Follow us:


Follow us

२२ भदौ २०८३, सोमवार
२२ भदौ २०८३, सोमवार


आज उपनिर्वाचनका उम्मेदवार विरूद्ध उजुरी दर्ता गर्ने दिन

एक्सन खबर
चैत, २१, २०७९


आज उपनिर्वाचनका उम्मेदवार विरूद्ध उजुरी दर्ता गर्ने दिन

काठमाडौं, २१ चैत्र । निर्वाचन आयोगले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका उम्मेदवारविरुद्ध कुनै उजुरी भए आज दर्ता गर्न सकिने जनाएको छ । उम्मेदवार विरुद्ध उजुरी दिनका लागि आयोगले आज एक दिनकाे समय दिएकाे छ ।

तनहुँ १, बारा २ र चितवन २ मा आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता भएको थियो । उम्मेदवारविरुद्ध उजुरी परेमा चैत २२ गते छानबिन गरी सोही दिन साँझ उम्मेदवारको नामावली प्रकाशन गर्ने निर्वाचन कार्यतालिका छ ।

गत मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा तनहुँ १ बाट निर्वाचित नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल राष्ट्रपति भएकाले, बारा २ बाट निर्वाचित जसपाका रामसहाय प्रसाद यादव उपराष्ट्रपति भएकाले र चितवन २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने नागरिकता विवादका कारण सांसद पदबाट मुक्त भएकाले ती क्षेत्रमा उपनिर्वाचन गर्न लागिएको हो ।

निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारी फिर्ता लिन इच्छुकका लागि चैत २३ गते बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्मको समय तोकिएको छ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न पनि सोही दिन प्रदान गरिने छ ।

त्यसपछि चुनाव प्रचार प्रसार सुरु हुने र २०८० वैशाख १० गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म उपनिर्वाचनका लागि मतदान हुने निर्वाचन तालिका छ ।

चितवन क्षेत्र नम्बर २ मा १२ स्वतन्त्रसहित २४ जनाको उम्मेदवारी परेको छ । तर रास्वपा सभापति रवि लामिछाने, नेकपा एमालेका रामप्रसाद न्यौपाने र नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान छ ।

तनहुँ क्षेत्र नम्बर १ मा नौ जनाको उम्मेदवारी दर्ता भएकोमा नेपाली कांग्रेसबाट गोविन्द भट्टराई, नेकपा एमालेबाट सर्वेन्द्र खनाल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्लेकाे मुख्य चर्चा छ ।

बारा क्षेत्र नम्बर २ मा ३६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमा नेकपा एमालेका पुरुषोत्तम पौडेल, सत्ता गठबन्धनबाट जसपाका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका शिवचन्द्र कुशवाह, रास्वपाका रमेश खरेल र आम जनता पार्टीका अरुण ज्ञवालीबीच प्रतिस्पर्धा हुने देखिएकाे छ ।













0 प्रतिकृया