Follow us:


Follow us

२२ भदौ २०८३, सोमवार
२२ भदौ २०८३, सोमवार


उपनिर्वाचनः चितवन २ र बारा २ मा सर्वदलीय बैठक बस्दै

एक्सन खबर
बैशाख, ११, २०८०


उपनिर्वाचनः चितवन २ र बारा २ मा सर्वदलीय बैठक बस्दै

भरतपुर, ११ बैशाख । प्रतिनिधि सभा सदस्य उपनिर्वाचनको मतगणना सुरु गर्न चितवन क्षेत्र नम्बर २ र बारा क्षेत्र नम्बर २ मा सवदलीय बैठक बस्दैछ । हिजो सम्पन्न उपनिर्वाचनमा तनहुँ क्षेत्र नं. १ को मतगणना गएराती बाटै सुरु भएतापनि बारा २ र चितवन २ मा आजमात्रै सर्वदलीय बैठक बोलाइएको छ ।

चितवन २ मा सोमबार बिहान ८ बजे सर्वदलीय बैठक बस्दैछ । सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले बिहान ८ बजे सर्वदलीय बैठक आह्वान गरिएको जानकारी दिए । सहमतिपछि मतगणना सुरु हुने बताइएको छ ।

हिजो आइतबार बस्ने भनिएको सर्वदलीय बैठक विवादका कारण बसेन । चितवन २ मा कांग्रेसले रास्वपाका उम्मेदवारमाथि परेको उजुरीबारे निर्वाचन आयोगले निर्णय गरेपछि मात्रै मतगणना सुरु हुनसक्ने अडान लिँदै आएको छ । साथै, कांग्रेसले जिल्ला प्रशासन कार्यालयका प्रमुखमाथि प्रश्न उठेकाले जवाफ दिनुपर्ने माग पनि गरेको छ ।

यहाँको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका रवि लामिछाने, नेपाली कांग्रेसका जीत नारायण श्रेष्ठ र नेकपा एमालेका राम प्रसाद न्यौपानेविच मुख्य प्रतिष्पर्धा छ । यहाँको उपनिर्वाचनमा कुल २२ जना उम्मेदवार छन् ।

यस्तै, बारा–२ बाट निर्वाचित जसपाका रामसहाय यादव उपराष्ट्रपतिमा निर्वाचित भएसँगै गरिएको उपनिर्वाचनको मतगणना सुरु गर्न सर्वदलीय बैठक आह्वान भएको छ । सोमबार बिहान ६ बजेकालागि सर्वदलीय बैठक बोलाइएको छ ।

मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले हिजो सम्पन्न उपनिर्वाचनको मतपेटिका संकलन राति नै सकिएको तथा दलका प्रतिनिधिहरुले थाकेको कारण आज सर्वदलीय बैठक बसेर गणना सुरु गर्ने तयारी भएको जानकारी दिए ।

यहाँको मतगणना शिक्षा तालिम केन्द्र, कलैयामा हुनेछ । बारामा करिब  ६३ प्रतिशत मतदान भएको छ । यहाँ जनमत पार्टीका शिवचन्द्र प्रसाद कुशवाहा, जसपाका उपेन्द्र यादव, नेकपा एमालेका रमेश खरेल लगायत विच प्रतिष्पर्धा छ ।














0 प्रतिकृया