Follow us:


Follow us

२२ भदौ २०८३, सोमवार
२२ भदौ २०८३, सोमवार


बारा, चितवन र तनहुँकाे उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता

एक्सन खबर
चैत, २०, २०७९


बारा, चितवन र तनहुँकाे उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता

काठमाडौं, २० चैत्र । तनहुँ, बारा र चितवनमा हुने उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । आगामी वैशाख १० गते  हुने निर्वाचनका लागि निर्वाचन आयोगले आज उम्मेदवारी दर्ता गर्न भनेकाे छ ।

आयोगले तनहुँ–१, बारा–२ र चितवन–२ मा हुने उपनिर्वाचनका लागि सार्वजनिक गरेको कार्यक्रम अनुसार आज क्षेत्र स्थित निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ ।

उम्मेदवारी दर्ताका लागि दललाई छुट्टाछुट्टै समय दिइएकाे छ । उम्मेदवारी दर्ताका क्रममा अवान्छित गतिविधि र एकअर्कामा मुठभेडकाे स्थिति सृजना हुन नदिन छुट्टाछुट्टै समय दिइएकाे छ ।

आयाेगका अनुसार चैत २१ गते उम्मेदवारी विरुद्ध उजुरी दर्ता, चैत २२ गते उजुरीमाथि छानबिन र सोही दिन साँझ उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका छ । उम्मेदवारी फिर्ता लिन चाहनेका लागि चैत २३ गते बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्मको समय सिमा छ । निर्वाचन आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न पनि सोही दिन गरिने  कार्यतालिका छ ।

गत मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा तनहुँ १ बाट निर्वाचित नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल राष्ट्रपति भएकाले उनकाे स्थानमा उपनिर्वाचन गर्न लागिएकाे हाे । त्यस्तै, बारा २ बाट निर्वाचित जसपाका रामसहाय प्रसाद यादव उपराष्ट्रपति भएकाे तथा चितवन २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने नागरिकता विवादका कारण सांसद पदबाट मुक्त भएकाले ती क्षेत्रमा उपनिर्वाचन गर्न लागिएको हो ।

रिक्त पद उपनिर्वाचनबाट पूर्ति गर्नुपर्ने कानुनी व्यवस्था भएकाले निर्वाचन आयोगले उपनिर्वाचन गराउन लागेको हो । २०७९ वैशाख १० गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म उपनिर्वाचनका लागि मतदान हुनेछ ।













0 प्रतिकृया