नयाँ वर्षलाई स्वागत गर्न शे-फोक्सुण्डो पुग्दा (यात्रा स्मरण)
एक्सन खबर
राेशन लुइँटेल
पहिलो दिन
हरेक वर्ष एउटा ट्रेकिङ्ग गर्ने लक्ष्य अनुसार यस पटक विक्रम संवत २०७९ लाई विदाई गर्दै नयाँ वर्षलाई शे-फोक्सुण्डो तालमा स्वागत गर्ने याेजना बन्याे । नववर्ष २०८० लाई डोल्पा जिल्लाको सुन्दर प्राकृतिक शे-फोक्सुण्डो तालबाट स्वागत गर्ने लक्ष्य अनुसार ट्रेकिङ्ग गर्न कार्यालयबाट पाउने विदाको सदुपयोग गर्दै जाने सल्लाह अनुसार हामी दुई जना (राेशन लुइँटेल, क्षितिज निराैला) तयार भयाैं ।
हामी ट्रेकिङ्ग गइरहने भएकाले ट्रेकिङ्गको लागि चाहिने सबै सामानहरू सधैं तयारी अवस्थामा राख्ने गरेको छाैं । यात्राको लागि सबै तयारी भएपनि हामीसँग जाने साथीसँग कुरा गर्न चैं बाँकी थियो । विगतमा सँगै ट्रेकिङ्ग गएको साथीहरुसँग सल्लाह गर्दा सबै साथीहरुको समस्या चैत्र मसान्त पर्न गयो । धेरै मित्रहरूकाे चाहना हुँदाहुँदै पनि हामीसँग ज्वाइन हुन पाउनु भएन ।
दुई जना मात्र भएपनि जाने सल्लाह गर्दै काठमाडौंबाट फ्लाइटमा नेपालगञ्ज र नेपालगञ्जबाट जुफाल एयरपोर्टसम्म २ जनाको लागि टिकट बुझ्दा नेपालगञ्जबाट जुफालको प्लेन टिकट पाउनु भनेको ‘फलामको चिउरा चपाउनु’ जस्तै रहेछ । सबै सेटिङ र सोर्सफोर्स बाट मात्र टिकट पाइने रहेछ । पहुँच हुनेहरूले सहजै ’चिलगाडी’ पाउँथे, भूईँ मान्छेहरू हेर्याहेर्रै ।
ट्रेकिङ्ग जाने भूत सवार भइसकेकाेले पछि हट्ने मनस्थिति भएन । नेपालगञ्ज विमानस्थलमै गएर दुइचार दिन बसेर कोशिष गर्दा मौसमले साथ दिएमा टिकट पाउन सकिने रहेछ । तर, हामीसँग नेपालगञ्जकाे गर्मी सहँदै दुइचार दिन बरालिने समय कहाँ हुनु र !
बसबाट यात्रा गर्ने विकल्प थियाे । भोलिपल्ट कार्यालयमा मित्र क्षितिजजी सँग सल्लाह अनुसार १२ बजेसम्म कार्यालयको काम सकेर बसपार्कमा टिकट बुझ्न जाँदैगर्दा एकजना मित्रले ‘कार्यालयबाट विदा मिल्याे’ भन्दै फाेन गरे । दुईकाे ठाउँमा तीन हुने भइयाे भन्दै ऊर्जा थपियाे ।
हरेक दिन काठमाडौंबाट राडी बजार जाने एउटा नाइट बस छुट्ने रहेछ । हामीसँग योगेन्द्र भट्टराई वकिल सर पनि बसपार्क सम्म जानु भएको थियो उहाँले ‘एयर सस्पेन्सर वाला गाडी हो भने जानु नत्र नजानु’ भन्नुभयो । नभन्दै एयर सस्पेन्सर वाला नै गाडी रहेछ । टिकट काट्ने बेला भयो, टिकट कहिलेको काट्ने ? क्षितिजजी लाई सोधे । ‘आजैको काटाैं’ उहाँले भन्नुभयो । मैले भने,‘घरमा मेडम (श्रीमती)लाई पनि भनेको छैन कसरी आजै जानु !’
‘मैले पनि भनेको छैननी ! जे पर्छ पर्छ भोलि जानु र आज जानु उस्तै हो ।’ भन्दै हामीले तीन वटा टिकट लिँदै पाँच बजे कलंकीबाट बस चढ्ने निधाे गर्दै घरतिर लाग्याैं ।
ट्रेकिङ जान म, क्षितिजजी र पवनराज दाहाल गरी तीन जनाको ग्रुप बन्याे । पाँच बजे कलंकीमा भेट भएसँगै यात्रामा चाहिने औषधि, चकलेट लगायतका सामान जोहो गरेर रुकुम पश्चिमको आठबीसकोटस्थित राडी बजार लागियाे ।
गाडीमा ड्राइभर दाई सहित पाँच जना स्टाफ रहेछन् । थानकोटबाट तल झर्न थालेपछि सुमुधुर गीतको साथ गाडीको रफ्तार बढ्याे । गाडीमा सिट भन्दा धेरै यात्रु देखेपनि नजिकै कतै झर्ने होलान् भन्ठाने । तर, चेकपोस्ट कटेपछि सहचालकले डीकीबाट त्रिपाल निकालेर प्यासेजमा बिछ्याउँदै उभिएका सबैलाई बसाए । अचम्म लाग्याे ।
मैले साेधें,‘यो के गर्नु भएको ?’
‘उहाँहरू तपाईंहरु सँगै जाने हो’ सहचालकले जवाफ दिएपछि मैले पुनः साेधे, ‘यत्रो बाटो २४ घण्टा कसरी जानु हुन्छ ?’
