Follow us:


Follow us

११ असार २०८३, बिहिवार
११ असार २०८३, बिहिवार


ग्रामिण अर्थतन्त्रको सारथी बन्दै फरवार्ड माइक्रोफाइनान्स

एक्सन खबर
चैत, १९, २०७९


ग्रामिण अर्थतन्त्रको सारथी बन्दै फरवार्ड माइक्रोफाइनान्स

सुनसरी, १८ चैत्र । महिलाहरुलाई आर्थिक, सामाजिक, सांस्कृतिक रुपमा सवल बनाउने उद्देश्यका साथ २०५२ सालमा पूर्वी नेपालको सुनसरी जिल्ला दुहवीमा ग्रामिण महिला उत्सुकता विकास मञ्च (फरवार्ड नेपाल) नामक गैरसरकारी संस्थाको स्थापना भएको थियो ।  

गाउँगाउँमा महिला, बालबालिकालाई शिक्षा, स्वास्थ्य र वातावरणीय सचेतना फैलाउँदै आइरहेको यस संस्थाले २०५९ सालमा नेपाल राष्ट्र बैंकबाट वित्तीय मध्यस्थकर्ताको काम गर्ने इजाजत लिएर सुनसरी र मोरङ्ग जिल्लाका केही गा.वि.स.मा लघुवित्त कार्यक्रम चलाउँदै २०६९ भदौ २८ गते माइक्रोफाइनान्समा रुपान्तरण भएको हो ।

महिला सशक्तिकरणमा योगदान पुर्याउँदै आइरहेका व्यक्तित्वहरु सम्मिलित यो संस्थालाई देशब्यापी बनाउने सिलसिलामा एभरेष्ट बैंक र रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टरको संयुक्त लगानीमा ‘फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्था’ का रुपमा स्थापित गर्दै नेपाल राष्ट्र बैंकबाट २०६९ साल चैत्र ६ गते इजाजत लिई २०७० साल जेठ ३ गतेबाट औपचारिक रुपमा वित्तीय कारोबार गर्न थालिएको हो ।

गैरसरकारी संस्थाहरुलाई वित्तीय मध्यस्तता गर्नदिने राष्ट्र बैंकको नीति अनुरुप महिलाहरुमा नेतृत्व विकास, सीप विकास गरेर स्वावलम्बी बनाउन अग्रसर फरवार्ड नेपाल, लघुवित्त वित्तीय संस्थामा रुपान्तरण भएपछि महिलालाई आर्थिक क्षेत्रमा पहुँच स्थापित गर्न यसले निर्वाह गरेको भूमिका प्रभावकारी बन्दै गएको छ ।

‘माइक्रोफाइनान्समा ९० प्रतिशत सेवाग्राहीहरु महिला छन् । महिलाको हातमा पुँजी पुगेपछि उनीहरु आफैं व्यवसायमा संलग्न भई आयआर्जन गर्न सक्छन् भने परिवारको एउटा सक्रिय सदस्यका रुपमा रुपान्तरण गर्दै सम्मानीत भएका छन् ।’ लघुवित्त कार्यक्रममा सहभागी भएका महिलाहरुको नेतृत्व विकास र उत्थान समेत भएको फरवार्ड माइक्रोफाइनान्सका प्रमुख कार्यकारी अधिकृत रामदयाल राजवंशीले बताए ।

न्यून आय भएका व्यक्तिहरु खासगरी महिलाहरुलाई लघुव्यवसायमा सहभागी गराउँदै उनीहरुविच लघु बचत संकलन गर्न तथा सामुहिक जमानीमा लघु कर्जा उपलब्ध गराउने यसको मुख्य कार्य हो ।

संस्थाले समाजमा छरिएर रहेका सानासाना पुँजीलाई एकत्रित गरी समुदायमै लगानी गर्दा कमजोर आर्थिक अवस्था भएका, सामाजिक, सांस्कृतिक र आर्थिक रूपमा पछाडि परेका महिलाहरुको जीवनस्तर उकास्न ठुलो टेवा दिएको छ ।

फरवार्डमा आउनुअघि दयनीय आर्थिक अवस्था भएकाहरु अहिले स्वाबलम्बी मात्र बनेका छैनन् कतिले अरुलाई रोजगारी समेत दिन सफल भएका छन् । ‘ऋण लिएपछि कहाँ गएर कसरी सदुपयोग गर्नुपर्छ भन्ने मलाई फरवार्डबाट लिएको ऋणले सिकायो ।’ फरवार्डबाट कर्जा लिएर कुखुरा पालन, फ्रेस हाउससँगै किराना पसल पनि चलाएकी दुहवी, सुनसरीकी जानुका सुब्बा बताउँछिन् । फरवार्डसँग आबद्ध भएरै व्यवसाय गर्दा ४ कोठाको घर समेत बनाउन सफल जानुकाले ऋणको सही सदुपयोग गरे सफलता पाइने बताउँछिन् ।

कुनैबेला अरुको जग्गा भाडामा लिएर जनबनी गर्ने बुढीगंगा मोरङकी समिता चौधरी अहिले समुदायका उदाहरणीय उद्यमी महिला बनेकी छन् । कुनैबेला एकछाक खान समेत धौधौ अवस्थाकी समिताले फरवार्ड माइक्रोफाइनान्सबाट कर्जा लिएरै सफल उद्यमी बनेकी हुन् । उनी घरमा किराना पसल चलाउँछिन्, बंगुर पालन, हाँस, कुखुरा पालन गरेकी छिन् । केही वर्षअघिसम्म श्रीमान बैदेशिक रोजगारीमा थिए । अहिले घरमा आएर श्रीमतिसँग काँधमा काँध मिलाएर काम गर्दैछन् ।

