गाैतम बुद्ध भाैतिकवादी र द्वन्द्ववादी दुबैः प्रधानमन्त्री प्रचण्ड
एक्सन खबर
काठमाडाैं, २२ बैशाख । गाैतम बुद्ध भौतिकवादी र द्वन्द्ववादी दुबै भएकाे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन् । वर्गीय समाज र दुःखको सार्वभौम चरित्रको वस्तुगत धरातलमा उभिएर उनले भिक्षु संघको परिकल्पना र अभ्यास दुबै गरेकाे उल्लेख गर्दै उनले बुद्धको ज्ञान, आदर्श र शान्तिको मार्ग विश्वभरि नै अद्वितीय रहिआएको बताएका छन् ।
२५६७ औं बुद्ध जयन्तीको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री प्रचण्डले नेपालको लुम्विनीमा जन्मिएका बुद्धको ज्ञान, आदर्श र शान्तिको मार्ग विश्वभरि नै अद्वितीय रहिआएको बताएका छन् । ‘बुद्ध भौतिकवादी र द्वन्द्ववादी दुबै हुनुहुन्थ्यो । वर्गीय समाज र दुःखको सार्वभौम चरित्रको वस्तुगत धरातलमा उभिएर उहाँले भिक्षु संघको परिकल्पना र अभ्यास दुबै गर्नुभयो ।’ प्रधानमन्त्रीले भनेका छन् ।
दर्शनको क्षेत्रमा मात्र नभएर चिन्तन र समाज विज्ञानको क्षेत्रमा गाैतम बुद्धको योगदान विश्वव्यापी रूपमा सर्वमान्य रहेकाे जनाउँदै प्रधानमन्त्रीले पूर्वीय दर्शन र सभ्यताको पछिल्लो युगमा बुद्ध सबैभन्दा प्रख्यात र मान्य व्यक्तित्व भएकाे पनि बताएका छन् ।
नेपालको भूमिमा जन्मिएका शान्तिका अग्रदुत बुद्धले सम्पूर्ण मानव जातिको कल्याणको संकल्पसहित गृहत्याग गरी कठोर परिश्रमबाट बोधीज्ञान प्राप्त गर्नुभएको प्रसङ्ग आज पनि उत्तिकै महत्वपूर्ण मानिएकाे बताउँदै प्रधानमन्त्री प्रचण्डले बुद्धको दर्शन र विचारले अहिंसा, सद्भाव, मानव कल्याण र मानिसकै जीवनमा शान्तिको बाटो देखाएकोले उनका विचारहरू विश्वभरि लोकप्रिय र कालजयी रहन सकेकाे पनि उल्लेख गरेका छन् ।
‘मानव जातिको सर्वाङ्गीण हित र शान्तिका लागि उहाँले गर्नुभएको त्याग, लिनुभएको विचार र अभ्यास नेपालीहरूका लागि विशेष ऐतिहासिक गौरवका विषय हुन् । आजको सन्दर्भमा बुद्धको दर्शन र शिक्षाप्रति गौरव गर्दै मानव जातिको हितका पक्षमा आपसी सद्भाव, सहकार्य एवं एकताका साथ अग्रसर हुनु नै बुद्धप्रति सच्चा सम्मान हुन जान्छ ।’ प्रधानमन्त्रीले भनेका छन् ।
यस्तै, उनले किरातहरूको महान् पर्व उभौलीको अवसरमा पनि शुभकामना व्यक्त गरेका छन् । नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त स्वाधीन र समुन्नत मुलुक रहेकाे उल्लेख गर्दै उनले हाम्रा चाडपर्व, भेषभुषा, संस्कार–संस्कृतिहरू राष्ट्रिय एकताका सेतुमात्र नभएर समुन्नत नेपाल निर्माणका आधारशीला भएकाे जनाएका छन् ।
‘ऐतिहासिक कालदेखि आफ्नो जीवनवृत्तिका क्रममा विभिन्न जाति र समुदायले हासिल गरेका अनुभव र प्राप्त ज्ञानको श्रृंखला नै सभ्यता र संस्कृतिको स्रोत पनि हो । यस अर्थमा नेपालका विभिन्न जातिहरूले मनाउने पर्वहरू हाम्रा ऐतिहासिक गौरवगाथा र प्रेरणाका स्रोत हुन् ।’ प्रधानमन्त्रीकाे सन्देशमा भनिएकाे छ ।
कृषि युगमा प्रवेश गरेपश्चात् प्रचलनमा आएको उभौली पर्व हाम्रोजस्तो कृषिप्रधान मुलुकका लागि थप प्रेरणादायी र सन्देशमुलक रहेकाे बताउँदै प्रधानमन्त्रीले प्रकृतिलाई खुसी तुल्याएर भूमिबाट बढीभन्दा बढी लाभ लिने परम्परा संस्कृतिका दृष्टिले मात्र नभएर समृद्धि र विकासको चेतबाट समेत वैज्ञानिक र प्रगतिशील देखिएकाे भन्दै उधौली पर्व किरात समुदायका साथै उत्पादनशील चेतका समस्त नेपालीहरूको समेत पर्वको रूपमा स्थापित हुँदै गएको जिकीर गरेका छन् ।
0 प्रतिकृया