Follow us:


Follow us

४ वैशाख २०८३, शुक्रवार
४ वैशाख २०८३, शुक्रवार


पुस्ता हराउँदै गएका हामी संस्कार पनि विर्संदैछौं

एक्सन खबर
बैशाख, १९, २०८०


पुस्ता हराउँदै गएका हामी संस्कार पनि विर्संदैछौं

रोशन लुईंटेल
मेरो परिवार, म बसेको समाज, मेरो देश र मैले देखेको विश्वमा तीव्र गतिमा पुस्तान्तरण भइरहेको छ तर, बिडम्बना ! मेरो देशको राजनीति, राजनीतिक दल र नेताहरुका दिमागमा यो कुराले कहिल्लै ठाउँ पाएन ।

पुरातन राजनीतिलाई प्रश्रय दिने, नयाँ पुस्ताले केही गर्दा र भन्दा रोक्ने, उनीहरुका कुरा सुन्नै नचाहने सुनिहाले पनि वास्ता नगर्ने, पदमा पुगेपछि घमण्ड रुपि विमान चढेर आकाश छुने, आश्वासन बाँड्ने तर कार्यन्वयन तहमा सिन्को नभाच्ने, आफ्नो फाईदा हुने ठाउँमा चासो राख्ने, सिमित स्वार्थका झुन्ड र जमात लिएर हिँड्ने, ‘मै राजा मै मन्त्री’ जस्तो जतापनि मै हुनुपर्छ भन्ने सोच पुराना राजनीतिको रोग बन्यो । यस्तो एकलकाटे स्वभावले देश कहाँ बन्छ ? पुराना राजनीतिक दलका यस्तै स्वभावले भविष्यका कर्णधार युवा पुस्ताहरु विकल्प खोज्दै गएका पो हुन् कि !

बैशाख १० गतेको उपनिर्वाचनमा आएको नतिजा पुस्तान्तरणको ‘झिल्को’ हो । तर यसलाई हेर्नपनि केही वर्ष पर्खिनुको विकल्प छैन ।  पुस्तान्तरणसँगै पुस्ता पलायन डरलाग्दो छ । यसलाई समयमै संवोधन गर्न सकिएन भने एकाध वर्षमै मुलुकमा बुढापाखाहरु मात्रै रहनेछन् । मलामी जाने व्यक्तिहरु पनि सात गाउँबाट बोलाउनु पर्छ ।

पुस्तान्तरण गर्नुपर्ने ठाउँ चैं राजनीति हो । तर, ठिक उल्टो मेरो परिवार, मेरो समाज र मेरो देशको भने पुस्तान्तरण भइरहेको छ ।

मेरो हजुरबुबा २०२० सालमा ताप्लेजुङको नाङ्खोल्याङबाट सुखः, समृद्धी खोज्न लालाबाला बोकेर भिर पाखा, खोला नाला, जंगलको बाटो हुँदै १० दिन हिँडेर मोरङ्गको लेटाङ्ग झरेको भन्नुहुन्थो । आज त्यो बाटो एकैदिनमा पुग्ने भएको छ । मसँग २०५६ सालतिर गाउँको एउटा घरमा एक रुपैंया तिरेर श्यामश्वेत टेलिभिजनमा रामायण र चन्द्रकान्ता हेरेको सम्झना छ । टि.भी.भित्र कसरी मान्छे छिरे ! अचम्म लाग्थ्यो । ५९÷६० सालपछि होला गाउँमा पहिलोपल्ट बिजुली बलेको । टुकीको सहारामा बसेको बेला झलमल बिजुली आएको खुशीयालीमा खसी काटेर मासुभात खाएका थियौं ।

मर्दापनि कुर्सीमै बसेर मर्न पाउनुपर्छ भन्नेहरु छन् । तीनको मृत्यु पर्खेर बस्दा आफ्नै दाँत हल्लिइसकेको, आँखा कमजोर भइसकेको, प्रेसर र सुगरले गलाइसकेको हुन्छ । त्यस्तो बेला लक्का जवानको जस्तो सोच र जाँगर कहाँ रहन्छ र ?


मोबाइल बोक्न, इमेल इन्टरनेट चलाउन थालेको अढाई दशक हुँदैछ । फेसवुक, ट्विटर दुई दशकमा लाग्दैछन् । इन्ष्टाग्राम, टिकटक भर्खरै आएका हुन् । भर्चुवल दुनियाँमा प्रवेश गरेको दुई दशक नपुग्दै हाम्रो पुस्तामा ठूलै परिवर्तन आएको छ । सायद, विज्ञान र प्रविधि नहुँदो हो त संभव थिएन । विज्ञानले विकास त दियो साथै, हाम्रो सामाजिक, सांस्कृतिक, पारिवारिक संरचनालाई चैं ध्वस्त बनायो ।

