Follow us:


Follow us

२२ भदौ २०८३, सोमवार
२२ भदौ २०८३, सोमवार


भगबती चौधरीको प्रश्न: न्याय खाेज्दै नागरिक सडकमा छन् सरकार कहाँ छ ?

एक्सन खबर
चैत, १५, २०७९


भगबती चौधरीको प्रश्न: न्याय खाेज्दै नागरिक सडकमा छन् सरकार कहाँ छ ?

काठमाडौं, १५ चैत्र । मिटरव्याजी, सुदखोर पिडित नागरिकहरुका समस्यालाई सरकारले तत्काल संवोधन गर्नुपर्ने नेकपा एमालेकी सांसद भगबती चौधरीले बताएकी छिन् । बुधबारको संसदमा विशेष समय लिएर बोल्दै सांसद चौधरीले नागरिकहरुले अन्याय भयो न्याय चाहियो भन्दै सडकमा आन्दोलन सरकारले नजर अन्दाज गरेको बताइन् ।

‘नागरिकहरु न्याय चाहियो भन्दै सडकमा छन् सरकार कहाँ छ ? सडकको आन्दोलनलाई सरकारले किन अनदेखा गरिरहेको छ ?’ सांसद चौधरीले सरकारको ध्यानाकर्षण गराउँदै प्रश्न गरेकी छिन् ।

ग्रामिण क्षेत्रका जनतासँग थोरै आम्दानी हुने, उनीहरु बैंक तथा वित्तीय संस्थाहरुसम्म कारोबार गर्न नसक्ने भएकाले बिरामी, विवाह, मृत्यु संस्कार लगायत घरायसी कार्य गर्नपनि साहु महाजन कहाँ पैसा माग्न जानुपर्ने बाध्यता रहेको प्रष्ट्याउँदै चौधरीले तराईका धेरै परिवारको घरजग्गा साहु महाजनले कब्जामा राखेको जिकीर गरिन् ।

‘वर्षको एकदुई पटक निश्चित महिना आम्दानी हुने परिवारभित्र कोही बिरामी भए, दुर्घटनामा परे, विवाह, धार्मिक संस्कार र मृत्यु संस्कारमा पैसा नहुँदा साहुमहाजन कहाँ जानु पर्ने बाध्यता छ । यस्तोमा धेरै साहु महाजनहरुले उनीहरुको घरजग्गा कब्जा गरेका छन् ।’ विपन्न नागरिकलाई सहुलियत रुपमा कर्जा दिनसके बैंक तथा वित्तीय संस्थाहरुमा सहज पहुँच पुर्याए समस्या हल हुदै जाने चौधरीले बताइन् ।

सांसद चौधरीले गरिब, विपन्न नागरिकसँग वित्तीय साक्षरता नहुँदा पनि साहु महाजनले उनीहरुको घरजग्गा कब्जा गरेको बताउँदै राज्यले सुदखोर र साहु महाजनका गलत कृयाकलाप रोक्नुपर्ने माग गरिन् । साथै, उनले नेपाल राष्ट्र बैंकले सामाजिक सेवाको लघुवित्तलाई बाफिया एक्टमा राखेर मुनाफामुलक बनाएकाले पनि समस्याहरु देखा परेको बताइन् । सामाजिक सेवालाई अपभ्रंश बनाएर लघुवित्तलाई नाफा कमाउने जस्तो बनाएकाले पनि समस्या देखिएको बताउँदै त्यसलाई सुधार्नुपर्ने जनाइन् ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थामाथि संगठित रुपमा प्रहार भइरहेको जनाउँदै चौधरीले मुलकबाट बैंक तथा वित्तीय संस्था नै खारेज गर्नुपर्छ भन्ने नियत राख्न नहुने बताइन् । लघुवित्त वित्तीय संस्थामा आक्रमण गर्ने, तालाबन्दी गर्ने, कर्मचारीलाई कालोमोसो दल्ने जस्ता हर्कतहरु संगठित रुपमा भइरहेको प्रति राज्यको ध्यानाकर्षण गराउँदै चौधरीले यस्ता कृयाकलापलाई बेलैमा नरोक्ने होभने समाजमा अराजकता सृजना गर्ने, ऋण लिएपछि तिर्नै पर्दैन भन्ने गलत सोच फैलाउने पनि बताइन् ।
 
‘म सबै बैंक तथा वित्तिय संस्थाले सहि काम गरेका छन् भनेर त दावी गर्दिन । बैंक तथा वित्तीय संस्थाहरु राज्यको ऐन, नीति नियममा चलेका छैनन् भने तीनिहरुलाई कारवाही गर्ने दायित्व राज्यको हो । तर, कुनै व्यक्ति र समुहलाई कारवाही गर्ने अधिकार छैन ।’ सांसद चौधरीले भनिन् ।

बुधबारको संसद बैठकमा बोल्ने अधिकांश सांसदहरुले मिटरब्याजी, साहुकारहरुले गरिब विपन्न नागरिकको उठिबास लगाएको प्रति त्यसलाई रोक्न सरकारले तत्कालै संसदमा विधेयक नै दर्ता गरेर कानुन बनाउनु पर्नेमा जोड दिएका थिए ।













0 प्रतिकृया