संविधान संशोधनका निम्ति राज्यसँगको लडाइ जारी छः खानेपानी मन्त्री
एक्सन खबर
एसपी यादव
सर्लाही, ६ जेठ । संघीय सरकारका खानेपानी मन्त्री महिन्द्र राय यादवलाई शनिबार गृह जिल्ला सर्लाहीमा भव्य स्वागत गरिएको छ । मन्त्री यादवलाई सर्लाहीको हरिपुर्वा नगरपालिका र पर्सा गाउँपालिकामा पार्टीका नेता तथा कार्यकर्ताहरुले भव्य स्वागत गरेका छन् ।
मन्त्री यादव पुर्व निर्धारित कार्यक्रम अनुसार पर्सा बजारमा नेपाल समाजवादी पार्टी, जिल्ला समन्वय समिति तथा पर्सा गाउँपालिका समिति सर्लाहीद्वारा आयोजित बृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न शनिबार सर्लाही पुगेका थिए ।
बृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले नेपालको संविधानले मौलिक हकको रुपमा स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँच तथा स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हकको व्यवस्थालाई उच्च प्राथमिकता राखेर आफुले जनताको हितमा काम गर्ने बताए । मौलिक हकको व्यवस्था र खानेपानीको शुद्धताको सवालमा कसैसँग कुनै प्रकारको सम्झौता नगरिने प्रतिबद्धता समेत उनले जनाए ।
दिगो विकास लक्ष्य अन्तर्गत खानेपानी तथा सरसफाइको क्षेत्रलाई विषेश प्राथमिकता राखेर नेपाली जनतालाई स्वच्छ खानेपानी र सरसफाइको पहुँचमा ल्याउन आफु लागिपरेको उनले बताए ।
मन्त्री यादवले उत्पीडन र विभेदमा परेका समुदायको न्याय, अधिकार, विकास तथा स्वाभिमानको लागि हिमाल, पहाड र मधेसलाई जोड्ने पार्टी नेपाल समाजवादी पार्टी रहेको जिकीर गरे । संविधान, लोकतन्त्र, पहिचान र अधिकारको रक्षा, समानुपातिक, समावेशी प्रतिनिधित्व र संविधान संशोधनका निम्ति नेसपाले राज्यसँगको लडाइ जारी राखेको मन्त्री यादवकाे भनाइ छ ।
सत्तारुढ गठबन्धनको सरकारले संविधानमा रहेका त्रुटिहरु सच्याउने देखि देश, जनता र लोकतन्त्रको रक्षा पनि गर्ने मन्त्री यादवले ठोकुवा गरे । यो गठबन्धनको सरकारमा नीति, सिद्धान्त र मूल्य मान्यताको राजनीतिलाई अगाडि बढाएर देशको हितमा सबैलाई काम गर्न मन्त्री यादवले सुझाव समेत दिए ।
२०७९ चैत १७ गतेको मन्त्रीपरिषद् विस्तारमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा नियुक्त भएका महिन्द्र राय यादवको २०८० बैशाख २४ गते आइतबारका दिन नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम कार्यभार फेरिएर खानेपानी मन्त्रीमा नियुक्त भएका थिए ।
मन्त्री यादव सर्लाही निर्वाचन क्षेत्र नं. २ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभा सदस्य तथा नेसपाका राष्ट्रिय अध्यक्ष हुन् । वृहत पार्टी प्रवेश कार्यक्रममा आकर्षणको केन्द्र पर्सा गाउँपालिकाका पुर्व अध्यक्ष एवं नेकपा एमाले पार्टीको तर्फबाट २०७९ सालको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा सर्लाही क्षेत्र नम्बर २ को 'क' बाट प्रदेशसभा सदस्य पदमा चुनाव लडेका किशुन देव यादव रहेका थिए । उनी नेकपा एमाले परित्याग गरि नेसपामा प्रवेश गरेका छन् । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि सयौंको संख्यामा नेता तथा कर्याकर्ताहरु नेसपामा प्रवेश गरेका छन् ।
0 प्रतिकृया