दुई दशकको अवधिमा उच्चशिक्षा अध्ययन गर्ने बहानामा होस की रोजगारीको खोजीमा कुनै न कुनै रूपमा देश छोड्ने युवाहरुको संख्या बढ्दो छ । गएको पाँच वर्षमा मात्रै ३४ लाख बढि नेपाली युवा विदेशिएको पछिल्लो एक सर्वेक्षणले बताएको छ । यसरी लाखौं युवाहरु अवसरको खोजीमा विदेशिनु पक्कैपनि ठिक हैन । तर, हाम्रो राजनीति, त्यसले बनाएको सिस्टम र अदुरदर्शी बुज्रुकहरुको सत्ता लिप्साले दैनिक १५ सय युवाहरु सात समुन्द्र पारी गइरहेको टुलुटुलु हेर्नु वाहेक के नै पो गर्न सकिन्छ र ! युवालाई रोक्ने नीति र कार्यक्रमले हो । नीति र कार्यक्रम राजनीतिले बनाउँछ तर, हाम्रो त राजनीतिको मुहान नै धमिलिएको छ ।

राजनीतिक दलका नेताहरुले आफ्ना हरेक भाषणमा ‘युवाहरु देशको मेरुदण्ड हुन्’ भन्दै काख च्यापेजस्तो गर्छन् । तर, व्यवहारतः युवाहरुलाई ठाउँ र अवसर दिने बेलामा पाखा लगाए । कुनैपनि देश विकास हुन युवा जनशक्तिको मुख्य भूमिका हुनुपर्छ भन्नेमा दुईमत छैन । भाषणमा जसरी युवाको कुरा गरिन्छ, कार्यान्वयन पनि गरे देश बन्न समय लाग्दैन । राजनीतिमा युवाहरुको सहभागिता बढेपो सृजनशिलता, गतिशिलता बढ्छ । मर्दापनि कुर्सीमै बसेर मर्न पाउनुपर्छ भन्नेहरु छन् । तीनको मृत्यु पर्खेर बस्दा आफ्नै दाँत हल्लिइसकेको, आँखा कमजोर भइसकेको, प्रेसर र सुगरले गलाइसकेको हुन्छ । त्यस्तो बेला लक्का जवानको जस्तो सोच र जाँगर कहाँ रहन्छ र ?

जन्मदिने आमाब्बाले आफ्ना सन्तानप्रति आशा र भरोसा गर्नु अस्वभाविक हैन । तर, युवाहरुको बढ्दो पलायनले बाआमाहरुमा ‘बुढेसकालको सहारा छोराछोरी हुन्’ भन्ने विस्वास भत्किँदै गएको छ । जन्मेदेखि हुर्किएसम्म आफ्नै देशको माटोमा खर्चेकाहरु सुरक्षित भविष्य खोज्दै विदेश पलायन हुनु दुर्भाग्य हो । यसको कारककत्व निमिट्यान्न गर्ने राजनीति नै हो ।

त्यसो त विदेश भन्ने वित्तिकै नेपालमा बसेर सोचेको सम्झेको जस्तो छैन । बाआमाको बुई चडेर घुर्की लगाई लगाई बाइक र स्कुटीमा घुमेजस्तो सजिलो पनि छैन । जिन्दगीलाई नजिकबाट नियाल्न एकपटक विदेश जानुपर्छ तर, जन्मदिने बाबुआमा, दाजुभाई, साथीसङ्गी नै छाडेर पराया देशमा सेटल हुनु चैं गलत हो । स्वदेशमा अवसर छैन भन्दैमा विदेश भासिनुको सट्टा स्वदेशमै संघर्ष गर्नु जीवन हो । एकाध वर्ष विदेश गएर काम गरेर, अध्ययन गरेर फर्किएर त्यो अनुभव निखार्नु पौरख हो ।

१६ वर्ष भएछ,‘आई हाल्छू दाजु’ भन्दै बिदेशीएको मेरो भाईलाई एयरपोर्टबाट विदाई गरेजस्तै आफन्त दाजुभाई दिदिबहिनीलाई विदाई गर्न थालेको । यस अवधिमा हाम्रो घर परिवारका मात्रै १८ जनालाई विदाई गरिसकेको रहेछु । एक दशकमा विदेश पलायन भएका मेरो परिवार त केवल एउटा प्रतिनिधि पात्र मात्र हुन् । त्यस्ता पात्रहरु अहिले हरेक घरपरिवारमा भेटिन्छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान विन्दुमा एकछिन उभिएर हेरियो भने हजारौंको संख्यामा मातृभूमी छोड्नको लागि तछाडमछाड गर्दै गरेको भीडमा वृद्ध बुवाआमाहरु आँखा भरी आँसु बगाउँदै उठ्न नसकेका विदाईका हातहरु जबर्जस्ती हल्लाउँदै आफ्ना सन्ततिलाई विदा गरेको कारुणिक दृश्यले मन भतभति पोल्छ । छोरो भविष्य खोज्ने अभिलाषामा विदेशियो तर, बाआमालाई स्याहार्न, काँध थाप्न आइपुग्ला कि नपुग्ला !