‘दिनकाे एउटा मात्र गाडी काठमाडौं बाट छुट्छ, सबैलाई मिलाएर लानु पर्छ ! यस्तै हो सधैं ।’ सहचालककाे जवाफसँगै म माैन बसे । २४ घन्टासम्म बसकाे प्यासेजमा त्रिपालमा बसेर जानु सजिलाे कहाँ हुनु र । तर, गन्तव्य त पुग्नैपर्छ ।
मलेखु, नाैविसे हुँदै रातकाे दश बजे चितवनकाे जुगेडी पुगेर खाना खाएसँगै हाम्राे यात्रा अगाडि बढ्न थाल्यो । बसमा केही माेवाइल चलाइरहेका थिए, काेही गीत सुन्दै त केही निदाइसकेका थिए । मलाई पनि निन्द्रादेवीले काखमा च्यापिन् ।
बिहान आठ बजे चीया नास्ता खाने ठाउँमा गएर गाडी राेकियाे । भोक निक्कै लागेकाेले राम्रो खाजा खाने भन्दै थियाैं । गाडी कोहलपुरकाे एउटा छाप्रो अगाडी रोकियो ।
‘लु सबै जना खाजा खान झरुम् !’ सहचालक कराए । अबेर नगरी त्यहि छाप्राेमा गएर खाजा माग्याैं । तर, त्यहाँ त काँचो चना र उसिनेको अण्डा मात्र रहेछ । ‘किन यस्तो ठाउँमा रोकेकाे ? अलिक राम्रो ठाउँमा रोक्नु पर्दैन ?’ म झर्किएँ ।
झर्किलाे स्वर सुनेर ड्राइभर रिसाउँदै कुर्लिए,‘खाए खानु नखाए नखानु यो भन्दा राम्रो यता पाइँदैन ।’ भोकै बस्नु भन्दा पेट भर्नकै लागि भएपनि खानुपर्छ भन्ने भाे । काँचाे चना र अण्डा जबरजस्ती खाएर गाडी चढियो । पछि बुझ्दै जाँदा थाहा भयो होटल साहुसँग ड्राइभरहरूकाे सेटिङ हुँदो रहेछ । होटलवालाले गाडी स्टाफलाई फ्रिमा खाना दिएर उल्टै कमिसन पनि दिँदा रहेछन् । काँचाे चना र अण्डा खुवाए वापत उनीहरूले कति कमिसन पाए थाहा त भएन तर, पेट पाे खराब हुने हाेकि भन्ने त्रास चैं हामीलाई भयाे ।
कोहलपुरबाट माथि छिन्चुकाे घुम्ति छिचाेल्दै हाम्रो गाडी सल्यान र सुर्खेतका विभिन्न स्थानहरु हुँदै हामी जाजरकोटको कुदु क्षेत्र पुग्यौं । कुदु क्षेत्र मध्यपहाडी राजमार्गको जाजरकोट प्रवेश विन्दु हो । १० वर्षे जनयुद्धकाे एउटा आधार क्षेत्र । यहाँबाट हामी माथि बजार हुँदै डोल्पा जाने बाटो माेडियाैं । रिम्ना पारी पुल तरेपछि रुकुम पश्चिम जिल्ला पर्दछ । रिम्ना पारीबाट माथि लागे डोल्पातर्फ तथा तलतिर लागे रुकुमकै मुसिकोटतर्फ पुगिन्छ ।
हामीलाई आज तल्लु बगर पुग्नु थियो, लगातार यात्रा चलिरहेकाे छ । एक्कासी ड्याम्म गर्दै ठूलो आवाज आयो । टायर पंचर भएछ । हामीहरू गाडीबाट उत्रँदै वरीपरीकाे दृश्यावलाेकन गर्न थाल्याैं । फोटो खिच्ने मौका मिल्यो ।
‘ल ल चढ्नुस चढ्नुस ढिलाे हुन्छ फेरी’ टायर फेरिसकेपछि सहचालक कराए । हाम्राे यात्रा फेरी अगाडी बढ्याे । एक घण्टापछि खाना खाने ठाउँ आयो । यहाँ चैं काँचाे चना र अण्डा खानु परेन । राम्रै खाना पाइयाे । खाना खाएर अघि पंचर भएको टायर टालेपछि गाडी पुनः अगाडि बढ्याे ।
पाँच बजेतिर खाजा खाएर अगाडि बढ्दै जाँदा फेरि गाडीको अगाडिको टायर पड्कियाे । एक्स्ट्रा टायर पनि राम्रो नभएकोले ड्राइभर पनि तनावमा परे । लामाे दुरीका सवारीमा एकाध वटा एक्स्ट्रा टायर नहुँदा कुनबेेला के पर्छ थाहै नहुने ।
अब अगाडिको बजारबाट अर्को टायर मगाउनुको विकल्प रहेन । रातपनि पर्न लागेकाले अत्यास र छट्पटी सुरु भयो । त्यतिकैमा पछाडिबाट नेपालगञ्जबाट तल्लु जान एउटा बस आयाे । हामीलाई ‘ढुङ्गा खोज्दा देउता’ मिलेजस्तो भाे । छ सयमा तल्लुसम्म पुराउने कुरो भयो । गाडीमा हामी तीन जनासँगै अरु छ जना पनि चढनु भयो ।
कतै ठुला ढुङ्गा, कतै चिप्लने गिर्खा, कतै विष्फोट गराईसकेपछि जस्ताकाे तस्तै पासो थापेका जस्ता टायर नै छेड्लान जस्ता चट्टानका तिखा चुच्चाहरु । यस्ताे अनकन्टारमा कसरी बाटाे खनियाे हाेला ! मुटु ढक्क फुल्याे ।
रातको करीब नाैं बजे तल्लु बगर पुग्याैं । ठूली भेरी नदीकाे किनारामा रहेकाे तल्लुमा होटल खोजेर नुहाई धुवाई गरेर खाना खायाैं । ४ वर्ष अगाडी मात्र तल्लु बगरसम्म बाटाे बनेपछि नेपालगञ्ज जाजरकोटदेखि मालबाहक ट्रक र बस पुग्दा रहेछन् । अहिले तल्लुबगरमा चहलपहल छ । ठूली भेरीले जाजरकाेट र रूकुम पश्चिम छुट्याउँदाे रहेछ । बिहान चाँडै उठ्नु पर्ने भएकोले अलमल नगरी निन्द्रादेवीकाे काखमा पल्टियाैं ।
