ईद नेपाली समाजका लागि राष्ट्रिय पर्वः प्रधानमन्त्री
एक्सन खबर
काठमाडाैं, ९ बैशाख । बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विशेषतायुक्त नेपाल र नेपाली समाजका निम्ति ईद लगायतका पर्वहरू कुनै समुदाय विशेषका मात्र पर्व नभएर राष्ट्रिय पर्वका रूपमा स्थापित रहेकाे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन् ।
इस्लाम धर्मावलम्बीहरूको महान पर्व, ईद (इदुल फित्र) को उपलक्ष्यमा शुभकामना दिँदै प्रधानमन्त्री प्रचण्डले ईद इस्लाम समुदायको सबैभन्दा ठूलो एवं महत्वपूर्ण पर्व रहेकाे उल्लेख गर्दै नेपाली समाजका निम्ति ईद लगायतका पर्वहरू कुनै समुदाय विशेषका मात्र पर्व नभएर राष्ट्रिय पर्वका रूपमा स्थापित रहेकाे बताएका हुन् ।
‘हरेक चाडपर्वहरूको आफ्नो ऐतिहासिकता र विशिष्ट महत्व हुने गर्दछ । मानव जातिले जीवनवृत्तिका क्रममा प्राप्त गरेका अनुभव, शिक्षा र ज्ञानको समुच्चय प्रक्रियाबाट नै चाडपर्वहरू विकसित र स्थापित हुँदै आएका छन् । ईद पनि यस्तो एउटा पर्व हो, जसले मुस्लिम समुदायको ऐतिहासिकता, पहिचान र संस्कृतिको प्रतिनिधित्व गर्दछ ।’ प्रधानमन्त्रीले सन्देशमा भनेका छन् ।
नयाँ संविधानले विविधतायुक्त नेपाली समाजको आत्मसातीकरणसहित सबै जाति, भाषा, धर्म, संस्कृति र पहिचानलाई समान संवैधानिक अधिकार प्रदान गरेको बताउँदै प्रधानमन्त्रीले संविधानमा व्यवस्था भएबमोजिमका अधिकारहरूको दृढतापूर्वक कार्यान्वयन गरी बलियो राष्ट्रिय एकतामार्फत् राष्ट्रिय स्वाधीनता र स्वाभिमानलाई सुदृढ गर्नु राष्ट्रिय कार्यभार हुन आएको पनि बताए ।
वर्तमान सरकार संविधानप्रदत्त अधिकारहरूको व्यवस्थित कार्यान्वयनमार्फत् सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्य हासिल गर्न दृढ संकल्पित रहेकाे प्रधानमन्त्रीकाे भनाइ छ । ईद पर्वले संविधानको प्रभावकारी कार्यान्वयनमार्फत् बलियो राष्ट्रिय एकता, समुन्नत एवं समृद्ध नेपाल निर्माण गर्ने राष्ट्रिय अभियानमा थप प्रेरणा प्रदान गर्ने प्रधानमन्त्रीले विश्वास लिएकाे उल्लेख गरेका छन् ।
0 प्रतिकृया