Follow us:


Follow us

१२ कार्तिक २०८३, बुधवार
१२ कार्तिक २०८३, बुधवार


एसीसी प्रिमियर कपः ओमानमाथि नेपालको कीर्तिमानी जित

एक्सन खबर
बैशाख, ८, २०८०


एसीसी प्रिमियर कपः ओमानमाथि नेपालको कीर्तिमानी जित

काठमाडौं, ८ वैशाख । नेपालले ओमानमाथि ८४ रनको सानदार जित हात पारेसँगै एसीसी प्रिमियर कपको सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएकाे छ । लगातार दोस्रो जितसँगै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनल पुग्ने संभावना बलियाे भएकाे हाे ।

शुक्रबार त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले एकदिवसीय अन्तराष्ट्रियमा अहिलेसम्मकै उच्च योगफल बनायाे । खेलमा नेपालले ओमानलाई ३१० रनकाे याेगफल दिँदा कुशल मल्लले सानदार शतक खेले भने, सोमपाल कामीले पनि अर्धशतक बनाए ।

जवाफमा ओमानले ४६.३ ओभरमा ९ विकेट गुमाएर २६६ रन मात्र बनायाे ।  ओपनरद्वय आसिफ शेख र कुशल भुर्तेल शून्यमा आउट हुँदा नेपालकाे शुरूवात खराब रह्याे । बिलाल खानले कुशल भुर्तेललाई तेस्रो ओभरमा एलबीडब्लु धरापमा पार्दा आसिफलाई कलिमुल्लाहले चौथो ओभरमा बोल्ड गरे ।

सुरूवाती चार ओभरमा कुनै रन जोड्न नसकेको नेपालले २८औं बलमा रनको खाता खोलेको थियो । भीम सार्की र कप्तान रोहितकुमार पौडेलले अर्धशतकीय (५४) साझेदारी गरे । १८औं ओभरमा रोहित ३४ बलमा २३ रन बनाएर आउट हुँदा भीम २०औं ओभरमा ५६ बलको सामना गर्दै व्यक्तिगत ३३ रन जोडे ।

खेलमा नेपालको स्कोर ७२/४ रहेको बेला कुशलले आरिफ शेखसँग मिलेर संहालिएर लेखे । दुवैले पाँचौं विकेटका लागि ७५ रनको साझेदारी गर्दा आरिफ ४३ बलमा २९ रन बनाएर आउट भए ।

कुशलले ३९औं ओभरको पाँचौं बलमा छक्का प्रहार गर्दै शतक पूरा गरेसँगै ५९ बलमा ९ चौका र ९ छक्काको बलमा १०० रन पूरा गरे । उनले नेपालका लागि सबभन्दा छिटो ओडीआई शतक प्रहार गर्ने क्रिर्तिमान बनाउँदै ओडीआईमा नेपालका लागि शतक प्रहार गर्ने छैटौं खेलाडी पनि बने ।

थप ८ रन जोडेर उनी आउट हुँदा नेपालकाे स्कोर २२१ रन हुँदा कुशलकाे ठाउँमा सोमपाल कामीले आक्रामक खेले । सोमपाल र करण केसीले नवौं विकेटका लागि अविजित ६१ रनको साझेदारी गरे । सोमपालले ६३ र करण २९ रन अविजित रहेसँगै नेपालकाे स्काेर ३१० पुग्याे ।

खेलमा ओमानका लागि आएन खानले २ तथा बिलाल खान, कलिमुल्लाह, जिसान मक्सुद फयाज बट, अकिब इल्यास र जतिन्दर सिंह्यले एक एक विकेट लिए ।

वलिङ तर्फ नेपालका लेगस्पिनर सन्दीप लामिछानेले किर्तिमानी खेले । १३औं ओभरको तेस्रो बलमा ओमानका आदिल शफिकलाई एलबीडब्लू धरापमा पार्दै उनले ४२ खेलमा १०० विकेट लिएर कीर्तिमान बनाए । यसअघि अफगानिस्तानका रासिद खानले ४४ खेलमा १०० विकेटको रेकर्ड बनाएका थिए ।

सन् २०१८ मा नेदरल्याण्ड्सविरुद्ध ओडीआईमा डेब्यु गरेका सन्दीपले ओमान विरुद्ध ४५ रन खर्चेर ३ विकेट लिए । करण केसीले ६२ रन खर्चेर ३ विकेट लिए । दिपेन्द्रसिं ऐरीले २९ रन खर्चेर २ विकेट लिए । ललित राजवंशीले २२ रन खर्चेर १ विकेट लिए ।

ओमानका लागि भेट्रान मोहम्मद नदिमले सर्वाधिक ६५ रन बनाउन ८४ बल खेल्दै ७ चौका र १ छक्का प्रहार गरे । ओमानका लागि नदिमले सन्दिप गूडसँग ९६ रनको साझेदारी गर्दा ५६ बलमा ३ चौका र २ छक्का मद्दतमा गुडले ४६ रन बनाए । आयान खानले २९ र कश्यप प्रजापतिले २५ रन जोडे ।

वैशाख ११ गते नेपालले मुलपानी क्रिकेट मैदानमा साउदी अरबसँग खेल्ने छ ।  वैशाख ५ देखि वैशाख १८ सम्म चल्ने प्रतियाेगितामा नेपाल समूह ‘ए’ मा छ । समूह ‘ए’ मा नेपालसँगै ओमान, कतार, मलेसिया र साउदी अरेबिया छन् । समूह ‘बी’ मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् ।

समूहका शीर्ष दुई टिम सेमिफाइनल पुग्नेछन् । प्रतियोगिताको विजेता टिम आगामी सेप्टेम्बरमा हुने एसिया कपका लागि छनोट हुनेछ ।













0 प्रतिकृया