौँ कार्यालय समेत नेविसंघकै विवादका कारण तालाबन्दी गरिएको छ । केही समय अघि नेपाली कांग्रेस दोलखाका सभापति र मकवानपुरका सभापतिले दुजाङ् शेर्पाको कामप्रति असन्तुष्टि सार्वजनिक रुपमै गरेका थिए ।

यसै सन्दर्भमा नेविसंघ प्राविधिक विद्यार्थी परिषदको कार्यवाहक सभापति राजेन्द्र चटौत र उनको समुहले आज सामाजिक संजाल मार्फत राष्ट्रियता, लोकतन्त्र,  समाजवाद र विद्यार्थी एकता रक्षार्थ "बृहत्तर विधार्थी भेला मार्फत नेविसंघको केन्द्रीय नेतृत्व चयन कार्यक्रम" को गर्न लागेकाे जनाएकाे छ ।

यद्यपि, कार्यक्रमको स्थान र समय खुलाईएको छैन । नेता चटौतका अनुसार देशभरिका साथिहरुको सहभागीता सुनिश्चित गर्न तयारी चलिरहेकाले यथाशिघ्र कार्यक्रमको स्थान र समय तय गरिनेछ ।  

कांग्रेस सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुराको भागेश्वर गाउँपालिकामा जन्मिएका राजेन्द्र चटौत आरजु देउवाले २०७४ मा निर्वाचन लडेकाे कैलाली निर्वाचन क्षेत्र ५ का स्थायी बासिन्दा हुन् ।














0 प्रतिकृया