मस्तिकघात भएका सुसनको टाउको नचिरिकन केएमसीले गर्यो सफल उपचार (भिडियो सहित)
एक्सन खबर
काठमाडौं, ५ बैशाख । अचानक मस्तिस्कघातबाट गम्भिर एक युवाको काठमाडौं मेडिकल कलेजले टाउको नचिरिकन उपचार गरी ज्यान बचाएको छ । गत आइतबार शरीरको एउटा पाटो नै नचलेर गम्भिर भएका ललितपुर भैँसेपाटी बस्ने ३० वर्षीय सुसन ताम्लिङको केएमसीले न्यूरोइन्टरभेशन पद्धतिबाट उपचार गरी रक्तनली खुलाएको हो ।
ताम्लिङको आइतबार बिहान शौचालय गएपछि अचानक शरीरको देब्रे साइड नचल्ने, मुख बाङ्गिएको र पुरै शरीर कमजोर भएको थियो । परिवारले तत्कालै सुसनलाई अल्का अस्पताल पुर्याइएकोमा तुरुन्तै एम.आर.आई. गर्दा मस्तिष्कमा पक्षघात देखिएको थियो । त्यसपछि तुरुन्तै सुसनलाई केएमसीको क्याथल्याव रेफर गरिएको थियो । केएमसीका चिकित्सकले तुरुन्तै नेपालकै अत्याधुनिक बाईप्लेन क्याथल्याबमा टाउको नचिरिकन न्यूरोइन्टरभेशन पद्धतिबाट उपचार थालि सुसनको अवरुद्ध भएको रक्तनली खुलाएका थिए ।
केएमसीका इन्टरवेशनल न्युरोलोजिष्ट डाक्टर समर्थ सिंह नेतृत्वको चिकित्सकीय टोलीले सुसनको ब्लक भएको रक्तनलीमा क्याथेटर पसाएर जम्मा भएको रगतको डल्लोलाई फुटाएर हटाएर रक्त प्रवाह सुचारु गरेका थिए । सुसनको उपचारमा डा. समर्थसँगै न्युरोलोजिष्ट डा.पारस रायमाझी, न्युरोसर्जन डा.विदुर केसी संलग्न थिए ।
‘इमरजेन्सीमा आउँदा उहाँको शरीरको देब्रेपाटो नचलेको, मुख बाङ्गिएको तथा शरीरको देब्रे भाग शिथिल अवस्थामा थियो । हामीले तत्कालै सिटी स्क्यान लगायतका परीक्षण गर्दा मस्तिष्कघात भएको पायौं, त्यसपछि न्यूरोइन्टरभेशन पद्धतिबाट टाउको नचिरिकनै रक्तनलीको माध्यमबाट क्याथेटर पसाएर रगतको डल्ला (सक्शन) तानेर निकालियो ।’ इन्टरवेशनल न्यूरोलोजिष्ट डा. समर्थ सिंहले भने ।
मस्तिष्कघात भएको छ घण्टाभित्र उपचार नगरीएको भए सुसनलाई पुरै प्यारालाइसिस हुने वा ज्यानै जानसक्ने जोखिम थियो । तर, केएमसीको उच्चस्तरीय प्रविधि र दक्ष चिकित्सकको उपचारले बचायो । ‘आवश्यक स्वास्थ्य परीक्षण गर्दा उहाँको नसा ब्लक भएको रहेछ । तत्काल बिरामीको ज्यान भन्दा ठूलो केही हैन भनेर अस्पतालका प्रक्रियाहरू पनि थाँती राखेर उहाँको उपचार सुरु गर्यौं ।’ केएमसीकी इमरजेन्सी विभागकी एक न्यूरो कोअर्डिनेटर भन्छिन् ।
केएमसीका दक्ष चिकित्सकले तत्कालै उपचार नथालेको भए सुसनमा पुरै प्यारालाइसिस हुने वा ज्यानै जाने जोखिम थियो । ‘यहाँ ल्याएको ३० मिनेटभित्रै डाक्टरहरुले अप्रेसन थाल्नुभयो ।’ सुसनकी श्रीमतीले भनिन् ।
