रवि लामिछाने चितवन-२ मा भारी मतान्तरले विजयी
एक्सन खबर
काठमाडौं,१२ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) सभापति रवि लामिछाने भारी मतान्तरले विजयी भएका छन् । चितवन क्षेत्र नं. २ काे उपनिर्वाचनमा निकटतम् प्रतिस्पर्धी कांग्रेसका जीत नारायण श्रेष्ठलाई ४३ हजार बढी मतान्तरले पराजित गर्दै रवि विजयी भएका हुन् ।
लामिछानेले ५४ हजार २७६ मत प्राप्त गर्दा निकटतम् प्रतिस्पर्धी श्रेष्ठले ११ हजार २५१ मत मात्र पाए । लामिछाने र श्रेष्ठको मतान्तर ४३ हजार २५ छ । एमाले उम्मेदवार रामप्रसाद न्यौपाने १० हजार ९३५ मत पाउँदै तेश्राे स्थानमा रहे ।
पराजित दुवै उम्मेदवारले गत मंसिर ४ गतेका उम्मेदवारहरूले ल्याएकाे भन्दा कम मत प्राप्त गरे । यसअघि कांग्रेसका उमेश श्रेष्ठले १४ हजार ९८८ र एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६५२ मत ल्याएका थिए । चितवन २ मा कांग्रेस, एमालेले मंसिर ४ गते पाएकाे मतकाे समेत सुरक्षा गर्न सकेनन् ।
रविले मंसिर ४ काे निर्वाचनमा ४९ हजार ३०० मत पाएका थिए । सर्वाेच्च अदालतले रविकाे नागरिकता खारेज गरिदिएकाले चितवन २ मा पुनः निर्वाचन भएकाे हाे ।
0 प्रतिकृया