जनताले खोजेको जस्ताे बन्न नसकेकाे कर्मचारितन्त्र
एक्सन खबर
कुमार दाहाल
कर्मचारितन्त्रको धारणा जनताको सेवककाे रुपमा आएको होइन । राजा वा शासकको सेवा गर्ने तन्त्र यसको अवधारणा हाे । यसले शासकको इसारामा काम गर्छ । त्यसैले कर्मचारीतन्त्रका विशेषताहरु जनमुखी भन्दा कानुन र प्रक्रियामुखी बढी हुन्छन् । राजाहरूको अन्त्यपछि शासनका संयन्त्रहरुमा यही कर्मचारीतन्त्रको धारणा हावी हुँदैगयो ।
यसको मूल स्वरुप जनमुखी होइन । शासक मुखि नै हो । नेपालमा कर्मचारीतन्त्र शासक मुखी हुने चरित्र नयाँ होइन । यद्यपि सात सालपछि कर्मचारीतन्त्रलाई जनमुखी र परिणाममुखी बनाउने कानूनहरू थुप्रै आए । तर, अझै पनि जनताले खोजेको जस्तो नेपालकाे कर्मचारीतन्त्र संस्थागत हुनसकेको छैन ।
सेवाग्राहीलाई जनता मान्ने व्यवस्थापनको पछिल्लो सिद्धान्तले कर्मचारीतन्त्रलाई जनमुखी बनाउन सक्दैन । सन् २००० पछि नयाँ व्यवस्थापनका सिद्धान्तले जनता र शासनलाई जोड्ने अवधारणा अगाडि ल्याए । यसभन्दा अघि कर्मचारीतन्त्रलाई जनतासँग सोझै कहिले जोडिएन । किनकि कर्मचारीतन्त्रको उत्तरदायित्व जनता सँग होइन शासक तिर केन्द्रित छ ।
आज पनि कर्मचारितन्त्र सरकारको वितरण प्रणालीलाई व्यवस्थित गर्ने संयन्त्र जस्तो मात्र देखिन्छ । नतिजा दिन सक्ने कर्मचारी जनताले खोजेका छन् । हामी सेवाग्राहीसन्तुष्टि सर्वेक्षण गर्छौं । र, कर्मचारीतन्त्रले दिएको नतिजाको मूल्यांकन गर्छौ । तर, जनताले कर्मचारीतन्त्रलाई गर्ने मूल्यांकन फरक छ ।
अहिलेपनि नेपालको कर्मचारीतन्त्रलाई जनताले तथस्ट र निष्पक्ष ठान्दैनन् । कारण, नेपालको कर्मचारीतन्त्र योग्यताकाे भारीबाट थिचिएको छ । सेवक भन्दा शासकको भूमिका निर्वाह गर्न अझै छोडेको छैन । नतिजा दिने जोसुकै होस् जनताहरू त्यसैलाई योग्य कर्मचारी ठान्छन् । जनता र कर्मचारीको बीचको खाडल यहीँनेर फराकिलो छ । किनकि कर्मचारीहरु आफूलाई योग्य ठान्छन् जनमुखी बनाउन सक्दैनन् ।
राजनीतिले नव प्रवर्द्धनकारी नेतृत्वको खोजी गर्दैछ । यो नेतृत्व उत्तरदायी र पारदर्शी हुने कुराको निश्चितता जनताले चाहेका छन् । राजनीतिको आशीर्वाद विना बाँच्नै नसक्ने अवस्था कर्मचारीले अझै देखाउँदैछन् । अझैपनि सरुवा, बढुवामा विकृत माथिल्ला कर्मचारीहरूको नाम मिडियामा अग्रपंतिमा आउँछ । के यसको मूल्यांकन जनताले सेवाग्राहीको रुपमा मात्र गरेका छन् त ?
