Follow us:


Follow us

२२ भदौ २०८३, सोमवार
२२ भदौ २०८३, सोमवार


तीन वटै निर्वाचन क्षेत्रमा मंसिर ४ को भन्दा कम मत खस्यो

एक्सन खबर
बैशाख, १०, २०८०


तीन वटै निर्वाचन क्षेत्रमा मंसिर ४ को भन्दा कम मत खस्यो

काठमाडौं, १० बैशाख । निर्वाचन आयोगले तीनै क्षेत्रको उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको जनाएको छ । आइतबारका लागि निर्धारित बारा जिल्ला निर्वाचन क्षेत्र नं. २, चितवन जिल्ला निर्वाचन क्षेत्र नं. २ र तनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. १ को प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन शान्तिपूर्ण र उत्साहजनकरूपमा सम्पन्न भएको आयोगले जनाएको हो ।

मतदानको विवरण आयोगको सूचना प्रणालीमा प्रविष्टी हुने क्रम जारी रहेको बताउँदै आयोगले हालसम्मको प्रारम्भिक विवरण अनुसार समग्रमा करीब ६० प्रतिशत मतदान भएको जनाएको छ । ‘बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ मा ६४ प्रतिशत, चितवन जिल्ला निर्वाचन क्षेत्र नं. २ मा ६३ प्रतिशत र तनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. १ मा ५३ प्रतिशत मतदान भएको छ ।’ आयोगले भनेको छ ।

आज सम्पन्न उपनिर्वाचनमा गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचन भन्दा कम मत खसेको छ । मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा बारा २ मा ६३ दशमलव ५६ प्रतिशत, चितवन २ मा ६७ दशमलव ६३ प्रतिशत र तनहुँ १ मा ५४ दशमलव ०३ प्रतिशत मतदान भएको थियो । आयोगका अनुसार यस निर्वाचनमा तीनवटै निर्वाचन क्षेत्रमा तीन लाख ५३ हजार २४७ मतदाता रहेका थिए ।

मतदान सम्पन्न भएका सबै मतदानस्थलबाट आज साँझदेखि नै मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ढुवानीको कार्य भइरहेको आयोगले जनाएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय र स्थानीय प्रशासनबाट प्राप्त जानकारी अनुसार बारा २ का मतपेटिका मतगणनास्थल शिक्षा तालिम केन्द्र, कलैयामा साँझ ८ बजेभित्र, चितवन २ का मतपेटिका मतगणनास्थल उद्योग वाणिज्य संघको हल, भरतपुरमा राति १० बजेभित्र र तनहुँ १ को मतपेटिका मतगणनास्थल जिल्ला समन्वय समिति परिसर, दमौलीमा राति ११ बजेभित्र ढुवानी भइसक्ने गरी व्यवस्था मिलाइको छ ।

मतपेटिका मतगणना स्थलमा ल्याइसकेपछि लगत्तै प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन (मतगणना) निर्देशिका, २०७९ र मतगणनासम्बन्धी आयोगले दिएको विशेष निर्देशन बमोजिम यही वैशाख १२ गतेभित्र परिणाम सार्वजनिक गर्ने गरी मतगणना प्रारम्भ गरिने भनिएको छ ।

निर्वाचनको स्वतन्त्रता र निष्पक्षतामा कहीँ कतैबाट विवाद हुन नदिन र त्यस्तो अवस्था सृजना भएमा निर्वाचन विवाद (सुनुवाई र निरुपण) सम्बन्धी कार्यविधि, २०७६ बमोजिम विवाद निरुपण गरी कार्य गर्न आयोगले सम्बन्धित मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिएको आयोगका उपसचिव तथा सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिएका छन् ।














0 प्रतिकृया