भारतकाे ओडिशामा भयानक रेल दुर्घटनामा २३७ यात्रुको मृत्यु, ९०० बढी घाइते
एक्सन खबर
काठमाडौं, २० जेठ । भारतमा शुक्रबार भएको एउटा भयानक रेल दुर्घटनामा परी २३७ यात्रुको मृत्यु भएको छ । दुर्घटनामा परी ९०० भन्दा बढी यात्रु घाइते भएका छन् ।
भारतको पूर्वी क्षेत्रमा पर्ने ओडिशा राज्यको बालासोर जिल्ला नजिकै दुर्घटना भएकाे हाे । हावडा-चेन्नई कोरोमण्डल एक्सप्रेस मालगाडीसँग ठोक्किएपछि दुर्घटना भएको थियाे । साथै, अर्कोतर्फबाट आउँदै गरेको यशवंतपुर-हावडा सुपरफास्ट रेल पनि ठोक्किएको थियो ।
ओडिशाका मुख्य सचिव प्रदीप जेनाले यस दुर्घटनामा मृत्यु हुनेको संख्या २३७ पुगेको बताएका छन् । दुर्घटनामा परी करिब ९०० जना घाइते भएको बताइएको छ । शनिबार बिहान रेलकाे डिब्बामा अझै केहि शव रहेकाले मृतककाे संख्या बढ्ने बताइएकाे छ ।
दुर्घटनामा भारतीय सेना र प्रहरीले उद्दारकाे कार्य गरिरहेका छन् । भारतका रेलमन्त्री अश्विनी वैष्णव आफैं दुर्घटनास्थल पुगेका छन् । उनले ट्वीट मार्फत दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका आफन्तलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका छन् । प्रधानमन्त्री नरेन्द्र माेदीले मृतकका परिवारलाई २ लाख र घाइते परिवारलाई ५० हजार दिने घाेषणा गरेका छन् ।
यसका साथै उनले गम्भीर घाइतेलाई २ लाख र सामान्य घाइतेलाई ५० हजार रुपैयाँ दिने घोषणा गरेका छन् । ओडिशाका मुख्यमन्त्री नवीन पटनायकले आज एक दिने राज्य शोकको घोषणा गरेका छन् ।
भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ओडिशा रेल दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
0 प्रतिकृया