रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लियो
एक्सन खबर
काठमाडाैं, २२ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । शुकबार बसुन्धरास्थित केन्द्रीय कार्यालयमा जारी केन्द्रिय समिति र संसदीय दलको संयुक्त बैठकले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वकाे सरकारलाई दिएकाे समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
बैठक पछि पत्रकार सम्मेलनमा बाेल्दै रास्वपाका सभापति रवि लामिछानेले भ्रष्ट्राचार, अनियमितताका फायलहरू खाेल्ने विषय सरकारका न्यूनतम साझा कार्यक्रममा समावेश नभएकाे र जनताले पनि रास्वपालाई प्रतिपक्षमै बसेकाे हेर्न चाहेकाले सरकारलाई दिएकाे समर्थन फिर्ता लिने निर्णय गरिएकाे बताए ।
सभापति लामिछानेले लामिछानेले सरकारलाई दिएको समर्थन फिर्ता लिए पनि विपक्षी गठबन्धन बनाएर अस्थिरता गराउँदै नहिँड्ने बताए । आफूहरु अब जिम्मेवार र रचनात्मक प्रतिपक्षको भूमिकामा रहने लामिछानेले बताए ।
एमालेसँग गठबन्धन बनाउँने प्रसंगमा तत्काल त्यस्तो प्रस्ताव नआएको र आफूहरु संगठन निर्माणमा लाग्ने लामिछानेकाे दावी छ । एमाले अध्यक्षबाट प्रधानमन्त्रीको प्रस्ताव आएको विषयमा उनले भने,‘तर मलाई आएको छैन र उहाँले नै भनिसक्नुभयो । अहिले एमालेसँग मिलेर विपक्षी गठबन्धन बनाउँने प्रस्ताव आएको छैन । तर अस्थिरता आउँछ भन्दैमा सरकारले बाटो बिराएर गयो, आम जनताको पक्षमा काम गरेन भने राजनीतिक दलले कदम चाल्नुपर्ने हुन्छ ।’
गत पुस १० गते रास्वपाले पुष्पकमल दाहाल नेतृत्वको गठबन्धन सरकारमा सहभागी भएको थियो । माघ २२ गते रास्वपा सरकारबाट बाहिरिए पनि समर्थन भने फिर्ता लिएको थिएन् । रास्वपाले उपप्रधानमन्त्रीसहित गृह, शिक्षा र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्वास्थ्य राज्यमन्त्री लिएर सरकारमा सहभागी भएको थियो ।
0 प्रतिकृया