लंकु भगवती मन्दिरमा पुजा गरेर रविले गराए उम्मेदवारी दर्ता
एक्सन खबर
चितवन, २० चैत्र । प्रतिनिधिसभा सदस्यकाे उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेले चितवन क्षेत्र नं. २ बाट उम्मेदवारी दर्ता गराएका छन् । आज लामिछानेले निर्वाचन अधिकृतकाे कार्यालयमा गएर आफ्नाे उम्मेदवारी दर्ता गराएका हुन् ।
गत मंसिर ४ गतेको निर्वाचनमा निर्वाचित रवी लामिछाने नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएपछि चितवन क्षेत्र नं. २ मा बैशाख १० गते उपनिर्वाचन हुन लागेको हो ।
उनको प्रस्तावक पार्टीका महानगर संयोजक सिता ज्ञवाली र समर्थकमा भरतपुर ११ का संयोजक विक्रम श्रेष्ठ रहेका छन् । उनी भरतपुर ११ स्थित विशाल चोकमा रहेको पार्टीको प्रचारप्रसार कार्यालयबाट र्यालीसहित निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।
भरतपुर ४ त्रिचोकमा रहेको लंकु भगवती मन्दिरमा पुजा गरेर लामिछाने मनोनयन दर्ता गर्न पुगेका थिए । उम्मेदवारी दता गर्दै लामिछानेले उपनिर्वाचनबाट उत्साहित र आशावादी रहेको बताए । उनले विगतमा पनि यही प्रक्रियाबाट निर्वाचित भएको र अहिले फेरि त्यही प्रक्रिया अपनाउँदा केही अनौठो लागे पनि आशावादी रहेको बताए ।
नेपाली कांग्रेस निवर्तमान जिल्ला सभापति जीत नारायण श्रेष्ठ भरतपुरको चौविस कोठीमा भेला भएर कांग्रेसका कार्यकर्ता सहित उमेदवारी दर्ताका लागि जाँदैछन् । नेकपा एमालेले जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेलाई उमेदवार बनाएको छ । एमालेले दिउँसो तीनबजे मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार दिउँसो १ बजेदेखि ४ बजेसम्म दलहरूलाई उम्मेदवारी दर्ताका लागि समय दिइएको छ ।
0 प्रतिकृया