पाँच दशक शिक्षण सेवामा सक्रिय नेकका प्राध्यापककाे विदाई
एक्सन खबर
काठमाडाैं, २६ चैत्र । नेपाल इन्जिनियरिङ कलेजका अनुभवी एक प्राध्यापकलाई विदाई गरिएकाे छ । अनवरत ५० वर्षसम्म शिक्षण सेवामा समर्पित कलेजका प्राध्यापक सुदर्शन कारञ्जितलाई कलेजले आइतबार सम्मान सहित विदाई गरेकाे हाे ।
प्राध्यापक कारञ्जित ५० वर्षको अध्यापन पश्चात नियमित अध्यापन पेसाबाट उमेर हदका कारण विदा भएका हुन् । वि.स. २०३० सालमा ललितपुरको एक माध्यमिक विद्यालयबाट शिक्षण सेवा प्रारम्भ गरेका कारञ्जित २३ वर्षदेखि लगातार नेपाल इन्जिनियरिङ कलेजमा कार्यरत थिए ।
बेलायतको द सिटी युनिभर्सिटिबाट सन् १९८७ मा स्नातकोत्तर उपाधि हासिल गरी करिब १८ वर्ष राष्ट्रिय कम्प्युटर केन्द्र सिंहदरबारमा काम गरिसकेपछि उनी पुनः शिक्षण पेशामा फर्किएका थिए । ५० वर्षकाे शिक्षण सेवामा कारञ्जितले हज्जाराैं विद्यार्थीलाई शिक्षा दिए ।
कलेजमा सञ्चालित पिजिडिसिए कार्यक्रममा उनी सन् २००० जनवरी १६ बाट सहप्राध्यापकको रूपमा आवद्ध भएका उनी त्यसकाे २ वर्षमै प्राध्यापकमा पदाेन्नति भएका थिए । उक्त सेवा अवधिमा उनले विभागीय प्रमुख भई सन् २००२ मा र दुई पटक विद्यार्थीहरूको काउन्सलरको रूपमा काम गरेका थिए । त्यसयता २३ वर्ष सोही कलेजमा स्नातक तथा स्नातकोत्तर तहका कम्प्युटर इन्जिनियरिङ सम्बन्धी विभिन्न विषयहरू अध्यापन गराइरहेका थिए ।
नियमित अध्यापन बाहेक कलेजका विभिन्न समितिहरूमा योगदान गर्दै आएका प्राध्यापक कारञ्जितले दुई वर्ष अगाडि कलेजको सहायक प्राचार्य छनौटको मापदण्ड समेत तयार गरेका थिए ।
विदाई कार्यक्रममा प्राध्यापक कारञ्जितलाई नियमित सेवाबाट कलेजका प्राचार्य प्रा.डा. हरिकृष्ण श्रेष्ठ, सहायक प्राचार्य एशाेसिएट प्राेफेसर दुर्गा प्रसाद भण्डारी, लेखा शाखा प्रमुख श्रीमा शर्मा, विभागीय तथा शाखा प्रमुखहरू र शिक्षक कर्मचारी प्रतिनिधिहरूले दोसल्ला तथा प्रमाण–पत्रसहित बिदाइ गरे ।
मुनाफारहित सामाजिक शैक्षिक संस्थाको रूपमा जिल्ला प्रशासन कार्यालय भक्तपुरमा समेत दर्ता भइ सञ्चालित नेपाल इन्जिनियरिङ कलेजमा दशकाैं शिक्षण सेवामा समर्पित प्राध्यापकहरू रहेका छन् ।
0 प्रतिकृया