‘हामी गर्जिएनौँ भने प्रतिक्रियावादीहरू फेरि टाउको उठाउन सक्छन्’ प्रधानमन्त्री
एक्सन खबर
काठमाडौं,१८ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ सरकार बनेको चार महिनाको अवधिमा मुलुकमा राम्रा कामकाे सुरूवात भएको बताएका छन् ।
सोमबार दिउँसो नेपाल ट्रेड युनियन महासंघको आठौँ महाधिवेशनमा सम्बोधनका क्रममा प्रधानमन्त्रीले आफ्नो नेतृत्वमा सरकार गठन भएपश्चात् राम्रो कामको सुरूवात भएको बताएका हुन् ।
‘यसअघि दसौँ वर्ष समयमै विद्यालयमा पुस्तक नपुगेर लाखौँ विद्यार्थीहरूको भविष्य अन्यौलमा थियो । तर, यसपटक समयभन्दा अगाडि नै दुर्गमभन्दा दुर्गमका विद्यालयमा पुस्तक पुगेका छन् । राजस्व संकलन बढेको छ । चोरीपैठारी घटेको छ । रेमिट्यान्स बढेको छ ।’ प्रधानमन्त्रीले विदेशमा रहेका लाखौँ नेपाली श्रमिकहरूलाई योगदानमा आधारित सामाजिक कार्यक्रममा आवद्ध गरिएकाे पनि बताए ।
तर, विरोधीहरूले राम्रा काम देख्नै नचाहेकाे उनकाे भनाइ छ,‘आँखै अगाडि राम्रा काम भएको देख्छन् । तर, राम्रो भयो भन्दैनन् । हिजो राहदानी, राष्ट्रिय परिचयपत्र लिने ठाउँमा लामा लामा लाइन थिए । अहिले लामा लाइन घटेका छन् । सेवा प्रवाहमा सुधार आएको छ । सुशासनका निम्ति राम्रो आधार तयार भएको छ । यी कामको विरोधीहरूले चर्चासमेत गर्दैनन्, त्यसैले राम्रा काम हामीले नै जनतासम्म लैजानुपर्छ।’ प्रधानमन्त्रीले भने ।
हिजो निकै ठूलो संघर्ष गरेर नै संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त भएको बताउँदै उनले यो सामान्य परिवर्तन नभएकाे जिकीर गरे । तर परिवर्तनका विरोधीहरू क्रान्तिका उपलब्धि उल्टाउन विभिन्न ढंगले लागेकाे उनकाे भनाइ छ । ‘हामी गर्जिएनौँ भने प्रतिक्रियावादीहरू फेरि टाउको उठाउन सक्छन् । रछ्यानमा मिल्किसकेका प्रतिक्रियावादी शक्तिहरूले पूरानै व्यवस्थाको सपना देख्दैछन् । त्यसैले तपाई–हामीहरू फेरि जाग्नुपर्छ।’ प्रधानमन्त्रीले भने ।
0 प्रतिकृया