प्लास्टिक सर्जनसहित डा.शर्मा मुम्बईमाः चन्द्र भण्डारी एक महिनाभित्र डिस्चार्ज हुने
एक्सन खबर
काठमाडौं, १८ चैत्र । आगलागीमा परि गम्भिर भई भारतको नेशनल बर्नस् सेन्टरमा उपचाररत नेपाली कांग्रेसका नेता डाक्टर चन्द्र भण्डारीलाई सांसद डाक्टर सुनिल शर्मासहितको टोलीले भेट गरेको छ ।
भारतको मुम्बईस्थित नेशनल बर्नस् सेन्टरमा उपचाररत डा. भण्डारीलाई भेट्न सांसद शर्मा नेपालका अन्तराट्रिय ख्याति प्राप्त प्लास्टिक सर्जन डाक्टर शंकरमान राई सहित पुगेका थिए ।
डा. शर्माले भण्डारीको स्वास्थ्यमा उल्लेख्य सुधार आएको जानकारी दिए । ‘उहाँको स्वास्थ्यमा उल्लेख्य सुधार आएको पाइयो । अबको एक महिना भित्रमा उहाँको डिस्चार्ज हुन्छ ।’ शनिबार डा. शर्माले भने । उनले डा. भण्डारी ९० प्रतिशत ठिक हुने अवस्थामा पुगिसकेको बताउँदै १० प्रतिशत भने मेडिकलले पनि केही भन्न नसक्ने बताए । यद्यपि, रिकभरी उल्लेख्य मात्रामा भइरहेकाले चाँडै निको भएर पुनः राजनीतिमा सक्रिय हुने आफुले विस्वास लिएको डा. शर्माको भनाई छ ।
गत फागुन ४ गतेदेखि बर्नस् सेन्टरमा उपचाररत डा. भण्डारीको स्वास्थ्यमा दिनप्रतिदिन उल्लेख्य सुधार भइरहेको पाइएको छ । फागुन ३ गते आफ्नै निवासमा ग्याँस लिक हुँदा आमा र छोरा दुवै आगलागीमा परेका थिए । घटनामा आमा हरिकलाको कीर्तिपुरको बर्न अस्पतालमा उपचारका क्रममा भोलीपल्ट निधन भएको थियो ।
बर्न अस्पतालले डा. भण्डारीको नेपालमा उपचार सम्भव नभएको बताएपछि तत्कालै मुम्बई लगिएको थियो । आगलागीमा नेता भण्डारीको दुवै हात र दुवै गोडा गरी २५–३० प्रतिशत जलन भएको थियो ।
0 प्रतिकृया