दोस्रो दिन
अघिल्लो दिन राति करिब नाैं बजे तल्लु बगर पुगेका थियौं । अफ्टेराे बाटाे लगातार २४ घण्टा बसकाे यात्राले थाकेका थियाैं । बिहान ६ बजे उठेर हिँड्ने भनेपनि सकिएन । हातमुख धोएर-फ्रेस भएर हिँड्दा साँढे छ भईसकेको थियो ।
तल्लु बगरमा रहेको ठूली भेरी नदी माथि बनाएको झाेलुङ्गे पुल तरेर दुने जाने टाटासुमाे पकड्नु पर्ने रहेछ । एकजनाको २३ सय तिरेर टाटासुमाेमा बस्याैं । दश जनाको सिट भएपनि १८ जना काेचिनु पर्याे । सिन्डिकेट भएकोले गाडी रिजर्भ गरेर जान पनि नमिल्दाे रहेछ । कच्ची साँघुराे बाटाे निस्सासिए जस्तै भाे । बाटो सारै खराब भएकोले कछुवाकै तालमा सुमाे अगाडि बढ्याे । गाडीमा डोल्पाका धेरै हुनुहुन्थो । डोल्पा बाहिरका हामी तीन जना र काठमाडौंबाट आएका एक जना बुबा हुनुहुन्थो ।
यात्रामा भेटिएकासँग गफ नगरे यात्रा नकट्ने । बुबाकाे चाहना गज्जबको । देशको सबै जिल्ला सदरमुकाम पुग्ने फोटो खिच्ने । डोल्पा पुगेपछि जम्मा तीन वटा जिल्ला सदरमुकाम मात्र पुग्न बाँकी छ भन्दै माेवाइलमा फोटो देखाउनु भयो । हामीलाई वर्षमा एकपटक भ्रमण गर्न मुस्किल, ती बुबाले ७३ जिल्ला भ्याइसकेछन् ।
गाडीमा रहेका अन्य काम विशेषले गर्दा डोल्पा बाहिर गएका रहेछन् । डोल्पामा दशैँ आउँदै गरेकाले गाउँ फर्केको रे ! एकछिन त कुरा बुझेनौं पछि थाहा भाे यार्सागुम्बा टिप्न जाने बेला भएकाे रहेछ । यार्सा सङ्कलन गर्नु नै डाेल्पेलीको मुख्य पेसा र व्यवसाय रहेछ । वर्षमा दुई महिना यार्सा टिप्ने अनि त्यसको आम्दामीबाट वर्ष भरी खानु पर्ने ।
वैशाख १५ पछि सबै स्कुल, व्यापार व्यवसाय छाडेर बालबच्चा, गाईवस्तु बोकेर लेकतिर जाने रहेछन् । एउटा यार्साको मूल्य त्यसको आकार अनुसार पाँच सय देखि २५ सयसम्म हुनेरहेछ । राम्रोसँग खोज्न सक्नेले दश बीस लाखसम्म सजिलै कमाउन सक्ने रहेछ । अचेल बाहिर जिल्लाबाट र तिब्बततिर बाट यार्सा चोरहरु आउने गरेकोले धेरै दुःख पाइने गरेको एकजनाले बताउनु भयो ।
मेरो सिटसँगै एक जना डोल्मा बहिनी थिइन् । उनी दलाई लामाले दिएको छात्रवृत्ति कार्यक्रम अन्तर्गत पढ्न इन्डिया गएकी रहिछिन् । यार्सा खाेज्ने याम भएकोले गाउँ फर्केर आएको बताइन् । दुने भन्ने ठाउँबाट उनको गाउँ उपल्लो डोल्पा पुग्न चार दिन पैदल हिड्नु पर्ने रहेछ । गाउँमा सयकाे हाराहारीमा जनसंख्या रहेछ । त्यहाँकाे आम्दानीको स्रोत भनेकै यार्सा र जडिबुटी रहेछ । अरु अन्न वाली नहुने । बारीमै यार्सा पाइन्छ भन्दा अचम्म लाग्याे ।
‘यार्सालाई व्यवसायिक रूपमा उत्पादन गर्न मिल्दैन ?’ मैले प्रश्न गरे । ‘यसको अनुसन्धान भएको छैन, हामीसँग श्रोत साधन, ज्ञान केही छैन । गाउँतिर चैं हल्ला चलेको छ चीनमा टनेल बनाएर उत्पादन गर्न थालेको छ रे !’ एक जनाले उत्तर दिनुभयाे ।
डाेल्पाबाट चुनाब जितेर गएकाहरु धेरैपल्ट मन्त्री पनि भए । तर कसैले यार्साकाे अध्ययन अनुसन्धानको लागि पहल गरेकाे थाहा छैन । जिल्लाकाे विकासमा बाेल्ने, पहल गर्ने नेताहरू विरलै रहेछन् । त्यसाे त एक दशकयता धेरै डाेल्पालीहरू थातथलाे छाडेर काठमाडाैं छिरिसकेछन् । यार्सा र जडिवुटी बेच्दै काठमाडाैंमा घर घडेरी जाेड्न, सन्तानलाई उच्च शिक्षा दिन थालेका रहेछन् । चुनाब लड्नेहरूले काठमाडाैंमा रहेका मतदाताहरूलाई कराेडाैं खर्च गरेर खान र बस्ने सुविधा सहित हेलिकप्टरमा ओसार्नुपर्ने रहेछ ।
सुमाेमा रहेका डाेल्पेलीहरूकाे गाउँबाट सदरमुकाम पुग्नै ६, ७ दिन लाग्दाे रहेछ । टेलिफाेन, इन्टरनेट, टेलिभिजन त सदरमुकाम दुनैमा मात्र । काठमाडाैं जानुलाई नेपाल जानु भन्दा रहेछन् । चुनाब जितेर गएकाहरू नेपाल (काठमाडाैं) बस्छन् । उनीहरूले डाेल्पेलीकाे दुखः संसदमा भने कि भनेनन् !
