Follow us:


Follow us

२२ भदौ २०८३, सोमवार
२२ भदौ २०८३, सोमवार


घरको छतबाट खसेर रवि लामिछानेका सवारी चालक सख्त घाइते

एक्सन खबर
बैशाख, ४, २०८०


घरको छतबाट खसेर रवि लामिछानेका सवारी चालक सख्त घाइते

चितवन, ४ बैशाख । रवि लामिछानेका सवारी चालक घरको छतबाट लडेर सख्त घाइते भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा सो पार्टीबाट चितवन-२ को उपचुनावका उम्मेदवार रहेका लामिछानेका सवारी चालक साेमबार बिहान भरतपुर महानगरपालिका-११ को ३ तले घरको छतबाट खसेर सख्त घाइते भएका हुन् ।

चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी विजयराज पण्डितका अनुसार उम्मेदवार लामिछाने समेत बस्दै आएको भरतपुर महानगरपालिका-११ को ३ तले घरको छतबाट खसेर सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-३ घर भएका ३९ वर्षीय शम्भु भन्ने दिलबहादुर थापा सख्त घाइते भएका हुन् ।

बिहान चार बजेतिर भएको घटनामा चालकको खुट्टा र टाउकाेमा गम्भिर चोट लागेको चितवन प्रहरीले जनाएको छ । चालककाे भरतपुरकाे पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ भने, घटनाको अनुसन्धानका लागि प्रहरी उपरीक्षक नेतृत्वकाे टोली खटिएको छ ।

चितवन निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा व्यस्त रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उम्मेदवार रवि लामिछानेको सवारी चालक छतबाट खसेपछि घटना अनुसन्धानका लागि पार्टी महामन्त्री मुकुल ढकालका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार छतबाट खसेका लामिछानेका चालकसँगै रास्वपा महामन्त्री मुकुल ढकालका चालक कालुराम राजवंशी पनि सुतेका थिए । घटनाकाे अध्ययन अनुसन्धान गर्न प्रहरीले राजवंशीलाई पनि नियन्त्रणमा लिएको छ । उनीसँगै अर्का चालक पनि सुतेको डिएसपी पण्डितले बताए । घटना के–कसरी भयो भन्ने बारेमा अनुसन्धानपछि विवरण सार्वजनिक गर्ने उनको भनाइ छ ।













0 प्रतिकृया