Follow us:


Follow us

२२ भदौ २०८३, सोमवार
२२ भदौ २०८३, सोमवार


यी हुन् साेमबारकाे मन्त्रिपरिषद्का तीन महत्वपूर्ण निर्णय

एक्सन खबर
चैत, २०, २०७९


यी हुन् साेमबारकाे मन्त्रिपरिषद्का तीन महत्वपूर्ण निर्णय

काठमाडाैं, २० चैत्र । मन्त्रिपरिषद्ले गाैतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाकाे स्वामित्व लिने, मिटर ब्याजी पिडितकाे समस्या समाधान गर्न जाँच बुझ आयोग गठन गर्ने तथा २०५० सालदेखि गृहमन्त्री र गृहसचिवले सुराकी परिचालनमा गर्दै आएकाे मनलाग्दी खर्च खारेज गर्ने महत्वपूर्ण निर्णय गरेकाे छ ।

सोमबार बसेको मन्त्रिपरिषद्‍को बैठकले उक्त  निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

भरतपुरमा धुर्मुस–सुन्तलि फाउण्डेसनद्वारा निर्माणाधिन गाैतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला बजेट अभावमा अधकल्चाे अवस्थामा छ । २०७८ सालको साउनको २३ गतेदेखि निर्माण कार्य राेकिएकाे उक्त रंगशाला अब सरकारकाे स्वामित्वमा निर्माण हुने भएकाे छ ।

उधारोमा खरिद गरिएका सामग्रीको रकम तिर्न नसकेपछि धुर्मुस–सुन्तली फाउण्डेशन रंगशाला निर्माणबाट पछि हट्दै रंगशालाको स्वामित्व भरतपुर महानगरलाई हस्तान्तरण गरे पनि यसको बाँकी निर्माण कार्य कसरी अघि बढाउने भन्ने अन्याैलता थियाे ।

फाउण्डेसनका प्रमुख सिताराम कट्टेलले पटकपटक रंगशालाकाे स्वामित्व लिइदिन प्रदेश र संघ सरकारसँग अनुराेध गरिरहेका थिए । रंगशालाका लागि बागमती प्रदेश सरकारले ३० करोड, भरतपुर महानगरपालिकाले १६ करोड ७५ लाख, जिल्ला समन्वय समितिले २ करोड २२ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका थिए ।

जसमध्ये प्रदेश सरकारबाट ३ करोड, महानगरबाट ८ करोड ५ लाख रुपैयाँमात्रै पाएको छ । यसअघि महानगरपालिकाले संघीय सरकारसँग पहल गरेर तिर्नुपर्ने रकम मन्त्रिपरिषदबाट निर्णय गरी भुक्तान गराएर कामलाई अघि बढाउने बताएको थियो ।

विसं २०७५ माघ १६ गते महानगरपालिका र फाउन्डेसनबीच भएको सहमतिअनुसार निर्माण सम्पन्न गरेर वा स्रोत जुट्न नसके तत्काल हस्तान्तरण गर्ने उल्लेख भएको छ । फाउन्डेसनले निर्माणको ३५ प्रतिशत काम सम्पन्न भएको गर्दा जनाएको थियाे ।

यस्तै, साेमबारकै मन्त्रिपरिषद्ले मिटरब्याज पीडितको समस्या समाधान गर्न जाँचबुझ आयोग गठन गरेकाे छ । सरकारले विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीकाे अध्यक्षतामा तीन सदस्यीय आयोग गठन गरेको हो ।

आयोगमा नेपाल प्रहरीका पूर्व एआइजी उत्तमबहादुर सुवेदी र पूर्व नायब महान्यायाधिवक्ता गणेशबाबु अर्याल छन् । मधेशमा मिटरब्याजीकाे समस्या बढी भएकाले यसको कार्यालय  जनकपुरमा राख्ने निर्णय गरिएकाे छ । सरकारले गत शनिबारमात्रै महोत्तरीबाट आएका मिटरब्याज पीडितसँग पाँच बुँदे सहमति गरेको थियो ।

यस्तै, गृहमन्त्री र गृहसचिवले सुराकी परिचालनमा तजबिजी खर्च गर्न पाउने अधिकार पनि मन्त्रिपरिषद्ले खारेज गरेको छ । बैठकले बिलभर्पाइ पेश गर्न नपर्ने गरी गृहमन्त्री र सचिवले खर्च गर्न पाउने अधिकार कटौती गरेको हाे ।

सुराकी खर्चवापत २०५० सालदेखि गृहमन्त्री र सचिवले यस्ताे खर्च गर्न पाने व्यवस्था थियाे । अहिले मन्त्रीले दैनिक ५० हजार र सचिवले २० हजार रुपैयाँ खर्च गर्न पाउँछन् ।

गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्नासाथ उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले गृहमन्त्री र गृहसचिवकाे खर्च कटौतीको प्रस्ताव मन्त्रिपरिषदमा लैजाने निर्णय गरेका थिए ।













0 प्रतिकृया