डाेल्पेली यात्रुहरूसँग गफिँदै गर्दा अफ्टेराे डरलाग्दाे बाटाे पनि भुलिँदाे रहेछ । घच्याक्क सुमाे राेकिँदा मात्र ध्यान भङ्ग भयाे । त्रिवेणी आईपुगेछ, त्रिवेणी पार गरेपछि डाेल्पा सुरू हुँदाेरहेछ । जाजरकोट, रुकुम र डोल्पा जिल्लाको संगमभन्दा हुन्छ त्रिवेणी । ड्राइभर भाईले खाना खाने बेला भयो भन्दै ‘२० मिनेट है खाना खाने !’ उर्दीजारी गरे ।
ठूली भेरी नदीको माछाको स्वादसँग भरपेट खाना खाएर हाम्राे यात्रा अगाडी बढ्याे । यहाँबाट ठूलीभेरीकाे तिरैतिर डाेल्पा सदरमुकाम दुनै नपुग्दासम्म लाग्नुपर्छ । एकातर्फ डरलाग्दाे भीर अर्काे तर्फ ठूलीभेरीकाे तिर । सुमाे अलिक हल्लियाे कि मुटु ढक्क फुल्ने । बाटाे सहज कतै छैन ।
नेपाली सेनाले भर्खर ट्रयाक खाेलेकाे । ठूल्ठूला मार्वल जस्ता देखिने ढुङ्गैढुङ्गाको पहाड आयो । चिप्ले भीर रहेछ । हामी इटालीको मार्वल मगाएर घर बनाउँछाैं । हाम्रै देशमा प्रकृतिले दिएको यति सुन्दर मार्वल चैं टुलुटुलु हेर्नु परिरहेछ । राज्यको आँखा कहिले पर्ने हो यस्ता सम्पत्तिमा !
ढुङ्गैढुङ्गाका अक्करे भीरकाे बाटाे कटाउँदै दुने पुग्नुभन्दा २० मिनेट अगाडि सुलीगाँड भन्ने ठाउँमा आएर दिउसाेकाे २ः१० मा हाम्रो गाडी छ घण्टापछि राेकियाे । सुलिगाँडबाट करिब डेढ दिनकाे हिँडाई पश्चात हाम्राे मुख्य गन्तव्य शे-फोक्सुण्डो पुगिँदाे रहेछ ।
यहाँबाट गाडी अगाडी बढेन । हाम्राे यात्रा पैदल सुरू हुने भाे । लगाउने कपडा बन्दोबस्तीका सामानहरु टन्नै थिए । चेक पोस्टमा प्रहरी जवानसँग एकछिन त्यहाँकाे बारेमा साेधपुछ गरेपछि ठूलीभेरी नदी माथिको झोलुंगे पुल तर्दै नदीकाे किनारै किनार लाग्यौं ।
एउटा काठे पुल तरेपछि शे-फोक्सुण्डो निकुञ्जको ईन्ट्री पोष्ट आईपुग्याे । नेपाली नागरिक प्रवेशका लागि एक सय तथा विदेशीका लागि तीन हजार तिर्नुपर्दाे रहेछ । ट्रेकिङमा गएकाहरूका अनावश्यक अतिरिक्त सामानहरु चेकपोस्टमा राख्ने सुविधा रहेछ । अत्यावश्यक सामानहरु मात्रै बोकेर फोक्सुण्डोतर्फ जाने हाम्रो ट्रेकिङ सुरु भयाे ।
एकजना भाई ८-९ वटा खच्चड र एउटा घोडा सहित हामी भन्दा केहि पछाडि आईरहेका थिए । खच्चडसँग हिंड्दा धुलो खाईने भएकाले अगाडी जान दियाैं ।
जति हिँड्याे उति छिटाेभन्दा छिटाे शे-फाेक्सुण्डाे पुग्ने लालसा बढ्दै थियाे । नयाँ उर्जाका साथ पैदल यात्राको पहिलो दिन भएकाले हाम्राे शरीरले साथ दिएकै छ । सबैको हिँडाई सन्तोषजनक थियो । कहिले काँही पट्यारलाग्दो एकै किसिमको भू–बनावटकाे दृश्यहरूमा लखरलखर हिँड्दा थकान महशुष हुने गर्दछ । यो रुटमा बाटोमा खाने-बस्ने व्यवस्था निश्चित दुरीहरुमा मात्र उपलब्ध छ ।
हिमाल तथा पहाडी भू–भागको सुन्दर मनोरम दृश्य यहाँका आकर्षण हुन् । वरिपरि हिमश्रृंंखलाले घेरिएको सुन्दर डोल्पा पदयात्राका लागि संसारमै चर्चित छ । हिमाली र पहाडी जनजीवन, हिमाली संस्कृति एवं रितिरिवाज बुझ्न यहाँ पुग्नै पर्छ ।
करिब एक घन्टाकाे हिँडाई पछि कागेनी भन्ने ठाउँमा पुग्यौं । कागेनीमा हामीले सानो कोककाे १५० रूपैंया तिर्याैं । सडक नपुगेकाले खच्चडलाई बाेकाएर ल्याएकाले सामानहरू महंगा छन् । केहिबेर थकान मेटेपछि स्याङ्गटातर्फ लाग्यौं ।
बेस्मारी हिँडेपछि तिर्खा लाग्याे । क्षितिजजीले खोलाबाट बोतलमा पानी भरेर ल्याउनु भयो । आहा ! जीवनमा मैले पहिलाे पटक पानीकाे स्वाद पाएँ । काेकाकाेला र बाेतलका पानी खाएका हामीहरूलाई यहाँकाे पानी अमृत नै लाग्याे । सायद अमृत यस्तै हुन्थ्याे हाेला !
