सातौं पटक मन्त्रिपरिषद् विस्तार, कुन मन्त्रालय कसलाई ?
एक्सन खबर
काठमाडौं, १७ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड’ ले सातौं पटक मन्त्रीपरिषद् विस्तार गरेका छन् । नेकपा एमालेसँगको गठबन्धन तोडेर कांग्रेस, जसपा लगायत १० दलसँग गठबन्धन गरेपछि उनले मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।
पुस ११ मा प्रधानमन्त्रीको शपथ लिएसँगै दाहालले त्यसपछि दोस्रो पटक माघ ३, तेस्रो तथा चौथो पटक १४ र २३, माघमा मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए । उनले त्यसपछि १४ र १६ फागुनमा पनि मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए ।
नवनियुक्त मन्त्रीहरूले आजै राष्ट्रिपतिबाट शपथ समेत लिएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले शितल निवासमा आयोजित कार्यक्रममा कांग्रेस, जसपा, लोसपा, नेसपा, एकीकृत समाजवादी र माओवादी पार्टी, नागरिक उन्मुक्ति पार्टीका नवनियुक्त मन्त्रीहरूलाई शपथ खुवाएका हुन्।
नयाँ मन्त्रिपरिषद्मा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का उपप्रधानमन्त्रीसहित रक्षा मन्त्री, नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ गृहमन्त्री बनेका छन् । श्रेष्ठ यसअघि भौतिक पूर्वाधारमन्त्री थिए ।
एकीकृत समाजवादीका उपाध्यक्ष बेदुराम भूसाल कृषि तथा पशुपंक्षी विकास मन्त्री हुँदा जसपा नेता अशोककुमार राई शिक्षा मन्त्री बनेका छन् ।
लोसपा नेता शरदसिंह भण्डारी श्रममन्त्री, कांग्रेस नेता प्रकाशशरण महत अर्थमन्त्री, नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादव महिला बालबालिका मन्त्री र माओवादी नेता शक्तिबहादुर बस्नेत ऊर्जामन्त्री भएका छन् ।
माओवादीकी रेखा शर्मा सञ्चार मन्त्री, माओवादीकै सुदन किराती संस्कृति मन्त्री, माओवादीकै अमनलाल मोदी संघीय मामिला मन्त्री, एकीकृत समाजवादीका प्रकाश ज्वाला भौतिक पूर्वाधार मन्त्री, नागरिक उन्मुक्तिकी रञ्जिता श्रेष्ठ भूमि व्यवस्था मन्त्री, कांग्रेसका रमेश रिजाल उद्योग मन्त्री, कांग्रेसकी सीता गुरूङ सहरी विकास मन्त्री, संस्कृति राज्यमन्त्री माओवादीकी सुशीला सिर्पाली ठकुरी बनेकी छन् ।
माओवादीका शक्ति बस्नेत आज मन्त्री थपिएका हुन् । नेपाली कांग्रेसले ८ मन्त्रालय पाएकोमा ४ मन्त्री अझै पठाएको छैन । कांग्रेसमा डा. शेखर कोइराला समुहले भने अनुसार मन्त्री नपाएकाले उनीहरु सरकारमा गएका छैनन् ।
प्रधानमन्त्री दाहालले कानून, परराष्ट्र, युवा तथा खेलकुद, वन र स्वास्थ्य मन्त्रालय आफैँसँग राखेका छन् । आज जनमत पार्टीका अब्दुल खानले खानेपानी मन्त्रीबाट राजीनामा दिएका छन् ।
नवगठित मन्त्रिपरिषद्
प्रधानमन्त्रीः पुष्पकमल दाहाल ‘प्रचण्ड’
उपप्रधान तथा रक्षामन्त्रीः पूर्णबहादुर खड्का
गृहमन्त्रीः नारायणकाजी श्रेष्ठ
अर्थमन्त्रीः डा. प्रकाशशरण महत
सञ्चार तथा सुचनामन्त्रीः रेखा शर्मा
संस्कृति, पर्यटन तथा नागरिकमन्त्रीः सुदन किराती
संघीय मामिला, सामान्य प्रशासनमन्त्रीः अमनलाल मोदी
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रीः शक्ति बस्नेत
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीः रमेश रिजाल
शहरी विकासमन्त्रीः सीता गुरुङ
शिक्षा विज्ञान तथा प्रविधिमन्त्रीः अशोक राई
कृषि तथा पशुपक्षी विकासमन्त्रीः वेदुराम भुसाल
भौतिक पूर्वाधार तथा यातायातमन्त्रीः प्रकाश ज्वाला
श्रम तथा रोजगार व्यवस्थामन्त्रीः शरदसिंह भण्डारी
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीः महिन्द्र राय यादव
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीः रञ्जिता श्रेष्ठ चौधरी
0 प्रतिकृया