नागरिकता विधेयक संसदमा ल्याउन सांसद भगबती चौधरीको माग
एक्सन खबर
काठमाडौं, १३ बैशाख । नागरिकता विधेयक तत्काल संसदमा प्रस्तुत गर्न प्रतिनिधिसभा सदस्य भगबती चौधरीले सरकारलाई ध्यानाकर्षण गराएकी छिन् । आज बसेको प्रतिनिधि सभाको बैठकको शुन्य समयमा बोल्दै सांसद चौधरीले बाबुआमाको नागरिकता भएपनि छोराछोरीको नागरिकता नहुँदा लाखौं युवाहरु अनागरिक भएको बताउँदै तत्काल नागरिकता विधेयक पारित गर्न सरकारको ध्यानाकर्षण गराएकी हुन् ।
आफ्नै गृह जिल्ला सुनसरीमा समेत सयौं युवायुवतीहरु नागरिकता विहिन भएको दृष्टान्त प्रस्तुत गर्दै सांसद चौधरीले विभिन्न जिल्लाहरुमा नागरिकता संघर्ष समिति गठन गर्दै आन्दोलन पनि भइरहेको जनाइन् । ‘अहिले विभिन्न जिल्लाहरुमा नागरिकता संघर्ष समिति गठन भइरहेका छन् । सुनसरीमा पनि आन्दोलन गरिरहेका छन् । नेपाल सरकारलाई ध्यानाकर्षण गराउँछु कि, वेपत्ता आयोग, भ्रष्टाचार निवारण आयोग भन्दापनि सबैभन्दा जरुरतको नागरिकता विधेयक संसदमा प्रस्तुत गरियोस ।’ चौधरीले भनिन् ।
उनले आमाबाबुको नागरिकता भएपनि छोराछोरीको नागरिकता नहुँनु दुःखद भएको जनाउँदै तत्काल नागरिकता विधेयक पास गरी नागरिकता विहिन नागरिकको समस्या समाधानमा गम्भिर हुन आग्रह गरिन् ।
गठबन्धन सरकारले तत्काल नागरिकता विधेयक अगाडी बढाउने भनेपनि अन्य विधेयक अगाडी बढाउँदा नागरिकता विधेयक संसदमा दर्ता गर्न सकेकाे छैन । प्रतिनिधि सभा र राष्ट्रिय सभाले दुई पटक पारित गरेर पठाउँदा समेत तत्कालिन राष्ट्रपतिले प्रमाणीकरण नगरिदिँदा नागरिकता ऐन जारी हुन सकेन ।
नागरिकता विधेयकमा विदेशी बुहारीको विषयमा दलहरु विच कुरा मिलेको थिएन । तत्कालीन अवस्थामा नेकपा एमालेले नेपाली पुरुषसँग बिबाह गरेर आउने विदेशी महिलालाई ७ वर्षपछि मात्रै नेपाली नागरिकता (वैवाहिक अंगीकृत नागरिकता) दिनुपर्ने विषयमा अडान लिएको थियो ।
0 प्रतिकृया