प्रेस स्वतन्त्रता समाज र लोकतान्त्रिक प्रणालीको अभिन्न विषयः प्रधानमन्त्री प्रचण्ड
एक्सन खबर
काठमाडाैं, २० बैशाख । प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ ले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितताका लागि आवश्यक कानुन र संरचना बनाइने प्रतिवद्धता व्यक्त गरेका छन् । विश्व प्रेस स्वतन्त्रता दिवसकाे अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री प्रचण्डले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितताका लागि आवश्यक कानुन र संरचना बनाइने बताएका हुन् ।
प्रधानमन्त्रीले नेपालको संविधानको मूल मर्म र भावना एवम् संघीय लोकतान्त्रिक गणतन्त्रको उद्देश्यअनुरूप नेपाली सञ्चार क्षेत्रको पुनर्संरचना अहिलेको प्रमुख आवश्यकता रहेकाे पनि बताएका छन् ।
यस्तै, श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन, पत्रकारको दक्षता अभिबृद्धिका लागि आमसञ्चार प्रशिक्षण प्रतिष्ठानको स्थापना, सार्वजनिक सेवा प्रसारक संस्थाको स्थापना, सञ्चारमाध्यमको नियमनका लागि आमसञ्चार प्राधिकरण जस्ता निकायको स्थापना, प्रेस काउन्सिलको पुनर्संरचना, सञ्चारमाध्यमलाई सञ्चार सेवा उद्योगको मान्यता, विज्ञापन बोर्डमार्फत् सरकारी विज्ञापनको समानुपातिक वितरण, पत्रकारका लागि दुर्घटना तथा स्वास्थ्य बीमा, जेष्ठ तथा अशक्त पत्रकारलाई जीवन निर्वाहभत्ताको व्यवस्था एवं एकीकृत आमसञ्चार विकास कोषको स्थापनाका लागि सरकारका तर्फबाट पहल भइरहेको पनि जनाएका छन् ।
‘प्रेस स्वतन्त्रता प्रेसको मात्र मुद्दा होइन, यो समग्र समाज र लोकतान्त्रिक प्रणालीको अभिन्न विषय हो । लोकतन्त्रको सुदृढीकरणका लागि स्वतन्त्र प्रेसको महत्व सरकारले बुझेको छ । नेपालमा संवैधानिक दृष्टिले पूर्ण प्रेस स्वतन्त्रताको संरक्षण गरिएको छ ।’ जारी सन्देशमा भनिएकाे छ ।
पूर्ण प्रेस स्वतन्त्रता कार्यान्वयनमा ल्याउन सरकारले सञ्चार क्षेत्रको संरक्षण, सम्वर्धन एवं विकासका निम्ति यसको पुर्नसंरचना, नीतिगत र कानुनी सुधारका क्षेत्रमा जोड दिएको साथै सञ्चार क्षेत्रले पनि आफूलाई मर्यादित, जिम्मेवार र जवाफदेही बनाउन स्वनियमन प्रणालीको विकास गर्नसमेत प्रधानमन्त्री प्रचण्डले आग्रह गरेका छन् ।
प्रेस स्वतन्त्रता दिवसबाट राष्ट्रियता, संघीय लोकतान्त्रिक गणतन्त्र, नागरिक अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, पत्रकारको अधिकार र सञ्चारमाध्यमको हितका पक्षमा दृढतापूर्वक उभिई पत्रकारिताको विकासका साथै नेपाल र नेपाली जनताको हितमा काम गर्न सबैलाई प्रेरणा मिलोस् भन्ने शुभकामना दिएका छन् ।
सन् १९९३ मा संयुक्त राष्ट्रसंघको साधारणसभाले घोषणा गरेपछि हरेक वर्ष मई ३ लाई विश्व प्रेस स्वतन्त्रता दिवसकारूपमा मनाइँदै आइएको छ । नेपाल पत्रकार महासंघ, प्रेस चाैतारी, नेपाल प्रेस युनियन तथा प्रेस सेन्टरले पनि शुभकामना जारी गरेका छन् ।
0 प्रतिकृया