किन राजनारायण पाठकलाई भ्रष्टाचार उद्योग मात्र गरेको फैसला भयो ? (फैसलाको पूर्णपाठ सहित)
एक्सन खबर
काठमाडौं, १५ चैत्र । विशेष अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठकलाई भ्रष्टाचार उद्योगमा मात्र सजाय फैसला गरेको छ । घुस लेनदेनको मिति किटान नभएको भन्दै विशेषले पूर्वआयुक्तलाई भ्रष्टाचार उद्योग गरेको ठहर गरेको हो ।
विशेषले गरेको फैसलाको पूर्णपाठमा अदालतमा पेस भएका अडियो र भिडियो कुन मिति र समयको हो हो यकिन नभएकोले उद्योग गरेको कसुर ठहर भएको उल्लेख छ ।
गत पुस २८ गते गरिएको फैसलामा पूर्वआयुक्त पाठकलाई ७८ लाख घुस दिने नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदरकुमार न्यौपानेलाई ३९–३९ लाख रुपैंया र तीन–तीन वर्ष कैद सजाय सुनाएको थियो । पाठकलाई संवैधानिक अंगका पदाधिकारी रहेकाले थप तीन महिना कैद सजाय सुनाइएको थियो ।
विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यद्वय यमुना भट्टराई र बलभद्र बास्तोलाको संयुक्त इजलासले पाठकलाई भ्रष्टाचार उद्योग कसुरमा फैसला गरेको थियो । ‘प्रतिवादी राजनारायण पाठकउपर ७८ लाख घुस लिएको भनी आरोप दाबी लगाएकोमा सहप्रतिवादी लम्बोदरकुमार न्यौपानेबाट ज्ञानेन्द्रकुमार झाले कहिले उक्त रकम लिई कहिले दिएको हो ? त्यसको वारदात मिति नै मिसिलबाट यकिन भएको देखिँदैन, रकम दिने ज्ञानेन्द्रकुमार झाले मौकामा दिएको हुँ भनी मिति किटान गरी लेखाउन सकेको छैन ।’ फैसलाको पूर्णपाठमा उल्लेख छ ।
त्यस्तै, ज्ञानेन्द्रकुमार झाले घुसबापत दिएको भनिएको रकम वादी पक्षले प्रतिवादीबाट बरामद गरी दशीका रूपमा आरोपदाबी साथ पेस गर्न सकेको नदेखिएको पनि उल्लेख छ । ‘ज्ञानेन्द्रकुमार झाले प्रतिवादीलाई घुस दिँदा र प्रतिवादी राजनारायण पाठकलाई यो यति नम्बरमा नोट भएको रकम दिएको हुँ भनी उजुरी निवेदनमा कहीँ कतै उल्लेख भएको देखिँदैन ।’ पूर्णपाठमा भनिएको छ ।
पाठकलाई रकम दिने न्यौपानेले रकम दिएको छैन भनेको, प्रतिवादीको साथबाट रकम बरामद गरी भौतिक प्रमाणका रूपमा पेस हुन नसकेको अवस्थामा केवल झा र ध्वजमान मोक्तानको बकपत्रका आधारमा मात्र घुसको रकम लिइसकेको भनी निष्कर्षमा पुग्न नसकिने फैसलामा उल्लेख छ ।
इजलासमा पेस अडियो भिडियोबाट रकम लेनदेनको कुरा भए पनि घुस लिएको तथ्य पुष्टि हुने ठोस प्रमाणको नभेटिएको जनाइएको छ ।
‘प्रतिवादी लम्बोदर न्यौपानेले आफ्नो स्वार्थ जोडिएको कलेजको विषयमा परेको उजुरी मिलाउने प्रयोजनार्थ ज्ञानेन्द्रकुमार झालाई माध्यम बनाई आयोगका आयुक्त प्रतिवादी राजनारायण पाठकलाई घुस नै दिएर विवाद मिलाउन मनसाय राखी सोको तयारीस्वरूप ज्ञानेन्द्रकुमार झासमेतलाई राजनारायण पाठकसँग भेट्न पठाएको, घुस रकमको सम्बन्धमा कुरा गरेको, राजनारायणलाई भेट्न निजको अफिससम्म पुगेको र घुस रकमको सम्बन्धमा कुरा गरेको, राजनारायणलाई भेट्न निजको अफिससम्म पुगेको र घुस दिने रकम तय गरेको देखिन्छ । घुस दिन तयारी रहेको अवस्थामा सहप्रतिवादी राजनारायण पाठक र प्रतिवादी लम्बोदर न्यौपानेसँग रकम लेनदेन र कामको विषयमा ज्ञानेन्द्रकुमार झाले गरेको अडियो संवाद तथा ध्वजमान मुक्तान र राजनारायण पाठकबीचको भिडियो संवाद सार्वजनिक भएको र राजनारायण पाठकले आयुक्त पदबाट राजीनामा दिई प्रस्तुत मुद्दाको अनुसन्धान सुरु भएको कारणले घूस रकम लेनदेन हुनसम्म नपाएको, घुस लिने र दिने कुराकानी भई तयारीसमेत भएको अवस्थामा अचानक अडियो–भिडियो संवाद बाहिर सार्वजनिक भएका कारण घुस रकम लिनेदिनेसम्मको कार्य सम्पन्न हुन नपाएको,’ फैसलामा भनिएको छ ।
संविधानले अख्तियारको आयुक्त उच्च नैतिक चरित्रको हुनुपर्ने व्यवस्था गरेको भन्दै पाठकले आयोगमा उजुरी परेका न्यौपानेसँग भेट्नु, अन्य व्यक्तिलाई माध्यम बनाई घुस मागी काम गरिदिन्छु भनी कामकाज गर्नु अख्तियारको पदाधिकारीका लागि शोभनीय नहुने भनिएको छ ।
हेर्नुहोस फैसलाको पूर्णपाठ
0 प्रतिकृया