एनएमसीका स्वास्थ्य सेवाहरु अब डिजिटलमा, मिर्गाैला प्रत्याराेपणकाे याेजना
एक्सन खबर
काठमाडौं, १६ चैत्र । नेपाल मेडिकल कलेजको स्वास्थ्य सेवालाई डिजिटलाइजेसन गरिएको छ । अस्पतालमा उपचारार्थ आउने बिरामीलाई छिटो छरितो स्वास्थ्य सेवा प्रदान गर्नका लागि सम्पूर्ण सेवाहरु डिजिटलाइजेसन गर्न लागिएको छ । अस्पतालमा दिनानुदिन बिरामीको चाप बढेसँगै ओपिडी टिकट देखि ल्याबमा रिपोर्टहरु पनि डिजिटलाइजेसन गर्न लागिएको छ ।
सुत्र टेक्नोलोजीसँगको सहकार्यमा इमरजेन्सी, ओपिडी टिकट र ल्याब रिपोर्टहरु डिजिटल्ली गर्न लागिएको अस्पताल इन्चार्ज दिलिप साहले बताए । ‘अहिले दैनिक १७ सयदेखि २ हजारको हाराहारीमा बिरामीहरु आउनु हुन्छ, उहाँहरुलाई स्वास्थ्य सेवा पाउन असहज नहोस् भनेर अस्पतालका सबै सेवाहरुलाई डिजिटलाइजेसन गर्न लागिएको हो ।’ अस्पतालको ओपिडी तथा इमरजेन्सी टिकटमा डिजिटलाइजेसन गरिसकिएको तथा केही समयमै अन्य सेवाहरु डिजिटलमा रुपान्तरण हुने उनले जानकारी दिए ।
काठमाडौंका उत्तरी भेगका जनतासँगै राजधानी आसपासका जिल्ला र मधेश प्रदेशका जनतालाई सर्वसुलभ सेवा स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको नेपाल मेडिकल कलेजले अनलाइनबाट टिकट काट्न मिल्ने प्रविधि पनि ल्याउने तयारी गरेको छ । डिजिटल प्रविधिले बिरामीको उपचारमा केस स्टडी गर्नपनि सहजता प्रदान गर्ने छ ।
मिर्गोला प्रत्यारोपण सेवा
नेपाल मेडिकल कलेजले मिर्गोला प्रत्यारोपण सेवा स्थापना गर्ने तयारी गरेको छ । नेपालमा मिर्गौला प्रत्यारोपण सेवा सर्वसुलभ नहुँदा बिरामीहरु छिमेकी मुलुक भारत, सिंगापुर, थाइलेण्ड जस्ता देशहरुमा लाखौं खर्च गरेर जानुपर्ने बाध्यता छ । त्यसलाई हल गर्न कलेजले मिर्गौला प्रत्यारोपण सेवा सञ्चालन गर्ने योजना बनाएको हो ।
‘नेपाल मेडिकल कलेजलाई आधुनिकीकरण गर्दै जटिल उपचार सेवाहरु थप गर्न मास्टरप्लान बनाइरहेका छौं । चाडैं मिर्गौला प्रत्यारोपण सेवा थप्नेछौं । क्याथल्याब, अंकोलोजी सेवा सञ्चालन गर्ने छौं ।’ कलेजका प्रबन्ध निर्देशक बसरुद्धिन अन्सारीले भने ।
मुटु रोगीको उपचारका लागि चाहिने क्याथल्याव सेवा पनि कलेजले सुरु गर्ने भएको छ । अस्पतालमै क्याथ ल्याब सेवा भएमा हृदयघात, मुटुको रगतका नशा सम्बन्धी समस्या, मुटुको भल्भ सम्बन्धी समस्या, जन्मजात मुटु रोग लगायतका समस्या भएका बिरामीलाई क्याथ ल्याबबाट उपचार सेवा दिन सकिन्छ । यसका लागि पूर्वाधार निर्माणसँगै जनशक्ति व्यवस्थापनमा कलेज लागि सकेको छ ।
क्याथ ल्याब सेवा सुरु भएपछि मुटुको धड्कन कम हुने, मुटुको चालमा गडबडी हुने समस्या भएका बिरामीका लागि ब्याट्री, पेसमेकर लगायतका डिभाइसहरु राख्ने सेवा सञ्चालनमा आउने छ ।
नेपाल मेडिकल कलेजमा सुपरस्पेशियालिटी सेवा सञ्चालन गर्ने तयारी अनुरुप अंकोलोजी सेन्टर पनि स्थापना गरिने भएको छ । हरेक वर्ष लाखौं मानिसहरू क्यान्सरका कारणले मृत्यु हुने गर्छ । अंकोलोजी सेवा सुरु गरेर क्यान्सरका रोगीहरुलाई सर्वसुलभ रुपमा सेवा दिने लक्ष्य लिएको प्रबन्ध निर्देशक अन्सारीले बताए ।
नेपाल मेडिकल कलेज नयाँ ब्यवस्थापनमा आएसँगै नयाँ नयाँ सेवाहरु थपिइरहेका छन् । ल्यावलाई स्तरोन्नति गरिसकिएको छ । कुनैपनि प्रकारको ल्याब टेस्टहरु गर्न बाहिर जानुपर्दैन । अत्याधुनिक ३ टेस्ला एमआरआई चाडै आउँदैछ । सबै चिकित्सकीय सेवामा विशेषज्ञ चिकित्सकहरु उपलब्ध छन् ।
विरगञ्जमा नेशनल मेडिकल कलेज सफल रुपमा सञ्चालन गरेका अन्सारीको समुहले नेपाल मेडिकल कलेजमा लगानी गरेसँगै यहाँको व्यवस्थापन र स्वास्थ्य सेवामा गुणात्मक सुधार भइरहेको छ ।
0 प्रतिकृया