प्रधानमन्त्रीकाे दावीः समष्टिगत आर्थिक परिसूचकमा राम्रो सुधार आयाे
एक्सन खबर
काठमाडौं, ४ वैशाख । नयाँ सरकार गठन भएयता अर्थतन्त्रका समष्टिगत परिसूचकहरूमा सुधार आएको प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले बताएका छन् । सोमबार दिउँसो सिंहदरबारमा उद्योग–वाणिज्य प्रवर्द्धन सम्वाद परिषदको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले अर्थतन्त्रले अझै पनि चुनौतीपूर्ण परिस्थितिको सामना गरिरहेको भएतापनि समष्टिगत आर्थिक परिसूचकहरूमा सुधार आएको दावी गरेका हुन् ।
‘वर्तमान सरकारले लिएका नीतिगत तथा अन्य सुधारात्मक उपायहरूको फलस्वरूप अर्थतन्त्रको बाह्य क्षेत्रमा क्रमशः सुधार हुँदै गइरहेको छ । वित्तीय तरलताको स्थितिमा सुधार भएको छ । विदेशी मुद्रा सञ्चिति, विप्रेषण आप्रवाह, पर्यटन लगायतका क्षेत्रमा प्रगति हुँदै जान थालेको छ ।’ प्रधानमन्त्री दाहालले भने ।
उनले कर्जाको दर पनि विस्तारै घट्दै जान थालेको बताउँदै समग्रमा हेर्दा समष्टिगत आर्थिक परिसूचकहरूमा राम्रो सुधार भएको जिकीर गरे ।
बैठकमा प्रधानमन्त्रीले ‘नयाँ जनादेशसहित गठन भएको संयुक्त सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रममा सेवा प्रवाह, सुशासन, विकास निर्माण एवं अर्थतन्त्रको रूपान्तरण र सुदृढीकरणका लागि नीतिगत, संरचनागत तथा कार्यगत सुधारका विषयलाई महत्त्वपूर्ण प्राथमिकताका रूपमा राखिएको’ समेत बताए ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकार क्षेत्रसँगको सहकार्यमा अगाडि बढ्न चाहेको बताउँदै निजी क्षेत्रका विषयगत विधाबाट नयाँ आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटका लागि एकीकृत सुझावका लागि व्यवसायीहरूलाई आग्रह गरे ।
बैठकमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री डा. महत, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ, मुख्यसचिव शंकरदास बैरागी, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल लगायत नेपाल चेम्बर अफ कमर्श, गैरआवासीय नेपाली संघ, साना तथा घरेलु उद्योग महासंघ लगायत निजी क्षेत्रसम्बद्ध संघसंस्थाका प्रमुख र प्रतिनिधिका साथै निजी क्षेत्रसम्बद्धहरूको उपस्थिति थियो ।
0 प्रतिकृया