फरवार्ड माईक्रोफाइनान्सले ग्रामीण महिलाहरुमा आर्थिक संवृद्धिका लागि बचत गर्नुपर्छ भन्ने चेतना प्रवाह नै गरेको छ । दैनिक रूपमा बचत गर्ने र समूहमा काम गर्ने भावना विकास गरेसँगै उनीहरूकै पुँजी सामूहिक जमानीमा लगानी गरिदिएकाले लघुवित्त कार्यक्रम प्रभावकारी बनेकोमा दुई मत छैन ।

ग्रामिण क्षेत्रमा रहेका साना पुँजीलाई एकत्रित गरेर लगानी गर्दा महिलाहरूको आर्थिक अवस्थामा सुधार मात्र आउँदैन परिवारमा पनि महिलाहरू प्रति पुरुषले हेर्ने दृष्टिकोण नै परिवर्तन हुने पूर्वमन्त्री भगबती चौधरी भन्नुहुन्छ ।  

‘लघुवित्त कार्यक्रमले महिलाहरुमा वित्तिय साक्षरतासँगै पुँजी समेत पुर्याएको छ । लघुवित्त कार्यक्रमले समुहमार्फत प्रत्येकको घरमा पुँजी पुर्याएकाले महिला हिँसा न्यूनिकरणमा टेवा पुगेको छ । महिलाहरु पुरुषप्रति निर्भर हुनुपरेको छैन ।’ महिला अधिकारकर्मी समेत रहेकी पूर्वमन्त्री सांसद चौधरी भन्छिन् ।  

निम्नस्तर भएका, बैंक तथा वित्तीय संस्थामा पहुँच पुर्याउन नसकेका, धितो राख्न नसक्नेहरुलाई सवल बनाउनका लागि हो लघुवित्त कार्यक्रम । त्यससँगै गाउँघरका महिलाहरुको हातमा पुँजी पुर्याइदिएर उनीहरुमा रहेको सीप र क्षमतालाई व्यवसायीकरण गरी आत्मनिर्भर तथा स्वरोजगार गराउनु लघुवित्तको उद्देश्य हो ।

हाम्रोजस्तो विकासोन्मुक राष्ट्रको आर्थिक उन्नतीमा डोहोर्याउन लघुवित्त क्षेत्रको भूमिका महत्वपूर्ण छ भन्ने कुरामा कुनै दुईमत छैन । तथापि, पछिल्लो समय लगातार लघुवित्त वित्तीय संस्था र तीनको उद्देश्यप्रति प्रहारहरु भइरहेका छन् ।

लघुवित्त समाज विकासको आधारशिला निर्माण गर्ने अभियान भएतापनि पछिल्लो समय विवादीत आर्थिक, राजनीतिक, सामाजिक परिवेशबाट प्रताडित बनेको लघुवित्त संस्थाहरुको भनाई छ ।

संगठितरुपमै लघुवित्त क्षेत्रलाई बदनाम गराउने, राजनीतिक रंग दिने, लघुवित्तका सदस्य र ऋणीहरुलाई कर्जा तिर्नु पर्दैन भन्ने, संस्थाका कर्मचारी सञ्चालकहरुमाथि आक्रमण गर्ने, कार्यालय बन्दगर्ने जस्ता कृयाकलाप हुँदा लघुवित्त संस्थाहरुमा मात्र हैन मुलुककै वित्तीय प्रणालीमा असर पर्ने देखिएको छ ।

‘केही व्यक्तिहरु एक हजार तिर्नुस हामी २० लाखसम्म ऋण मिनाहा गर्छौं भनिरहेका छन् । यस्तो कुरामा विस्वास गर्नु हुँदैन । यो हुँदै नहुने कुरा हो, सरकारले पनि गर्न नसक्ने कुरा हो ।’ गलत समुहको पछाडी नलागी जहाँबाट कर्जा लिएको हो त्यही संस्थामा गएर आफ्ना समस्या राख्दा समस्या समाधानको बाटो निस्कने फरवार्ड माइक्रोफाइनान्सका प्रमुख कार्यकारी अधिकृत राजवंशी भन्छन् ।

ग्रामिण अर्थतन्त्रलाई चलायमान गराउन मात्र हैन, महिलाहरुको हातमा पुँजी पुर्याई समुन्नत सूसंस्कृत समाज निमार्णमा पनि लघुवित्त क्षेत्रले पुर्याइरहेको योगदानलाई विर्सनु हुँदैन । लघुवित्त क्षेत्रमा विक्रिति, विसंगति होलान्, समस्या होलान् तर, एकाध विक्रिति विसंगती र समस्यालाई दृष्टिगत गर्दै समग्र वित्तिय संस्थालाई नै बन्द गर्ने सोच राख्नु न्यायोचित छैन ।

राज्यको नीति नियम र कानुनमा रहेर आर्थिक उत्थानमा लाग्नु वित्तीय संस्थाको दायित्व हो । यस मानेमा राम्रो काम गर्नेहरुलाई प्रोत्साहन गर्ने, गलत गर्नेलाई कानुन बमोजिम दण्डित गर्नु राज्यको नियामक निकायको काम हो । तर, कुनै अमूक व्यक्ति, समुहको नाममा कानुन हातमा लिएर समाजसँगै मुलुकको अर्थतन्त्रलाई नै तहस नहस हुनेगरी अनैतिक कृयाकलाप गर्ने छुट कसैलाई छैन । यस मानेमा मुलुकको विकास, समाजको उत्थानका लागि सबैजना उत्तिकै जिम्मेवार भएर अगाडी बढ्नु आजको आवश्यक्ता हो ।
















0 प्रतिकृया