ललितपुरको टिकाथलीमा केएमसीको निःशुल्क स्वास्थ्य शिविरमा बिरामीको घुईंचो
एक्सन खबर
काठमाडौं, १६ चैत्र । काठमाडौं मेडिकल कलेजले ललितपुरको टिकाथलीमा गरेको निःशुल्क स्वास्थ्य शिविरमा बिरामीको घुईंचो लागेको छ । बुधबार केएमसीले ललितपुर महानगरपालिका वडा नं. ५ सँगको सहकार्यमा गरेको निःशुल्क स्वास्थ्य शिविरमा ७६५ जना बिरामीको स्वास्थ्य परीक्षण गरिएको छ ।
शिविरमा उक्त वडाका महिला, बालबालिका, विद्यार्थी, ज्येष्ठ नागरिक तथा आम सर्वसाधारणले दक्ष चिकित्सकहरुबाट स्वास्थ्य परीक्षण गराएको केएमसीका जनरल मेनेजर नारायण दाहालले जानकारी दिए । दाहालका अनुसार उक्त स्वास्थ्य शिविरमा ७५ जनाको इसिजी, १०२ जनाको ल्याब परीक्षण, ९७ जनाको भिडियो एक्सरे गरिएको छ ।
त्यस्तै, ११ जनाको दाँत खोलिँदा २७ जनालाई थप उपचारका लागि ओ.टी. रेफर गरिएको छ । शिविरमा नाक कान घाँटी, आँखा रोग, दन्त रोग, बाल रोग, स्त्री रोग, जनरल मेडिसिन लगायतको सेवा दिइएको थियो ।
सांसद डा. सुनिल शर्मा केएमसीको कार्यकारी अध्यक्ष हुँदा सुरुवात गरिएको निःशुल्क स्वास्थ्य शिविरले आम जनतालाई घरघरमै पुगेर स्वास्थ्य सेवा दिइरहेकोले शिविरलाई निरन्तरता दिइरहने केएमसीले जनाएको छ । साथै, केएमसीको स्वास्थ्य शिविरमा सहभागी भएर लाभ लिन पनि आब्हान गरिएको छ ।
0 प्रतिकृया