कांग्रेसका तीन नेता मन्त्री बनेपनि मन्त्रिपरिषदले पाएन पूर्णता
एक्सन खबर
काठमाडाैं, २० बैशाख । मन्त्रिपरिषदमा कांग्रेसका तीन मन्त्री थपिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेसका तीन जना नेतालाई मन्त्रिपरिषदमा सहभागी गराएका हुन् ।
कांग्रेसबाट मन्त्री बन्नेहरूमा उपसभापति धनराज गुरुङ, माेहनबहादुर बस्नेत तथा डिगबहादुर लिम्बु रहेका छन् । गुरूङ कानुन न्याय तथा संसदीय मामिला, बस्नेत स्वास्थ्य तथा जनसंख्या र लिम्बु युवा तथा खेलकुदमन्त्री बनेका हुन् ।
प्रधानमन्त्रीको सिफारिसमा उनीहरुलाई बुधबार नै राष्ट्रपतिले मन्त्री नियुक्त गरेकाे राष्ट्रपति कार्यालयले जनाएको छ । नवनियुक्त मन्त्रीहरुको बिहीबार अपरान्ह ३ बजे शपथ ग्रहण हुनेछ ।
तीन जना मन्त्री नियुक्ति गरेपनि मन्त्रिपरिषदले अझै पूर्णता पाएकाे छैन । अझै वन तथा वातावरण र खानेपानी मन्त्रालय खाली छ । यी मन्त्रालय प्रधानमन्त्रीकाे मातहतमा छ ।
२२ सदस्यीय मन्त्रिपरिषदमा नेपाली कांग्रेसबाट आठ जना मन्त्री बनेका छन् । नेकपा माओवादी केन्द्रबाट प्रधानमन्त्रीसहित पाँच, र दुइ राज्यमन्त्री, जनता समाजवादी पार्टीबाट एक जना, नेकपा एकीकृत समाजवादीबाट दुइ मन्त्री र एक राज्यमन्त्री गरी तीन जना, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नेपाल समाजवादी पार्टीका एक/एक जना रहेका छन् ।
0 प्रतिकृया