Follow us:


Follow us

१७ वैशाख २०८३, बिहिवार
१७ वैशाख २०८३, बिहिवार


रूकुम पश्चिमका सुवाेधले हासिल गरे विश्वकै दुर्लभ विषयमा विद्यावारिधि

एक्सन खबर
जेठ, १५, २०८०


रूकुम पश्चिमका सुवाेधले हासिल गरे विश्वकै दुर्लभ विषयमा विद्यावारिधि

काठमाडाैं, १५ जेठ । रुकुमको चौरजहारीमा जन्मेका सुवोध गौतमले फिनल्यान्डको ओलु विश्वविद्यालयबाट ‘अक्सिग्लुतारेट’ रोगसम्बन्धी विषयमा विद्यावारिधि गरेर वैज्ञानिक भएका छन् । उनी अत्यन्तै दुर्लभ विषयमा विद्यावारिधि गरेर वैज्ञानिक बनेका हुन् ।

गौतमले पाँच वर्षसम्म उक्त विश्वविद्यालयकी प्राध्यापक मिल्लिहार्जु, रुड बान्क र माट्स पाउल्सनको समुहमा रहेर गरेको ‘जैविक गतिविधिमा इन्जाइमको विविध भूमिकाले प्राणवायुमा पार्ने असर र त्यसबाट मस्तिष्कको रक्त प्रवाहमा हुने अवरोध– ‘ब्लड ब्रैन ब्यारियर बीबीबी’ बारेमा गरेको गहन खोजको सफलतापछि विद्यावारिधिको उपाधि पाएका हुन् ।

गौतमले ‘डिजिज एसोसियटेड रोल्स अफ टु अक्सोग्लुटरेट डिपेन्डेन्ट डाइअक्सिजेनेसेस ट्रान्समेम्बरेन पि फोर एच एन्ड लिसिल हाइड्रिक्सिलेस थ्री’ विषयमा लेखेका महत्वपूर्ण तीन विधाका अनुसन्धनात्मक लेख विश्वप्रसिद्ध वैज्ञानिक जर्नलहरूमा प्रकाशित भइसकेका छन् ।

विश्वविद्यालयको छनौट समितिले छानेको जर्मनीका ड्रेसदेन विश्वविद्यालयका प्राध्यापक डा. बेन बिलक्सले गौतमको अनुसन्धानपत्रमा गरेको प्रत्यक्ष प्रश्नोत्तर र सार्वजनिक सुनुवाइपछि विश्वविद्यालयले उनलाई उक्त उपाधि प्रदान गरेको हो ।

विश्वविद्यालयको लिना पालोट्ति सभाहलमा भएको सार्वजनिक सुनुवाइमा अनुसन्धानमा संलग्न ब्यक्तिहरू, प्राध्यापकहरू र विद्यार्थीहरू प्रत्यक्ष सहभागी थिए भने भर्चुअल माध्यमबाट पनि गौतमको अनुसन्धानका बारेमा चासो राख्नेहरू जोडिएका थिए । कोरियाको चुङनाम राष्ट्रिय विश्वविद्यालयबाट स्नात्तकोत्तर गरेका गौतम हाल ओलु विश्वविद्यालयमै अनुसन्धान क्षेत्रमा काम गरिरहेका छन् ।

ओलु विश्वविद्यालय फिनल्याण्डको सबैभन्दा ठूलो विश्वविद्यालय हो, जुन ओलु शहरमा छ । यो जुलाई ८, १९५८ मा स्थापित भएको हाे । विश्वविद्यालयमा करिब १३ हजार विद्यार्थीहरू अध्ययनरत छन् भने, दुई हजार नौ सय कर्मचारीहरू छन् । विश्वभरबाट २१ अन्तर्राष्ट्रिय मास्टर कार्यक्रमसमेत उक्त विश्वविद्यालयमा प्रस्तावित छन् ।

ओलु विश्वविद्यालय अझै पनि विश्वव्यापी विश्वविद्यालयहरूको शीर्ष तीन प्रतिशतभित्र पर्दछ । फिनल्याण्डमा अध्ययन गर्न तथा काम गर्न चाहने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि लोकप्रिय विश्वविद्यालय हाे ।















0 प्रतिकृया