Follow us:


Follow us

१८ भदौ २०८३, बिहिवार
१८ भदौ २०८३, बिहिवार


‘बाल विवाह कानुनी अपराध हाे, शिक्षामा ध्यान दिउँ’ भगबती चाैधरी

एक्सन खबर
जेठ, १४, २०८०


‘बाल विवाह कानुनी अपराध हाे, शिक्षामा ध्यान दिउँ’ भगबती चाैधरी

सुनसरी, १३ जेठ । बालिकाहरुलाई सानै उमेरमा विवाह गरेर आफ्नो जिम्मेवारी पुरा गर्नु भन्दा पहिला उनीहरुको विकासकालागि शिक्षामा जोड दिनुपर्ने संघीय सांसद भगबती चाैधरीले बताएकी छन् । पूर्व महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीसमेत रहेकी सुनसरी क्षेत्र नम्बर ३ की सांसद चाैधरीले बालबालिकालाई सक्षम र याेग्य नागरिक बनाउन शिक्षामा पहुँच स्थापित गर्नैपर्ने जनाइन् ।

शुक्रबार गढी गाउँपालिका वडा नं. २ लाई बाल विवाह मुक्त वडा घाेषणा कार्यक्रममा बाेल्दै चाैधरीले कानुनी रुपमा बाल विवाह अपराध समेत भएकाे अभिभावकले बुझ्नुपर्ने बताइन् । ‘बाल विवाह कानुनी अपराध हाे । अभिभावकले छाेराछाेरीकाे भविष्य राम्राे बनाउन उचित शिक्षामा ध्यान दिनुपर्छ ।’ चाैधरीले भनिन् ।

सांसद हुनुभन्दा पहिलाबाटै गढी २ काे शिक्षामा सुधार र बालबालिकाको विकासलागि फरवार्ड नेपाल नामक संस्थाबाट विभिन्न सचेतना सञ्चालन गरेको स्मरण गर्दै चाैधरीले गढी २ लाई बाल विवाह मुक्त वडा घोषणा गर्न पाउँदा खुसी लागेको बताइन् ।

कोशी प्रदेशका सांसद रामदेव यादवले गढी २ मात्र नभएर पालिका र क्षेत्र र प्रदेश भर नै बाल विवाह मुक्त अभियान चलाइनु पर्ने बताए । प्रदेश सरकारले पनि बालबालिकाकाे शिक्षा र अभिभावककाे सचेतनाका लागि कार्यक्रमहरू बनाउने जनाए ।

साविक औराबनी गाविस हाल गढी २ लाई बाल विवाह मुक्त वडा घोषणा गरिएको वडाध्यक्ष प्रभाकर चौधरीले बताए । प्लान इन्टरनेश्नल नेपाल र साझा सवालका लागि साझा मञ्च (कोकन) सुनसरीले विगत लामोसमयदेखि बालबालिकाका क्षेत्रमा सचेतना मुलक कार्यक्रम सञ्चालन गर्दै आइरहेका थिए ।

घोषणा कार्यक्रममा गढिका समाजसेवी, शिक्षक, स्वयमसेविका र सामाजिक अभियन्ताहरुलाई प्रशंसा पत्र, मायाको चिनोसहित सम्मान गरिएको थियाे । कार्यक्रमममा गढी २ का सामुदायिक तथा निजी विद्यालयका सबै बालबालिकाको सहभागिता रहेको थियो ।साे अवसरमा बालबालिकाहरूले थारु, उराँव र नेपाली संस्कृति झल्कने नृत्यहरू प्रस्तुत गरेका थिए ।

बालविवाह मुक्त अभियानमा प्लान नेपाल, फरवार्ड नेपाल, साझा सवालका लागि साझा मञ्च, आसमान नेपाल, पिपुल इन निड, महिला फेडरेशन, ओरेक नेपाल, शान्ति र समृद्धिका लागि युवा सुनसरी, बाल अधिकार समिति गढी गापा, किसोरी सञ्जाल, बाल सञ्जाल, दुरदृष्टि विकास समाज केन्द्र, प्रहरी कार्यालय औरावनी, साझा नेपाल, सामुदायिक सचेतना नेपाल, ज्योति महिला फेडरेशन, सिएडिसी, आरएसडिसी र भ्वाइस अफ चिल्ड्रेन नेपालको सहकार्य रहेको थियो ।













0 प्रतिकृया