करिब एक घण्टापछि स्याङ्गटा भन्ने ठाउँ पुग्यौं, कागेनी र छेप्काको मध्यभागमा पर्ने यो ठाउँमा गेष्ट हाउस तथा खानाको पनि व्यवस्था रहेछ । यहाँ खाली बाेतलमा पानी भर्न कोक किन्नु पर्याे । बहुराष्ट्रिय कम्पनीहरूले नेपाल खाइसकेका रहेछन् । अमृतजस्ताे अर्गानीक पानीकाे खानीमा काेकाकाेला ! खानलाई हैन बाेतलका लागि २ सय रूपैंया तिरेर काेकाकाेला किनियाे ।
हिमालबाट कलकल बगेका पानीलाई अन्तराष्ट्रिय बजारमा पुर्याउन सके डलर भित्रन्थ्याे । देश समृद्ध हुन्थ्याे । सिंहदरबारमा काेकाकाेला जस्तै विदेशी ब्राण्डहरूकाे स्वादमा भुल्नेहरूलाई यसकाे महत्व कहिले थाहा हाेला !
पूर्वमा मुस्ताङ र चीनको तिब्बत, पश्चिममा मुगु र जुम्ला, उत्तरमा तिब्बत, दक्षिणमा जाजरकोट, रुकुमपश्चिम, रुकुमपूर्व र म्याग्दी जिल्लाको बीचमा रहेको भौगोलिक हिसाबले नेपालको सबैभन्दा ठूलो जिल्ला हाे डोल्पा । प्राकृतिक दृश्यवलाेकन र हिमाली जीवनशैलीसँग सात्क्षात्कार हुने हाे भने डाेल्पा जानैपर्छ ।
शे–फाेक्सुण्डाेबाट निस्किएकाे सुलिगाडखाेला, खाेलाका दुवैतिर अग्ला-अग्ला पहाड, निश्चित हिँडाई पछि आउने माटाेले छाएका स-साना घर र वस्ती उकालो अनि ओरालो, खच्चड हिँड्दा धुलाम्ये भएको खच्चडकै गन्ध आउने बाटोले हामीलाई घरी राेमान्चित त घरि निरश बनाइरहेकाे छ ।
‘अब कति समय लाग्छ बासबस्ने ठाँउ पुग्न ?’ फर्केर आउने हरेक मान्छेसँग हाम्राे साेधाई हुन्थ्याे । कसैले अब आउनै लाग्याे भन्दा हाम्रा खुट्टा जाेडले चल्थे । तर, एकछिनमै फतक्क गली पनि हाल्थे ।
मित्र पवनले झमक साँझ पर्न लागेपछि ‘टर्चलाईट बालेर हिँड्नुपर्छ’ भन्दै गर्दा ओरालो झर्नासाथ अलि पर धुवाँ आएको देखियो । त्यसपछि मात्र हाे बल्ल आज बास बस्ने ठाउँ आइपुग्याे भन्ने भाे । पाइतलामा पनि रक्तसञ्चार भएजस्ताे लाग्याे । साँझकाे सातबजेतिर छेप्का गाउँ पुग्याैं ।
दायाँ बायाँ नहेरी नबुझि पहिला जुन होटल देखियो त्यसैमा पस्याैं । दिनभर बाेकेकाे झाेला विसाउँदा अर्कै आनन्दानुभुति भाे । एकछिन आराम गरेपछि हातमुख धोएर कोरियन चुलोको वरिपरि खुट्टा सेकाउँदै खाजा खाँदै खाना अर्डर गरियो । मैले दुई चम्चा लोकल मह मागेर खाँए । अर्गानीक स्वाद सारै मिठो ! किनेर लान साेधें । हाेटल साहुजीले फर्केर आउँदा व्यवस्था गरिदिने भए । रातकाे खाना खाएर विहान ५ बजेनै उठ्ने शर्तमा ओछ्यानमा पसियाे ।
तेस्रो दिन
आज शे–फाेक्सुण्डाे यात्राकाे तेश्राे दिन हाे । विहान ५:३० बजे घाँमले पनि राम्ररी नचिहाउँदै छेप्काबाट नयाँ जोश र उमंगका साथ हाम्रो यात्रा सुरु भयो। छेप्काको हाइट (२६सय ६० मिटर) रहेछ ।
तेस्रो दिन उचाई ३८ सय मिटरमाथि रहेको शे–फोक्सुण्डो तालको छेउमा बसाई हुनेवाला थियो । कस्ताे हाेला शे–फोक्सुण्डो ताल ! सम्झँदै राेमान्चित भएँ ।
छेप्काबाट करिब चार घण्टा हिँडेपछि रञ्ची भन्ने ठाउँ पुगियाे । सारै थाकेकाे हुँनाले त्यहीँ खाना खाने कुरो भयो । त्यसपछि कहाँ खान पाइएला र ! खाना पाक्न टाइम लाग्ने रहेछ । भाेकले अत्याएकाे थियाे । कफि, चाउचाउ बनाउन लगाएर खान थाल्याैं । माछा मासु, तरकारी केही नहुने । आलु र चुच्चेकरेलाको सुकुटीसँग खाना खायौं ।
