Follow us:


Follow us

२२ भदौ २०८३, सोमवार
२२ भदौ २०८३, सोमवार


डा. शेखरकाे दावीः मुलुक अराजकतातर्फ बढ्याे

एक्सन खबर
बैशाख, २, २०८०


डा. शेखरकाे दावीः मुलुक अराजकतातर्फ बढ्याे

काठमाडाैं, २ विराटनगर । मुलुक बिस्तारै अराजकतातर्फ अगाडि बढिरहेको  नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बताएका छन् । देशका आर्थिक, राजनैतिक, धार्मिक र सांस्कृतिक क्षेत्रमा अराजकता बढ्दै गएको बताउँदै डा. काेइरालाले देश अराजकतातर्फ बढेकाे बताएका हुन् ।

शनिबार नेपाली कांग्रेस मोरङले नयाँ वर्षका अवसरमा विराटनगरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले भने,‘म अहिले मुलुक अप्ठ्यारो स्थितिमा छ भन्न चाहन्न । तर, देशको आर्थिक मात्रै होइन राजनैतिक, धार्मिक र सांस्कृतिकलगायत कुनै पनि क्षेत्र सही तरिकाले हिँड्न सकेको छैन ।’

यस्तै, उनले नेपाल आर्थिक रूपमा श्रीलङ्का र पाकिस्तान जस्ताे अवस्थामा नपुग्ने जिकीर गर्दै मुलुककाे अर्थतन्त्र सुधार्न सकिने बताए । ‘नेपाल श्रीलङ्का हुने हो कि भन्ने त्रासलाई हटाउनुहोस्, श्रीलङ्का र नेपालको परिस्थिति र अवस्था बेग्लै छ ।’ डा. काेइरालाले नेपालसँग अझै ११ महिनालाई पुग्ने विदेशी मुद्रा सञ्चित रहेकाे जनाउँदै आत्तिनुपर्ने अवस्था नभएपनि अर्थतन्त्रमा सुधार गर्नु जरुरी रहेकाे बताए ।  

यस्तै डा. कोइरालाले पार्टीकाे आन्तरिक विषयमा बाेल्दै चुनावमा भएका तिक्ततालाई बिर्सिएर संगठन निर्माणमा लाग्न नेता तथा कार्यकर्तालाई आब्हान गरे । कांग्रेस कमजोर भयो भने लोकतन्त्र कमजोर हुने बताउँदै कांग्रेसलाई एक ढिक्का बनाउनुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा पूर्व उपप्रधानमन्त्रीसमेत रहेका नेता विजयकुमार गच्छदारले सात दशकभन्दा लामो इतिहास बोकेको कांग्रेस संसदीय लोकतन्त्रलाई बलियो बनाउन अझै जिम्मेवार भएर लाग्नुपर्ने बताए । कोशी प्रदेशसभा सदस्यसमेत रहेका केन्द्रीय सदस्य अमृत अर्यालले कांग्रेससहितका पार्टीले आफ्नो विचार र कार्यशैलीमा परिवर्तन गर्नु आवश्यक रहेको बताए ।

कार्यक्रममा पूर्वकेन्द्रीय सदस्य हसन अन्सारी, कोशी प्रदेशका कोषाध्यक्ष राजेश गुप्ता, नेकपा एकीकृत समाजवादीका कोशी प्रदेश इन्चार्ज कविराज घिमिरे, नेपाली कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बू, उपसभापति भक्तिनाथ माझी, सचिव ललित श्रेष्ठ, महासमिति सदस्य गयानन्द मण्डल, महाधिवेशन प्रतिनिधि सीता कार्की, विराटनगर महानगर समितिका सभापति दीपक चापागाईं, नेविसंघका मोरङ सभापति सरोज पोखरेललगायतले बाेलेका थिए ।













0 प्रतिकृया