‘ऐन बन्दैन भने सांसदहरूलाई ढ्याङ्ग्राे ठाेकेर लखेट्छाैं’ महावीर पुन
एक्सन खबर
काठमाडौं, १६ बैशाख । अनुसन्धान, नवप्रवर्तन र आविष्कारका निमित्त सरकारले काम नगरेकाे भन्दै आन्दाेलनमा उत्रिएका राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक महावीर पुनले सांसदहरूले काम नगरे ढ्याङ्ग्रो ठोक्दै लखेट्ने चेतावनी दिएका छन् ।
अनुसन्धान, नवप्रवर्तन र आविष्कारका क्षेत्रमा सरकार गम्भीर नभएको भन्दै शुक्रबारबाट माइतिघरमा आन्दोलन सुरु गरेका उनले आज नेताहरूले नीति निर्माणको काम नगरे ढ्याङ्ग्रो ठोक्दै लखेट्ने चेतावनी दिएका हुन् । ‘हामीले ऐन बनाउने हाे भने अस्ति नै बनाइसक्थ्याैं, ऐन बनाउने सांसदहरूले हाे । अनुसन्धान, नवप्रवर्तन र आविष्कारका विषयमा ऐन बन्दैन भने ढ्याङ्ग्राे ठाेकेर लखेट्छाैं ।’
नेता तथा सांसदहरूसँग भाषण गर्न, उद्घाटन गर्न समय मिल्ने तर कानुन बनाउन समय नमिल्ने प्रति पश्न गर्दै सांसदहरूले कानुन बनाएर देश विकासमा लाग्नुको विकल्प नरहेको बताए । अनुसन्धान, नवप्रवर्तन र आविष्कारका क्षेत्रमा आफ्नाे कुनै स्वार्थ नरहेकाे उनले बताए ।
अनुसन्धान आविष्कार नवप्रवर्द्धन गर्ने विभाग नभएको भन्दै उनले आफ्ना माग पूरा नभएसम्म धर्ना जारी रहने बताए । साथै, सबै नेताहरू आफ्नो भाषण सुन्न धर्नास्थल पुग्नुपर्ने र त्यो नसके संसद्मा आफूलाई बोल्ने व्यवस्था गरिदिन पनि आग्रह गर्दै भने–‘कि चैं मलाई संसदमा गएर बाेल्ने माैका दिइयाेस हैन भने यही सडकमा बसेर मेराे भाषण सुनाेस् ।’ बाेलेर मात्रै केहि नहुने भन्दै बाेलेर कदम चाल्ने नेताहरू चाहिएकाे पनि उनले जिकीर गरे ।
पुनले अनुसन्धान, नबप्रबर्तन र आविष्कार कोष" खडा गर्नुपर्ने, अनुसन्धान र नबप्रबर्तनको लागि हरेक बर्ष बिकास बजेटको १ प्रतिशत रकम छुट्याउनु पर्ने, प्रतिभाशाली सन्ततिहरुलाई आबश्यक अनुसन्धान, नबप्रबर्तन र आविष्कार गर्न सहयोग गर्नुपर्ने, अनुसन्धान, नबप्रबर्तन र आविष्कार प्रबर्धन, सञ्चालन तथा खरिद ऐन बनाउनु पर्ने, नव उद्यमी पहिचान र प्रबर्धन समिति बनाउनु पर्ने माग गरेका छन् ।
यस्तै, व्याबहारिक अनुसन्धान र नबप्रबर्तन बिभाग खाेल्नुपर्ने, यात्री मोटरसाइकललाई तुरुन्त लाइसेन्स प्लेट दिने ब्यबस्था गर्नुपर्ने, पुरानो गाडीहरुलाई विद्युतीय गाडी बनाउने र चलाउने अनुमति दिनुपर्ने लगायतका माग गरेका छन् ।
0 प्रतिकृया