रिताको परिवारलाई फरवार्ड दियो तीन लाख
एक्सन खबर
सुनसरी, २३ बैशाख । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले कर्जा बीमा रकम हस्तान्तरण गरेको छ । सुनसरी, रामधुनी नगरपालिका २ बुधनगरकी ३१ वर्षीय रिता चौधरीको अकालमा मृत्यु भएपछि उनको परिवारलाई फरवार्डले क्रिया खर्च सहित कर्जा बीमा रकम प्रदान गरेको हो ।
निम्न आयश्रोत भएकी रिताले फरवार्डबाट २०७९ असारमा २ लाख ५० हजार रुपैंया कर्जा लिएकी थिइन्् । पाँचौ किस्तासम्म नियमित बुझाईरहेकी रिताको गत पुस १४ गते असामयिक निधन भएको थियो । रिताको १४ गते बिहान सुतिरहेकै अवस्थामा स्वासप्रस्वासमा समस्या भएपछि उपचारका लागि अस्पताल लजाने क्रममा मृत्यु भएको थियो ।
चार सन्तानकी आमा रिताले चार महिनाको दुधे बालकलाई समेत अल्पायुमै छाडेर गएपछि फरवार्डबाट लिएको कर्जा कसरी तिर्ने तनाबमा परेको परिवारलाई उल्टै कर्जा बीमा रकम र क्रिया खर्च प्राप्त भएपछि राहत मिलेको छ ।
फरवार्डकी कोशी प्रदेश प्रमुख शोभा बराल लगायतको टोलीले शुक्रबार रिताको घरमै पुगेर श्रद्धाञ्जलीसँगै कर्जा बीमा बापतको रकम वितरण गरेको हो । रिताका श्रीमान तुलसी चौधरीलाई कर्जा बीमाको रकममा ५० हजार क्रिया खर्च समेत थप गरी तीन लाख रुपैंया भुक्तान गरिएको फरवार्डकी कोशी प्रदेश प्रमुख बरालले जानकारी दिइन् ।
मृतक चौधरीले श्रीमानलाई बैदेशिक रोजगारीमा पठाउन फरवार्डबाट कर्जा लिएकी थिइन् । विविध कारणले श्रीमान बैदेशिक रोजगारी जान नसकेपछि रिताले पशुपालन गर्दै किस्ता तिरिरहेकी थिइन् ।
फरवार्डले आफ्ना ग्राहक सदस्यहरुले लिएको कर्जाकोसमेत बीमा गरिदिने र कथंकदाचित उनीहरुको विचमै निधन भएमा सम्पूर्ण कर्जा मिनाहा गरी उसलाई बीमा रकम दिइने गरिएको छ । साथै, ग्राहक सदस्यको परिवारलाई क्रिया खर्चका रुपमा पनि रकम दिने गरेको छ ।
सुनसरीको दुहवीमा प्रधान कार्यालय रहेको फरवार्ड माइक्रोफाइनान्सले देशका ४० जिल्लाहरुमा १६० भन्दा बढी शाखा मार्फत लघुवित्त कार्यक्रम चलाईरहेको छ । फरवार्डमा आबद्ध भएर लघुवित्त कार्यक्रममार्फत हज्जारौं महिलाहरु उद्यमी र स्वावलम्बी बनेका छन् । फरवार्ड माइक्रोफाइनान्स महिला अधिकारकर्मी, राजनीतिज्ञ, समाजसेवी भगबती चौधरीको नेतृत्वमा स्थापित वित्तीय संस्था हो । हाल नेतृ चौधरी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएर गएकी छिन् ।
0 प्रतिकृया