फर्केर आउँदा नयाँवर्ष २०८० को दिन हुने भएकोले च्याङ्ग्रा काट्ने कुरो रहेछ । फर्केर आउँदा यही खाना खाने वाचा सहित हामी बाटो लाग्याैं । खाने बित्तिकै उकालाे हिँड्न सारै गाह्राे भाे । घरी घोडाको ताँती आउने घरी चौंरीको । यार्सागुम्बा टिप्न जाने समय भएकोले बन्दोबस्तीका सामान बाेकेर सदरमुकामदेखि घाेडा र चाैंरीहरू आएका रहेछन् ।
एकछिनको हिडाई पछि सुलिगाडमाथिको झोलुंगे पुल तरेर हामी पारी लाग्यौं । केहीछिनको तेर्साे हिँडाईमा झरना होटल आउँछ, होटल राम्रै भएपनी अन्तिम होटल भएकाले यहाँ आएर बस्ने कमै हुन्छन् । झरना होटलमा काठमाण्डाैंबाट आएका चार जना साथीसँग भेट भयो । एकछिन गफिएर तालमै भेट गर्ने र फर्कँदा सँगै फर्कने कुरो भयाे ।
अब भने हाम्रो अग्नि परीक्षा सुरु हुनेवाला थियो । सबै भन्दा कठिन तीन वटा उकालो काट्नु पर्ने थियो । घाम चर्को लाग्न थालिसकेको थियो । नाङ्गो डाँडा भएकाले उकालाे नसकुन्जेल घामबाट राम्रै सेकिने । उकालोमा पानी पनि नपाइने भएकोले झनै सकस । चर्काे घाँम, उकालाे बाटाे शरीरमा पानीकाे मात्रा धेरै खपत हुने भएकाले पर्याप्त पानी बाेकेर नहिँडे सारै गारो भाे ।
हामीले २-२ बोतल पानि बोकेको थियाैं साथै, यात्रामा पानी धेरै नखान एक दुइ घुट मात्रै पिउने सल्लाह गरेर हिँडेका थियाैं । यो उकालो काटन हिँडाई अनुसार साढे दुइ देखि चार घण्टा लाग्ने गर्दछ । घाम चर्को लाग्ने, पानी नपाईने, खच्चड हिँड्दाकाे धुलाम्य बाटाे । खुट्टा कहाँ टेकियाे थाहै नपाइने । हिँड्ने बानी नभएकाहरुलाई यो उचाई पार गर्नु सगरमाथा नै चढे सरह हाेला !
यो चढाईमा दुइ खण्ड रहेका छन्, पहिलो खण्ड चट्टानी बाटो ढुंगाले खोपेर बनाईएको छ । तुलनात्मक रुपमा यो त्यति गाह्राे छैन । टपमा यात्री बिसाउनको लागि बिश्राम घर पनि बनाईएको रहेछ । दोस्रो चढाई भने धुलाम्ये-गिर्खा सहितको चिप्लने ठाडो बाटो रहेछ ।
पहिलो उकालो हामीले ४५ मिनेटमा पूरा गर्याैं । त्यसपछि केहिबेर विश्राम गरेर पुनः उकालो लम्कियाैं । दोश्रो उकालो डेढ किलाे मिटर भएपनि उक्लिनै तीन घण्टा लाग्यो । धूलाैटे बालुवामा हाम्रा पाइतला कहाँ पर्याे थाहै नहुने । त्यस्तो उकालो सायद हामीले जीवनमा पहिलाेपल्ट हिडेका थियाैं ।सधैं हिडिँरहने स्थानीयलाई पनि अढाइ घन्टा लाग्दाे रहेछ ।
उकालो जसो तसो पूरा गरी पुनः विश्राम स्थलमा पानी पिएर केहि क्षण आराम गर्दा नगर्दै झरना हाेटलमा भेटिएका साथीहरु पनि आइपुग्नु भयो । त्यसपछि पुनः तेस्रो उकालो चढ्न थाल्याैं । यो उकालो पनि अघिकाे जस्तै सानाे र धुलाैटेरहेछ । गलेर लखतरान भएर हाेला एकदम गाह्राे ।
लगभग दुइ घण्टा निरन्तर उकालो चढेपछि देखियाे हाम्राे याे वर्षकाे डेष्टिनेशन । चारैतिर पहाड, आँखा अगाडी सेताम्मे हिमाल सायद स्वर्ग भनेकाे यहि हाेला ! शे–फाेक्सुण्डाे ताल देख्दा आँखा नै रसायाे । यहाँसम्म आइपुग्दाका दुखः बिर्सिएँ । डाँडाहरूकाे बिचमा क्षणक्षणमा रंग बदल्ने शे–फाेक्सुण्डाे । आकाश नीलो हुँदा पानी नीलो । घाम अस्ताउने बेला पहेंलो । कालो बादल लागे पानी पनि कालो । प्रकृतिले याे भन्दा सुन्दर र अलाैकिक सिर्जना सायदै गरेकी हाेलिन् !