न्यूरो इन्टरभेशन भनेको बिना शल्यक्रिया क्याथेटरको माध्यमबाट बन्द भएको मस्तिष्कको नसा खोल्ने वा फुटेको मस्तिष्कको नसालाई ठिक गर्ने पद्धति हो । यस प्रविधिमा हात वा खुट्टाको नशाबाट क्याथेटर पठाएर मस्तिष्कको नशाभित्र जमेको रगतको थेग्लो निकालिन्छ । टाउको नखोलीकन मस्तिष्कभित्र रहेको रक्तनलीभित्रै मेकानिकल थ्रोमबेक्टमी पद्धति बाट अवरुद्ध रक्त नलीमा पुनः रक्तसञ्चार गरिन्छ । यस पद्धतिले बिरामी चाँडै निको हुन्छन् र अस्पतालको बसाइ समेत कम हुन्छ । साथै, उपचारपछि लामो समय बेड रेस्ट गर्नुपर्ने बाध्यता पनि रहन्न ।
मस्तिष्कको रक्तनली अवरोध भए वा फुटेमा मस्तिष्कमा रगत आपूर्ती अवरुद्ध भई स्नायु कोषिकाहरुमा तत्काल क्षति पुग्ने समस्यालाई नै मस्तिष्कघात भनिन्छ । सुसनको उपचारमा संलग्न इन्टरवेंशनल न्यूरोलोजिष्ट डा. समर्थ सिंहका अनुसार रक्तनली अवरुद्ध भएर वा रक्तनली फुटेर मस्तिष्कघात हुन्छ ।
पक्षघात भएको थाहा पाउन चिकित्सकले ‘मुहार’ सुत्र सुझाएका छन् । ‘मुख टेढो हुँदा, हात र खुट्टा चलाउन गाह्रो हुँदा तथा बोल्न गाह्रो भएको अवस्थामा बिरामीलाई मस्तिष्कघात भएको अनुमान गर्न सकिन्छ । यस्तो अवस्थामा बिरामीलाई तत्कालै इमरजेन्सीमा वा न्युरोलोजिष्ट कहाँ लैजानु पर्दछ ।’ डा. सिंह भन्छन् ।
मस्तिष्कघात भएका बिरामीलाई न्यूरोइन्टरभेसन पद्धतिबाट ६ देखि ८ घण्टासम्मको उपचारबाट पूर्णरुपमा निको बनाउन सकिने डा. सिंहको दावी छ । तर, बिरामीलाई मस्तिष्कघात भएको ६ घण्टाभित्र उपचार थाल्नुपर्दछ । ५० वर्षमाथि र ५० वर्षभन्दा कमका समूहलाई मस्तिष्कघात हुन्छ । लामो समयदेखि उच्च रक्तचाप, मधुमेह भएकालाई पक्षघात हुन सक्छ । मधुमेह र उच्च रक्तचापका बिरामीले समयसमयमा विशेषज्ञ चिकित्सकसँग सल्लाह लिइरहनु पर्दछ ।
केएमसीले चिकित्सा क्षेत्रमा पछिल्लो समय भित्रिएका नयाँ नयाँ प्रविधिहरु भित्र्याउँदा गम्भिर बिरामी भएकाहरुले सहजै उपचार पाइरहेको केएमसीका जनरल मेनेजर नारायण दाहालले बताए । ‘सर्वसुलभ र सहजरुपमा सर्वसाधारणले उच्चस्तरीय उपचार सेवा पाउन भनेर केएमसीले चिकित्सा क्षेत्रका नयाँ नयाँ पद्धतिहरु भित्र्याइरहेको छ । केएमसीलाई मुलुककै उच्चस्तरीय स्वास्थ्य संस्था बनाउने हाम्रो लक्ष्य छ ।’ दाहालले भने ।
विराटनगरमा नोबेल शिक्षण अस्पताललाई अत्याधुनिक बनाउँदै लाखौं जनतालाई सर्वसुलभ स्वास्थ्य सेवा दिएका समाजसेवी डा. सुनिल शर्माको नेतृत्वमा केएमसी आएसँगै त्यहाँको स्वास्थ्य सेवालाई पनि अत्याधुनिक बनाइएको छ । हाल डा. शर्मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएर गएतापनि केएमसीले आफ्नो सेवाहरुलाई विशिष्टीकरण गर्ने कार्यमा लागेका छन् ।
1 प्रतिकृया
Kamalnarayan Das
kndnlc@gmail.com
None
A big congratulation to Dr Samartha Singh whose high profile education, training and dedication in this field has made it possible. Dr Samartha is Second son of Dr Ranjan Pd Singh, famous Physician and former head of the Medicine Department and Director of NAMS