Follow us:


Follow us

१७ वैशाख २०८३, बिहिवार
१७ वैशाख २०८३, बिहिवार


७० वर्षपछि बेलायतमा नयाँ राजाले पहिरिए राजमुकुट

एजेन्सी
बैशाख, २३, २०८०


७० वर्षपछि बेलायतमा नयाँ राजाले पहिरिए राजमुकुट

एजेन्सी । बेलायतका राजा चार्ल्स तृतीय र रानी क्यामिलियाले राजमुकुट पहिरिएका छन् । ७० वर्षपछि शनिबार वेष्टमिनिस्टर एबीमा आयोजित राज्याभिषेक कार्यक्रममा उनीहरूलाई राजमुकुट लगाइदिइएको हो ।

उक्त कार्यक्रममा राजा चार्ल्सले उनका हजुरबुवाको क्रिमशन भेल्भेट रोब पहिरिएका थिए । राजमुकुट लगाइदिनु अघि उनले शपथ लिएका थिए । साथै पवित्र तेलले अभिषेक गरिएको थियो ।

त्यसपछि रानी क्यामिलियालाई पनि सोही प्रक्रियाबाट रानी मेरीको राजमुकुट लगाइएको थियो । कार्यक्रममा राजपरिवार, विभिन्न देशका नेता, सेलिब्रिटीलगायत २ हजार २०० मानिसहरू सहभागी थिए ।

२.२३ किलो तौलको सुन र हिरा जवाहरात जडित उक्त श्रीपेच राजाहरुले राज्याभिषेकका बेलामात्रै पहिरन्छन् । 'हामी यहाँ एक जना राजालाई राजमुकुट लगाइदिन उपस्थित भएका छौं र राजाले सेवा गरुन् भनेर उनलाई राजमुकुट पहिर्‍याउन लागिएको हो', आर्चबीसप अफ क्यान्टरबरीले भने । उनले 'गड सेभ द किङ’ भनेपछि उपस्थित पाहुनाहरुले पनि उक्त भनाइ दोहोर्‍याएका थिए ।

सन् १९५३ मा महारानी एलिजावेथ द्वितीयाको राज्याभिषेक यहीँ भएको थियो । बेलायतमा विगत ९०० वर्षदेखि वेस्टमिन्स्टर आबीमा राजाहरुको राज्याभिषेक हुने गरेको छ । उक्त गिर्जाघरमा राज्याभिषेक हुने चार्ल्स ४०औं राजा हुन् ।

बेलायतको इतिहासमै सबैभन्दा बढी सात दशकसम्म शासन गरेकी महारानी एलिजावेथ द्वितीयाको गत वर्ष सेप्टेम्बरमा निधन भएपछि उनका जेठा छोरा युवराज चार्ल्सले ७३ वर्षको उमेरमा गद्दी आरोहण गरेका थिए । चार्ल्स् संसारमै सबैभन्दा बढी उमेरका राजा हुन् ।

राज्याभिषेक उनीहरू बकिङ्हम प्यालेस फर्किने कार्यक्रम छ । उनीहरू फर्किएको हेर्न हजारौं मानिसको भीड समेत लागेको बिबिसीले जनाएको छ। उनीहरूले पछि प्यालेसको बाल्कोनीबाट सम्बोधन गर्ने बताइएको छ ।




















0 प्रतिकृया