गगनमुम्बी भवन, शहरी काेलाहल, खान नमिल्ने नुनिलाे समुन्द्र जुनै देश गएपनि एउटै दृश्य देख्दा वाक्क भएका पर्यटकहरूले नेपालमा ठाउँ अनुसार अर्गानीक भेराइटी पाउँछन् । नेपालमा क्षेत्र, प्रदेश र भूगाेल अनुसार फरक फरक माैसम, प्राकृतिक दृश्य छ । शान्त, शाैम्य । नयनलाई शितल बनाउने प्राकृतिक सुन्दरता देखेर नै हाेला विश्वभरका पर्यटक यहाँ हरेक वर्ष ओइरिएका । एकछिन आँखा चिम्म गरेर थकान मारे ।
त्यसाे त, हामीबाट शे–फाेक्सुण्डाे अझै टाढै थियाे । केहिबेरको बसाइसँगै फोटो खिच्ने काम सकेर पुनः गन्तव्य तर्फ लम्कियाैं । उकालो बाटो सकिएकाे थियाे । करिब एक घण्टा तेर्सो र ओरालो लाग्नुपर्ने थियो । तर, अब चैं कुनै हताराे थिएन । बास मात्र बस्न पुग्नुपर्ने भएकाले सुस्ताउँदै, हिमाली दृश्यहरूका साथ आफुलाई भुलाउँदै अगाडी बढ्दै गर्दा तालकै छेउमा रहेकाे रिग्म गाउँ पुगियो ।
हामी भन्दा अगाडि लाग्नु भएका साथीहरु बसेको होटेलमै बास बस्ने निचोडोमा पुगियाे । होटलमा पुगेपछि थाहा भयो हाम्रो खुट्टा कति दुखेको रहेछ भन्ने । बसेको ठाँउबाट उठ्नै सकिएन । क्षितिजजीले होटल साउनी (उहाँले दिदि भन्नुस भन्नुभयाे) लाइ भनेर तातोपानी मगाएर खुट्टा चोबलि हाले । ताताेपानीमा खुट्टा डुवाउँदा दुखेकाे कम हुने भएकाले मैलेपनि चोबले । हल्का महशुष भयो ।
कोरियन चुलोको वरिपरी काठमाडौंबाट आउनु भएका चार जना र हामी तीन जना बसेर तातो चिया खाँदै गफिन थाल्याैं ।
भाेली नेपाली नयाँ वर्ष हो । आज ‘न्यु इयर इभ’ मनाउन प्रस्ताव गर्दै लोकल कुखुरा खाने प्रस्ताव राखें । सबैले समर्थन गर्नु भयो । होटलवाला दिदीले गाउँमा भाले खाेजेर आउने भन्दै जानुभयाे । एकछिनमा आएर पाँच हजार रूपैंया पर्छ भन्नु भयाे । नयाँ वर्ष सेलिव्रेट गर्न नै आएकाेले हुन्छ भन्याैं । लाेकल कुखुराकाे मासु, लोकल जौको रक्सी त्यसमा चौंरीको सुकुटी । ‘न्यू इयर इभ’ जम्याे ।
देशमा प्रकृतिले दिएका सुन्दर कञ्चन हिमाल, ताल, पुर्खाैदेखि बसेका अर्गानीक गाउँ बस्ती, कला र संस्कृति हेर्नुकाे मज्जा बेग्लै छ । यहाँकाे प्रकृति, माटाे र जीवनसँग जोडिएर रम्न पाउँदा आनन्दानुभूति मात्र हैन नेपाली भएकाेमा गाैरवान्तिक पनि भए ।
चौथो दिन नयाँ वर्षकाे दिन
नयाँ वर्षको पहिलाे दिन अर्थात् वैशाख एक गते (बर्ष २०८०)लाई डोल्पा जिल्लाको अनुपम सुन्दरताले भरिपूर्ण शे-फोक्सुण्डो ताल बाट स्वागत गर्ने हाम्रो लक्ष्य पूरा भइसकेको थियो । वरिपरि हिउँ नै हिउँले ढकमक्क हिमाल र डाँडाहरूकाे बिचमा शान्तसँग रहेको शे–फोक्सुण्डो तालको जति बयान गरेपनि कम ।
कान्जिराेवा हिमालकाे काखमा ‘वाई’ आकारमा शान्त बसेकाे शे–फाेक्सुण्डाे ताल ३६११.५ मिटर उचाइमा ४.९५ वर्गकिमिमा फैलिएको, ५.९३ किमि लम्बाइ, १.८० किमि चाैडाइ सँगै १४५ मिटर गहिराइमा रहेकाे यो तालमा ४०८.५९ मेट्रिक क्युबिक मिटर पानी रहेकाे छ ।
यहाँ हिन्दु र बौद्धक धर्मावलम्वीहरुको आस्था रहेको पायाैं । लाखौं खर्च गरेर विदेश गएर समुन्द्र र अग्ला कंक्रिटका बिल्डिङ हेर्नुभन्दा हाम्रो देशमा प्रकृतिले दिएका सुन्दर कञ्चन हिमाल, ताल, पुर्खाैदेखि बसेका अर्गानीक गाउँ बस्ती, कला र संस्कृति हेर्नुकाे मज्जा बेग्लै छ । यहाँकाे प्रकृति, माटाे र जीवनसँग जोडिएर रम्न पाउँदा आनन्दानुभूति मात्र हैन नेपाली भएकाेमा गाैरवान्तिक पनि भए ।
शे–फाेक्सुण्डाेकाे छेउमा बसेर शहरका काेलाहल, धुलाेधुँवा मात्र हैन सफलताकालागि एकले अर्काेलाइ लडाउँदै पछार्दै हिँड्नु पर्ने, घाेडा जस्ताे एकाेहाेराे दाैडने परिवेशलाइ विर्सिए । म प्रकृतिसँग, प्रकृति म सँग समाहित भएकाे महशुष गरे ।
उद्देश्य प्राप्ति भयाे । २०८० साललाइ स्वागत गर्दै एकापसमा नयाँ वर्षको शुभकामना साटासाट गरेर हामी बिहान ७ बजेकाे सुर्योदयको कलिलाे सुनाैलाे प्रकाशसँगै घर फर्किने तरखरमा लाग्याैं । तालको सुन्दरतालाई छोडेर आउन मन थिएन। तर, जानु त । मनभरी शे–फाेक्सुण्डाेकाे सम्झनाहरू कैद गर्दै उही झोलाहरू मिलायाैं ।
