Follow us:


Follow us

२२ भदौ २०८३, सोमवार
२२ भदौ २०८३, सोमवार


एकीकृत समाजवादीका न्याैपाने फर्किए एमालेमा

एक्सन खबर
बैशाख, ९, २०८०


एकीकृत समाजवादीका न्याैपाने फर्किए एमालेमा

काठमाडाैं, ९ बैशाख । नेपालको कम्युनिष्ट आन्दोलनका अग्रज नेता मुकुन्द न्यौपाने ३४ जना अन्य नेता कार्यकर्तासहित नेकपा (एमाले) मा समाहित भएका छन् । नेकपा एकीकृत समाजवादीको तेस्रो वरियतामा रहेका नेता न्यौपानेले गत महिना सो पार्टी परित्याग गरेका थिए ।

न्याैपानेसँगै एकीकृत समाजवादी परित्याग गरेका स्थायी कमिटी सदस्य चुडामणि जङ्गली पनि नेकपा (एमाले) मा समाहित भएका छन् । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले उनीहरूलाई माला र खादा लगाई पार्टीमा स्वागत गरे । उनीहरू नेपाल कम्युनिस्ट पार्टी स्थापनाकाे हिरक उत्सवका अवसरमा एमालेमा प्रवेश गरेका हुन् ।
 
नेता न्यौपाने नेपालको कम्युनिष्ट आन्दोलनमा कोअर्डिनेशन केन्द्र र नेकपा (माले) का संस्थापकमध्येका एक नेता हुन् । उनीसँगै आज नेकपा (एमाले) मा समाहित हुनेहरूमा नेकपा एसकी केन्द्रीय सदस्य मुना बानियाँ, केन्द्रीय सदस्य शान्ता आचार्य, केन्द्रीय अनुशासन आयोगका सदस्य महाप्रसाद सुवेदी, केन्द्रीय लेखा आयोगका सदस्य नरेश्वर ज्ञवाली पनि छन् ।
 
यसैगरी गण्डकी प्रदेश कमिटीका सदस्यहरू, कास्की जिल्ला कमिटीका सदस्यहरू, स्याङ्जा जिल्ला कमिटीका सदस्यहरू, पोखरा महानगर कमिटीका सदस्यहरू र जनबर्गीय संगठनका सदस्यहरू गरी तीन दर्जनभन्दा बढी अगुवा कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।
 
नेपालको कम्युनिष्ट आन्दोलनलाई विभाजित तथा कमजोर बनाउने दक्षिणपन्थी अवसरवादी दिशामा नेकपा एकीकृत समाजवादीको नेतृत्व तह नै लागेको हुनाले सगर्व मुल घर नेकपा (एमाले) मा समाहित भएको उनीहरूले घोषणा गरेका छन् ।

यसैगरी संविधान सभाका सदस्य रसुवाका युवा नेता प्रेम तामाङसहित धीरज घले, रमेश घले, पुरुषोत्तम पौडेल, प्रेम विक, पेम्बा छिरिङ तामाङ लगायत करिव दुई दर्जन युवा आजै नेकपा (एमाले) मा प्रवेश गरे । माओवादीका सीता दुराल, गंगा थापा, नन्दलाल राई र शान्तमाया श्रेष्ठ पनि नेकपा (एमाले) मा प्रवेश गरे ।

पार्टीमा समाहित भएका सबैलाई अध्यक्ष ओलीले देशको विकास र जनताको सुख समृद्धि एकमात्र स्वार्थ रहेको एमालेमा सबैको भविष्य सुरक्षित रहेको बताए । अध्यक्ष ओलीले देशभक्त, परिवर्तनको चाहना राख्ने, कम्युनिष्ट कार्यकर्तालाई बुर्जुवाहरूको सेवामा समर्पित भएका पार्टीमा नबसी नेकपा (एमाले) मा समाहित हुन आह्वान गरे ।
 
कार्यक्रममा नेता मुकुन्द न्यौपानेले नेकपा माओवादी केन्द्र र नेकपा (एमाले) को एकतापछि पार्टीमा दुर्याेधनहरू पसेको र तीनको संगतले आफू दुर्घटनामा परेको र एकीकृत समाजवादीमा लागेको बताए । नेकपा एकीकृत समाजवादी पार्टी नै नभएको र गत निर्वाचनमा जनताले अस्वीकार गरिसकेपछि त्यहाँ बस्नु हुँदैन भन्ने निष्कर्षमा आफू पुगेको जिकीर गरे ।
 
त्यसैगरी सोही कार्यक्रममा आफ्नो भनाइ राख्दै प्रेम तामाङले आफू लगायतका युवाको समूह लुटी खाने बर्ग छोडेर गरी खाने बर्गको नेतृत्व गरिरहेको एमालेमा प्रवेश बताउँदै यस पार्टीले गरिब, किसान, मजदुर हित गर्ने पार्टी एमाले मात्र भएकाले सच्चा कम्युनिष्टहरू यस पार्टीमा समाहित हुनुपर्ने धारणा राखे ।













0 प्रतिकृया