Follow us:


Follow us

२३ भदौ २०८३, मङ्गलवार
२३ भदौ २०८३, मङ्गलवार


नेकमा व्यबसायीक सीप प्रयोगशाला पुनर्स्थापना

एक्सन खबर
चैत, २१, २०७९


नेकमा व्यबसायीक सीप प्रयोगशाला पुनर्स्थापना

काठमाडाैं, २१ चैत्र । इन्जिनियरिङ शिक्षामा स्नातक अध्ययन पुरा गरिसकेका प्राविधिकहरूमा व्यवसायीक सीपको कमि महशुष गरी पोखरा विश्वविद्यालयले केहि हप्ता अगाडि परिमार्जन गरेको पाठ्यक्रम अनुसार अब इन्जिनियरहरूले सिकर्मी, डकर्मी तथा प्लम्विङ्ग सम्बन्धी सीपमा दक्षता हासिल गर्नु पर्ने भएको छ ।

यही उद्देश्य पूर्ति गर्न भक्तपुरको चाँगुनारायण नगरपालिका-४ मा मुनाफारहित सामाजिक संस्थाको रूपमा जिल्ला प्रशासन कार्यालय भक्तपुरमा समेत दर्ता गरी स्थापित तथा सञ्चालित नेपाल इन्जिनियरिङ कलेजमा (नेक) एकै पटक २४ जना विद्यार्थीहरूले प्रयोग गर्न मिल्ने गरि नयाँ व्यबसायीक सीप प्रयोगशाला स्थापना गरिएको छ ।

उक्त प्रयोगशालामा विद्यार्थीहरूले सिकर्मी, डकर्मी तथा प्लम्विङ्ग सम्बन्धी आधारभुत सीप सिक्ने कलेजका प्रिन्सिपल प्रा.डा. हरिकृष्ण श्रेष्ठले जानकारी दिए । डा. श्रेष्ठका अनुसार भवन तथा आवासहरू निर्माण गर्दा झ्याल, ढोका तथा पाइपहरू जडान गर्दा तथा मर्मत संभार गर्दा व्यवहारिक रूपमा के कस्ता समस्याहरू आउन सक्छन् भन्ने जानकारी भएमा डिजाइन गर्दा नै समस्या नआउने गरी तयार गर्न सकिने भएकोले यी सीपहरू इन्जिनियरहरूको लागि अति नै उपयोगी हुने छ ।

सीप तथा प्रविधि हस्तान्तरणको लागि कलेजले यस विषयमा झन्डै ५० वर्षको अनुभव प्राप्त शिक्षक चिनिकाजी स्थापितलाई जिम्मा दिएको छ । प्रशिक्षक प्रशिक्षणको पहिलो चरणमा स्थापितले कलेजका प्रशिक्षकहरू सुशील श्रेष्ठ, प्रमिला पौडेल, अन्जु खोतेजा, विकास श्रेष्ठ र भरत सुनुवारलाई प्रशिक्षित गर्ने छन् ।

त्यस प्रकारको प्रयोगशाला नेकमा वि. सं. २०५१ मा स्थापना गरिएकोमा विश्वविद्यालयको पाठ्यक्रमबाट हटेपछि कलेजले पनि विस्तारै ती प्रयोगशाला बन्द गरेको थियो । तर अहिलेको परिमार्जित पाठ्यक्रममा ती सीपहरूलाई महत्व दिइएकोले कलेजले प्रयोगशाला पुनः स्थापना गरेको हो।

कलेजका प्रिन्सिपल डा. श्रेष्ठले प्रयोगशालाबाट कलेजमा स्नातक तहमा सञ्चालित सिभिल, सिभिल एण्ड रूरल तथा आर्किटेक्चरका विद्यार्थीहरू लाभान्वित हुने विस्वास व्यक्त गरेका छन् ।
















0 प्रतिकृया