Follow us:


Follow us

२२ भदौ २०८३, सोमवार
२२ भदौ २०८३, सोमवार


पुरूषकाे भन्दा महिलाकाे संख्या बढी, कर्णालीकाे जनसंख्या सबैभन्दा कम

एक्सन खबर
चैत, ११, २०७९


पुरूषकाे भन्दा महिलाकाे संख्या बढी, कर्णालीकाे जनसंख्या सबैभन्दा कम

काठमाडौं, १० चैत । नेपालकाे जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ पुगेकाे छ । राष्ट्रिय जनगणना २०७८ काे नतिजा अनुसार २०७८ साल मंसिर ९ गते) सम्म नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ ।  

सोल्टी होटलमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिक गरे । राष्ट्रिय जनगणना २०७८ अनुसार (जनगणना सन्दर्भ दिन २०७८ साल मंसिर ९ गते) नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ पुगेको छ ।

२०६८ काे जनगणनामा नेपालकाे जनसंख्या २ करोड ६४ लाख ९४ हजार पाँच सय चार थियाे । नेपालमा हरेक १०–१० वर्षमा राष्ट्रिय जनगणना हुँदै आएको छ ।

०७८ काे जनगणना अनुसार पुरूषकाे भन्दा महिलाकाे संख्या बढी छ । पुरुषको संख्या १ करोड ४२ लाख ५३ हजार ५५१ (४८.९८ प्रतिशत) र महिलाको संख्या १ करोड ४९ लाख ११ हजार २७ (५१.०२ प्रतिशत) छ । लैङ्गिक अनुपात अर्थात् प्रति १०० जना महिलामा पुरुषको संख्या ९५.५९ जना छ ।

राष्ट्रिय योजना आयोगले राष्ट्रिय तथ्यांक कार्यालय मार्फत २५ कात्तिकदेखि ९ मंसिर २०७८ सालको जनगणना संकलन गरेकोमा त्यसको प्रारम्भिक नतिजा गत वर्ष माघमै सार्वजनिक गरिएको थियो । प्रारम्भिक रिपोर्टमा नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० छ ।

राष्ट्रिय जनगणना २०७८ को नतिजा अनुसार कुल जनसंख्यामध्ये अन्य लिङ्गी (लैङ्गिक तथा यौनिक अल्पसंख्यक) को जनसंख्या २ हजार ९२८ अर्थात कुल जनसंख्याको ०.०१ प्रतिशत छ ।

जनगणना अवधिमा वार्षिक औसत जनसंख्या वृद्धिदर प्रतिवर्ष ०.९२ प्रतिशत रहेको छ । २०६८ सालको जनगणनामा १.३५ प्रतिशत प्रतिवर्ष थियो । जिल्लागत रुपमा हेर्दा सबैभन्दा बढी वार्षिक औसत जनसंख्या वृद्धिदर भएको जिल्ला भक्तपुर (३.३५ प्रतिशत) र सबैभन्दा कम वार्षिक औसत जनसंख्या वृद्धिदर भएको जिल्ला रामेछाप ((१.६७ प्रतिशत) रहेका छ ।

जनघनत्व (प्रतिवर्ग किलोमिटर क्षेत्रफलमा रहेको जनसंख्या) १९८ जना प्रतिवर्ग किलोमिटर रहेकोमा २०६८ सालमा १८० वर्ग कि.मि. मात्र थियो । भौगोलिक क्षेत्रअनुसार हेर्दा सबैभन्दा धेरै जनघनत्व तराई क्षेत्रमा ४६० जना प्रतिवर्ग किलोमिटर र सबैभन्दा कम हिमाली क्षेत्रमा ३४ जना प्रतिवर्ग किलोमिटर रहेको छ । सबैभन्दा धेरै जनघनत्व काठमाडौं जिल्लामा (५१६९ जना प्रतिवर्ग किलोमिटर) र सबै भन्दा कम मनाङ जिल्लामा (३ जना प्रतिवर्ग किलोमिटर) रहेको छ ।

देशमा बसोबास गर्ने कुल परिवार ६६ लाख ६६ हजार ९३७ मा व्यक्तिगत परिवार ६६ लाख ६० हजार ८४१ र संस्थागत परिवार ६ हजार ९६ रहेका छन् । प्रतिपरिवार अक्सर बसोबास गर्ने सदस्य औसतमा ४.३७ जना रहेको छ । २०६८ सालमा ४.८८ जना रहेको थियो ।

भौगोलिक क्षेत्रअनुसार प्रतिपरिवार हिमाली क्षेत्रमा ४.३३ जना, पहाडमा ३.९९ जना र तराई क्षेत्रमा ४.७३ जना सदस्य रहेका छन् । परिवारको आकार रौतहट जिल्लामा सबैभन्दा बढी (५.९४) र गोरखा र दोलखा जिल्लामा सबैभन्दा कम (३.४९) रहेको छ । २०६८ सालको जनगणनामा कुल परिवार संख्या ५४ लाख २७ हजार ३०२ रहेको थियो ।

२०७८ को जनगणना अनुसार नगरपालिकाहरुमा बस्ने जनसंख्या ६६.१७ प्रतिशत रहेको छ । गाउँपालिकाहरुमा बस्ने जनसंख्या ३३.८३ प्रतिशत रहेको छ ।  भौगोलिक क्षेत्रअनुसार तराईमा कुल जनसंख्याको ५३.६१ प्रतिशत (१ करोड ५६ लाख ३४ हजार ६ जना), पहाडमा ४०.३१ प्रतिशत (१ करोड १७ लाख ५७ हजार ६२४ जना) र हिमाली क्षेत्रमा ६.०८ प्रतिशत (१७ लाख ७२ हजार ९४८ जना) जनसंख्या रहेको छ ।

प्रदेशगत रुपमा जनसंख्याको वितरण हेर्दा सबैभन्दा धेरै जनसंख्या बागमती प्रदेशमा २०.९७ प्रतिशत र सबैभन्दा कम कर्णाली प्रदेशमा ५.७९ प्रतिशत रहेको छ । जिल्लागत रुपमा सबैभन्दा बढी जनसंख्या भएको जिल्ला काठमाडौं (२० लाख ४१ हजार ५८७ जना) र सबैभन्दा कम जनसंख्या भएको जिल्ला मनाङमा (५ हजार ६५८ जना) छन् ।














0 प्रतिकृया