मलेसियासँगकाे टी–२० सिरिजमा नेपाल च्याम्पियन
काठमाडाैं, २१ जेठ । घरेलु टोली मलेसियाविरुद्ध पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय महिला सिरिज नेपालले जितेको छ । आइतबार भएको सिरिजको अन्तिम तथा निर्णायक खेलमा नेपालले मलेसियालाई तीन विकेटले हराएको हाे । यससँगै नेपालले सिरिज ३-२ ले जितेको हो ।
यसअघि नेपाल पहिलो खेलमा मलेसियासँग पाँच विकेटले पराजित भएको थियो । नेपालले दोस्रो खेल सात विकेट र तेस्रो खेल २७ रनले जितेको थिय । चौथो खेलमा नेपाल मलेसियासँग चार विकेटले पराजित भएको थियो ।
निर्णायक खेलमा मलेसियाले दिएको एक सय १० रनको विजयी लक्ष्य नेपालले १९.२ ओभरमा सात विकेटको क्षतिमा पूरा गरेको हो । नेपालका लागि सीता रानामगरले सर्वाधिक ३४ रन बनाइन् । भने, कप्तान रुविना क्षेत्रीले २३, अप्सरी बेगम ले अविजित १५, ज्योती पाण्डेले अविजित ११ र ईन्दु बर्माले पाँच रन बनाए ।
बलिङमा मलेसियाका लागि हमिजा हसिमले दुई विकेट लिइन् । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय नौ रन बनाएको थियो ।
मलेसियाका लागि वान जुलियाले सर्वाधिक ४७ रन बनाइन् । विनिफ्रेड दुराईसिंघमले २४ र महिराह इज्जाती इस्माइलले २० रन जोडे । बलिङमा नेपालकी कविता जोशीले दुई विकेट लिइन् । ईश्वरी विष्टले एक विकेट लिइन्।
प्रतियाेगितामा नेपालकी कप्तान रुविना प्लेयर अफ दि सिरिज घाेषित भइन्। उनले पाँच खेलमा ८१ रन जोड्दै पाँच विकेट पनि लिएकी थिइन् ।
0 प्रतिकृया