इतिहास रच्दै नेपाली क्रिकेट एसिया कप छनौटमा
एक्सन खबर
काठमाडौं, १९ बैशाख । नेपाल एसिया कप क्रिकेटमा छनौट भएको छ । एसीसी प्रिमियर कपको फाइनल जितेसँगै नेपाल एसिया कप छनौट भएको हो । मंगलबार त्रिवि क्रिकेट मैदानमा युएईलाई सात विकेटले पराजित गरेसँगै नेपालले एसिया कपमा पहिलोपटक छनौट भएर इतिहास रच्यो ।
निर्धारित ५० ओभरको खेलमा नेपालले ३ विकेट गुमाउँदै युएईले दिएको ११८ को लक्ष्य पुरा गर्यो । खेलमा नेपालका ब्याट्सम्यान गुलसन झाले सर्वाधिक ६७ रन बनाए । उनले ८३ बलमा ३ चौकासँगै ६ छक्का प्रहार गरे । भीम सार्कीले ७२ बलमा ४ चौकासहित ३६ रन बनाए ।
नेपालको सुरुवाती खेल खराब रह्यो । दोस्रो ओभरको दोस्रो बलमै ओपनर कुशल भुर्तेल एक रनमा युएईका स्पिनर रोहन मुस्तफाको बलमा एलबीडब्लू आउट भए । सातौं ओभरको पहिलो बलमा आयन खानले अर्का ओपनर आसिफ शेखलाई ८ रनमा एलबीडब्लू आउट गरे । आठौं ओभरको अन्तिम बलमा मुस्तफाले कप्तान रोहित पौडेललाई १ रनमै बोल्ड आउट गर्दा नेपाल कमजोर देखिएको थियो । तर, गुलसन झा र भीम सार्कीले १०३ रनको साझेदारी गर्दा नेपालले लक्ष्य भेटाएको हो ।
सोमबार र मंगलबार टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएईले ३३.१ ओभरमा सबै विकेट गुमाउँदै १ सय १७ रनमा बनाएको थियो । सोमबार वर्षाको कारण २७.३ ओभरमा ९ विकेट गुमाउदै १ सय ६ रन बनाएको अवस्थामा खेल रोकिँदा मंगलबार ११ रन जोड्दै युएई १ सय १७ रनमा समेटिएको हो ।
फाइनल खेलमा युएईका आसिफ खानले सर्वाधिक ४६ रन बनाए । एसिया कप आगामी सेप्टेम्बरमा पाकिस्तानमा हुनेछ । समूह ‘ए’ मा नेपालसँगै भारत र पाकिस्तान हुनेछन् । समूह ‘बी’ मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् ।
0 प्रतिकृया