उपप्राध्यापक चलाउने प्रकरणः निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश
एक्सन खबर
काठमाडाैं, ७ असार । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि कुटपिट गर्नेविरूद्धको मुद्दा फिर्ता गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी भएकाे छ ।
बिहीबार सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्माको इजलासले अन्तरिम आदेश जारी गरेको हो । सरकारले उप्राध्यापक चलाउनेमाथि कुटपिट गर्ने विरूद्धकाे मुद्दा फिर्ता गरेपछि उनी सर्वोच्चमा पुगेका थिए ।
उक्त रिटको सुनुवाइ गर्दै सर्वोच्चले मुद्दा फिर्ता गर्ने सरकारको निर्णय कार्यान्वयन नगराउन अन्तरिम आदेश दिएको हाे । अधिवक्ता राधिका खतिवडाले सर्वोच्चले मुद्दा फिर्ता गर्ने सरकारको निर्णयमा कारण देखाउ आदेश पनि जारी भएकाे जानकारी दिइन् ।
सरकारले गत जेठ ३० गते चलाउनेमाथि सांघातिक आक्रमण गर्नेविरूद्धको मुद्दा फिर्ता गर्ने निर्णय गरेपछि उपप्राध्यापक चलाउने त्रिवि परिसरमै अनसन बसेका छन् । अन्तरिम आदेश जारी भएसँगै आफूले आंशिक रूपमा मुद्दा जितेको भएपनि अनसन जारी नै राख्ने उपप्राध्यापक चलाउनेले भने । आफ्नो अनसन मुद्दा जितेपछि मात्रै तोड्ने पनि उनले बताए ।
२०७७ साल असोज २० गते नेविसंघ त्रिवि समितिका अध्यक्ष हरि आचार्य, सचिव योगेन्द्र रावल, रुपेश शाह, रविन लामा, सहयुज श्रेष्ठ, निरज रानामगर र दीपक ओझाले चलाउनेमाथि कुटपिट गरेको आरोप छ ।
0 प्रतिकृया