नेपालको नयाँ नक्सासहित भारतीय कार्यशालामा नेकका शिक्षककाे प्रस्तुति
एक्सन खबर
काठमाडौं २५ जेठ । नेपाल इन्जिनियरिङ कलेज (नेक) का शिक्षकले भारतीय प्राविधिक संस्थान रुर्कीमा आयोजित ‘हिमालयन फ्रेसवाटरः एसेसिङ द सर्भिसेस एण्ड भलुनराबिटी अफ फ्रेसवाटर इकोसिस्टम इन हिमालयज’ कार्यशालामा सहभागी भएका छन् ।
कलेजका सहायक प्राध्यापक प्रतीक सिंह ठकुरीले जुन ६, २०२३ मा आयोजित कार्यशालामा भाग लिँदै ‘नेपालमा स्वच्छ पानीको इकोसिस्टम र यसका सेवाहरू’ शीर्षकमा प्रस्तुति गर्नुका साथै ‘हिमालयभरको स्वच्छ पानी इकोसिस्टम’ विषयमा प्यानल छलफलमा पनि भाग लिए । सोक्रममा उनले लिपुलेक, लिम्पयाधुरा र कालापानी समेटिएको नेपालले पछिल्लो समय जारी गरेको चुच्चे नक्सा समेटेर प्रस्तुति दिएका थिए ।
यसका अलावा कार्यशालामा नेपालका तर्फबाट काठमाडौं विश्वविद्यालयका प्राध्यापक सुबोध शर्मा र एकीकृत पर्वतीय विकासको लागि अन्तराष्ट्रिय केन्द्र (आइसिआइएमओडी) की डाक्टर बन्दना शाक्यले समेत बोलेका थिए ।
कार्यक्रम जलविज्ञान विभाग, आईआईटी रुर्कीको एपीएनको आर्थिक सहयोगमा ‘फ्रेसवाटर इकोसिस्टमः एक्सेसिङ द सर्भिस एन्ड वुलनरेबिटी ओभर द हिमालयज (रिफ्रेश)’ शीर्षकको बहुवर्षीय परियोजनाअन्तर्गत आयोजना गरिएको थियो । परियोजनाको नेतृत्व डा. आशुतोष शर्मा, आईआईटी रुर्कीले गरिरहेका छन् । नेपाल इन्जिनियरिङ कलेज सहयोगी साझेदार संस्थाहरु मध्ये एक हो ।
सहायक प्राध्यापक ठकुरी, एपिएनको वित्त पोषित परियोजना रिफ्रेशमा सह–प्रधान अन्वेषक छन् । यो परियोजना पश्चिम, मध्य र पूर्वी हिमालयको पारिपट्टि रहेको ब्यास (भारत), मस्र्याङ्दी (नेपाल), पुनात्साङ्छु (भुटान) र टिस्टा (भारत) गरी चारवटा नदी प्रणालीमा केन्द्रीत रहेको छ ।
मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा जिल्ला प्रशासन कार्यालय भक्तपुरमा दर्ता भई पोखरा विश्वविद्यालयबाट सम्बन्धन लिएर सञ्चालित नेपाल इन्जिनियरिङ कलेजले शिक्षक, विद्यार्थीहरुको सिकाईलाई प्रभावकारी बनाउन विभिन्न राष्ट्रिय अन्तराष्ट्रिय तहका संघ संस्थाहरुसँग अनुसन्धान, नवप्रवद्र्धन र सोधका विषयमा सहकार्य गर्दै आइरहेको छ ।
0 प्रतिकृया