सरुवा ,बढुवा र मूल्याङ्कनका समाचार नजिकैबाट हेरिन्छन् । यो विकृतिलाई सर्वसाधारणले मूल्यांकन गरिराखेका हुन्छन् । तर, राजनीति नेतृत्वलाई जस्तो कर्मचारीतन्त्रलाई उनीहरुले फेरबदल गर्न सक्दैनन् ।
आफूलाई सेवा दिने योग्य कर्मचारी प्राप्त गर्न नसक्नु हाम्रो बिडम्बना नै हो ।किनकि, यहाँ योग्यताको होइन, सम्बन्ध र स्वार्थको आधारमा वृत्तिविकास हुन्छ। लेनदेनको विषय त जताततै समाचारहरूमा देखिएकै छ । योग्य कर्मचारी एकातिर थन्किएर पैसा र सम्बन्धका भरमा पदलाई प्रतिष्ठा ठान्ने राजनीति र कर्मचारीले कस्तो परीणाम पाउँछन्, नतिजा भुटानी शरणार्थी प्रकरणले देखाएकै छ ।
अझैपनि जनतालाई दिने सेवामा संगठन र संस्थाका निर्माण जनमुखी छैनन् । एकीकृत सेवा केन्द्र अझै छैनन् । राजनीतिक हिसाबले संघियता जनतासम्म पुग्यो । तर, वितरण गर्ने सेवा जनमुखी अझै भएन ।
यो त एउटा उदाहरणमात्र हाे खोतल्दै जाने हो भने यस्ता विकृतिका चाङहरू विभिन्न मन्त्रालयमा नभेटिने कुरै छैन । किनकि नेपालको उच्च प्रशासक वर्गले आफ्नो योग्यतामा भरोसा गर्ने अझै सकेको छैन ।
कर्मचारीको किन सरुवा भयो । खटाएको ठाउँमा किन गएन । समयमा बढुवा भयाे की भएन । कर्मचारी सरुवा गर्दा सम्बन्ध हुन्छ कि हुँदैन । यो विषयमा जनताले खासै चासो दिँदैनन् । उनीहरूको एउटामात्रै चासो हुन्छ । सेवा दिने कर्मचारी जनमुखी छ कि छैन । छरितो सेवा पाईन्छ कि पाईदैन । प्रक्रियामुखी भन्दा नतिजामुखी सेवा छ कि छैन । कर्मचारीले छिटो काम गर्छ कि गर्दैन । विश्वपरिवेश देखेका हामीहरु त्यस्तै अनुसारको सेवा कर्मचारीबाट चाहन्छौं । के याे अपेक्षा राख्नु जनताको भूल हाे ? यहीनेर जनताले कर्मचारीतन्त्रको मूल्याङ्कन गरिराखेका हुन्छन् ।
जनता सेवा चाहन्छन् । शासन र सेवा बिचको सेतु कर्मचारितन्त्र हाे । अझैपनि जनतालाई दिने सेवामा संगठन र संस्थाका निर्माण जनमुखी छैनन् । एकीकृत सेवा केन्द्र अझै छैनन् । राजनीतिक हिसाबले संघियता जनतासम्म पुग्यो । तर, वितरण गर्ने सेवा जनमुखी अझै भएन । प्रक्रियामुखी धेरै छ । यस्तै सेवाको वितरणमा पनि फाइदा कहाँ लिन सकिन्छ राजनिति र कर्मचारी वर्ग यसैमा तल्लीन छन् ।
आफ्नो ज्ञानको प्रयोग गर्नसक्ने, राजनीतिक नेतृत्व लाई बुझाउन सक्ने र स्वार्थ विहिन कर्मचारीतन्त्र आजको आवश्यकता हो । जसले परिवर्तित राजनीतिलाई सुशासनका लागि डोर्याउन सक्छ । अब पनि बिकृतिलाई नत्याग्ने हो भने जनताले खोजेको कर्मचारितन्त्र फरक हुन सक्छ । परिवर्तित विश्वबाट थुप्रै उदाहरणहरु हामीले देखिसकेका छौं ।
0 प्रतिकृया