सुलिघाट पुग्न १५ घण्टा हिँड्नुछ । फर्किँदा सबै साथीहरुले जसरी भएपनि सुलिघाट पुग्ने वाचा गरेर जुफालबाट पोखराको टिकटको लागि कुरा गर्ने भन्दै हामी तीन जना बाटो लाग्याैं ।
केहिबेर तेर्सो बाटो हिँडेपछि हिजो हिँडेको ओरालो बाटो आजको उकालो भयाे । उकालाे हिँड्न जति गाह्राे हुन्छ ओरालाे झर्न झनै गाह्राे हुँदाेरहेछ । त्यसमाथि साँघुराे, धुलाैटे भीरकाे बाटाे ।
क्षितिजजी र पवनजी मेराे पछिपछि आउँदै थिए । झर्ना होटलमा आईपुगे पछि बोतलमा कञ्चन चिसाे पानी भरेर अगाडी लागियाे । हिजो खाना खाएको ठाउँमा पुग्दा दश बजिसकेको रहेछ । पवनजी अगाडी भएकाले खाना अर्डर गरिसक्नु भएकाे रहेछ ।
‘हिजो भनेको मासु भयो त ?’ हाेटलमा साेधें । साउजी मासुलिन जानु भएको रहेछ । एकैछिनमा बाेरामा मासु बाेकेर आइपुग्नु भयाे । मासु भाग लगाएर काट्न बाँकी नै रहेछ । मासु काट्न आफैं अगाडी सरे । एउटा फिला निकालेर मासु पिस बनाउन थाले । क्षितिजजी भिडियो बनाउँदै हुनुहुन्थ्याे । अलिकति काटेर मरमसला मोलेर कुकरमा आफैं मासु पकाए ।
सारै स्वादिलाे भयाे । च्याङ्ग्राको मासुसँग खाएको भात बिर्सन सकिँदैन । खाना खाएर पुनः बाटाे तताउन थाल्याैं । हिजाे हामी आउँदा ताल पुगेर फर्कनेलाइ अब कति बाटाे छ भनेर साेध्थ्याैं । आज चैं आउनेहरूलाई उत्तर दिँयाैं ।
छेप्का गाउँ पुग्दा तीन बजेर उकालो लागि सकेको थियो । काठमाडौंबाट आउनुभएका चार जना मध्ये दुई जना र हाम्रो पवनजी अघि लाग्नुभयो उहाँहरू चाँडै तल झरेर फोन लाग्ने ठाउँबाट जुफालबाट पोखरा वा नेपालगञ्जको फ्लाइट बुक गर्नु मात्र थिएन सुलिघाटबाट दुनै बजारसम्म जाने गाडी पनि खाेज्नु थियो ।
क्षितिजजीको खुट्टामा फोका उठेर फुट्न थालिसकेकोले हाम्रो हिँडाई ढिलो भयाे । हिँड्दा हिँड्दै झमक्क साँझ परिसकेको थियो ।साथिहरूले छोडेर अगी बढि सकेका थिए । अब हामीसँग मोबाइलको लाइट बाहेक अरु साथी थिएन । मोबाइल बाल्दै एक अर्कासँग नबोली कतै बत्ति बलेको देखिन्छ कि यताउता हेर्दै हिँड्न थाल्याैं । तर, अंधेरी रातमा खोलाको सुसाई बाहेक के पाउनु र !
बल्लबल्ल कागेनी गाउँ आइपुग्यो । आउनेहरूलाई अब कति समय लाग्छ भनेर सोध्दा दुई घण्टा लाग्छ भनेपछि हाम्रो खुट्टा चल्नै छोडे। तैपनि नफर्कि सुख छैन ! केहि समय हिँडेपछि तल एउटा बत्ति बलेको देखियो । अलि ढुक्क भयो, त्यतिखेर घडी मा ८:१५ भएको रहेछ । लगभग ४५ मिनेट हिँडेपछि अघिल्लाे दिन सामानहरू राखेकाे शे–फाेक्सुण्डाे चेक पोस्ट पुग्याैं । ती सामानहरू बोकेर केहिबेर तेर्सो हिँडेपछि सुलिघाट पुग्याैं । साथीहरूले एक घण्टा अगाडि आई पुगेर जुफाल जाने गाडी लिइसक्नु भएकाे रहेछ । फटाफट गाडी चडेर डाेल्पाकाे सदरमुकाम दुनै बजारमा एउटा होटलमा बस्याैं । त्याे हाेटल चैं फाइभस्टार भन्दा कम लागेन । तातोपानीमा नुहाउँदा स्वार्गानुभूति भयाे । सुत्दा एक बज्याे ।
जुफाल एयरपाेर्टबाट विहानकाे ६:३० काे पाेखरा फ्लाइट भएकाले २ घन्टा मात्र सुति 3 बजे उठेर तयार भयाैं । होटलबाट जुफाल एयरपोर्ट पुग्न अढाइ घन्टा लाग्ने रहेछ । हतार गरेर एयरपोर्ट पुग्याैं तर, पोखराको मौसम खराब भएकाले फ्लाइट क्यान्सिल भयो । अब के गर्ने अन्याैलमा रहेकै बेला नेपालगञ्जबाट एउटा फ्लाइट आउँदै गरेको थाहा पायाैं । फ्लाइटमा तीन वटा सिट खाली रहेछ ।
अब पाेखरा हैन अब नेपालगन्ज जाने निधो गरियाे । अरु साथीहरु चै भोलिपल्टको फ्लाइटबाट आउने फाइनल भयो । जुफालबाट नेपालगञ्ज र अर्काे फ्लाइटमा काठमाडौं आई पुग्दा बैशाख २ गते बिहानको १०:३० भयाे । सामान्यतः शे–फाेक्सुण्डाे सम्मकाे ट्रेकिझ यात्रा १० दिनकाे हुँदाे रहेछ । तर, हामीले ५ दिनमै पुरा गर्याैं । घर र कार्यालयमा शे–फाेक्सुण्डाे पुगेर नयाँ वर्ष मनाएकाे भन्दा धेरैले पत्याउन सकेनन् । दृढ इच्छाशक्ति, याेजना मुताविक प्रकृतिले पनि साथ दिए असंभव छैन ।
1 प्रतिकृया
पारस काका
luitelparas25@gmail.com
No
सहासिक काम गरेउ । धेरै धेरै बधाइ । हरेक यात्राको सम्स्मरण यसरी नै लेखेर सुरक्षित गरेर पछि पुस्तक को रुप दिनु पर्छ ।