उचित रणनीति बनाउन सकेनौं भने भोलीका दिनमा डरलाग्दो तवरले पुस्तान्तरणको समस्या झेल्नुपर्ने हुन्छ । सिमांकनका हिसाबले राष्ट्र रहला तथा नाता सम्बन्ध, संस्कार संस्कृतिले राष्ट्र रहँदैन ।


युवाहरु लगातार विदेशिँदा अहिले गाउँघर शुन्य छ । विवाह, व्रतबन्ध तथा मर्दापर्दा लास बोकेर आर्यघाटसम्म पुर्याउन समेत मान्छे पाइन्न । सुन फल्ने खेतबारी बाँझा छन्, डाँडाकाँडा नाङ्गिएर उराठलाग्दा छन् । हाट बजार हराएका छन् । मेलापात रित्तिएका छन् । मौलिक उत्पादन हराउँदैछन् । आजभोली नै युवाहरुलाई पलायन हुनबाट नरोक्ने हो भने भोली हरेक घरमा बृद्धबृद्धाहरु मात्र रहन्छन् । उसैपनि राष्ट्र, राष्ट्रियता, अखण्डता वाहेक ९० प्रतिशत सामान विदेशीको भरपर्नुपर्ने बाध्यता अहिले नै छ । एकाध वर्षमा त्यो पनि संकटमा नपर्ला भन्न सकिन्न ।

हाम्रो संस्कार संस्कृति र परम्परा ध्वस्त हुँदै गएको कसले हेर्ने ? अस्ति दुई महिना अगाडी अमेरिकाबाट भाञ्जाहरुको ब्रतबन्ध (चुडा कर्म) गर्नुपर्यो भन्दै दिदी भाञ्जाहरु लिएर आउनु भयो । परम्परा अनुसार पहेलो बस्त्र लगाएर जनै लगाई दिनुभयो तर, भान्जाहरुलाई त्यसको न अर्थ थाहा थियो नत महत्व नै । आफन्तहरुको त कुरै छाडौं आफ्नै मामा माइजू हजुरबुबा, हजुरआमालाई भाञ्जाहरुले चिनेनन् । मेरो छोरीले छेउमा गएर ‘हेल्लो दादा’ भन्दा विचरा हेरेको हेरै । काकाकाकी, दाजुभाई, दिदीबहिनी, मामामाइजु, फुपुफुपाजु त बिरानो भइसके । सायद आधुनिक समाजको उपज हो । संस्कार, संस्कृति, परम्परालाई विज्ञान, प्रविधि र आधुनिकतासँगै जोगाउन सकिन्छ भन्ने कोरिया, जापान, चीन जस्ता देशबाट कहिले सिक्ने होला ?

हाम्रा पुस्ताहरु पहाडबाट मधेस, मधेसबाट सहर हुँदै राजधानी, राजधानीबाट विदेश गए । अब हाम्रो पछाडिको पुस्ता विदेशबाट मङ्गल ग्रह जान्छन् होला । एलन मस्कले भनेका छन्,‘मानिसले कुनै न कुनै दिन पृथ्वी छोड्नुपर्छ ।’ त्यसका लागि नै होकी उनले मंगल ग्रहमा मानव वस्ती बनाउन लागेका । मंगल ग्रहमा जाने भन्दैमा आफ्नै घर भत्काउनु त भएन ।

युवाहरुलाई विदेश पलायन हुनबाट रोक्न स्वदेशमै रोजगारीको ग्यारेन्टी, सबै खालका श्रमको सम्मान र सामाजिक सुरक्षाअन्तर्गत बेरोजगारलाई बाँच्न पुग्ने भत्ताको व्यवस्था, उद्योग एवम् व्यापारमा विदेशी तथा स्वदेशीले लगानी गर्ने वातावरण हुनुपर्छ ।  विश्वविद्यालयमा दिइने शिक्षा व्यवहारपयोगी हुनुपर्छ । उच्च शिक्षा हासिल गर्नेहरू स्वदेशमै काम गरेर बस्ने वातावरण बनाउनु पर्छ । तर, राजनीतिज्ञका भाषणमा मात्र यस्ता कुराहरु सिमित भए । झुटको राजनीति गर्ने ‘बा’हरुले समय नघर्कदै बुझुन् ।

त्यसो त पुस्तान्तरण समस्या हाम्रो देशको मात्र हैन । यो विश्वका धेरै देशहरुमा विकराल भएको छ । खासगरी विकासोन्मुख, गरिबीको रेखामुनी रहेका देशमा । बिकसित राष्ट्रले जनशक्ति अभाव झेल्न विभिन्न प्रलोभन देखाएर गरिब मुलुकबाट बर्सेनी लाखौंको संख्यामा आवासिय भिषा, ग्रिन कार्ड दिएर नागरिक बनाएर घट्दो जनसंख्या दरलाई समेत नियन्त्रण गर्न खोजिराखेका छन् । यसलाई चाँडै बुझेर हामीले उचित रणनीति बनाउन सकेनौं भने भोलीका दिनमा डरलाग्दो तवरले पुस्तान्तरणको समस्या झेल्नुपर्ने हुन्छ । सिमांकनका हिसाबले राष्ट्र रहला तर नाता सम्बन्ध, संस्कार संस्कृतिले राष्ट्र रहँदैन । चेतना भया ।













0 प्रतिकृया