कांग्रेसको रस्सीतान प्रतियोगितामा बराहक्षेत्र ३ र रामधुनी ६ विजयी
धरान, २२ असार । नेपाली कांग्रेसले आयोजना गरेको नकआउट पुरुष तथा महिला खुला रस्सीतान प्रतियोगितामा बराहक्षेत्र ३ र रामधुनी ६ विजयी भएका छन् । कांग्रेस क्षेत्र नं. १ सुनसरी तथा प्रदेशसभा १(१) र १(२) को संयुक्त सम्मेलनको अवसरमा सुनसरी–१ कांग्रेसले आयोजना गरेको रस्सीतान प्रतियोगितामा पुरुषतर्फ बराहक्षेत्र ३ र महिलातर्फ रामधुनी ६ विजयी भएको हो ।
सुनसरी क्षेत्र नं. १ अन्तर्गत पर्ने बराहक्षेत्र नगरपालिकाको ५ वडा र रामधुनी नगरपालिकाको २ वडा गरी ७ वटा वडाका पुरुष र महिला टीम वीच प्रतियोगिता भएको थियो । पुरुषतर्फ फाइनल खेलमा बराक्षेत्र ३ ले बराहक्षेत्र ५ लाई हराएका थिए भने महिलातर्फको फाइनल खेलमा रामधुनी ६ ले बराहक्षेत्र ५ लाई हराएका थिए ।
प्रतियोगितामा प्रथम र द्धितिय हुने खेलाडीहरुलाई असार २९ र ३० गते हुने सम्मेलनमा महामन्त्री युवा नेता गगन कुमार थापाबाट प्रमाण–पत्र, मेडल र नगर पुरस्कार प्रदान गरिने क्षेत्रीय सचिव एवम् प्रवक्ता केशव पुरीले बताए ।
प्रतियोगितामा सहभागि खेलाडीहरुलाई प्रमुख अतिथि एवम् प्रदेश सांसद ममता तामाङ, क्षेत्रीय सभापति सुजेन्द्र तामाङ, पूर्व जिल्ला सचिव एवम् क्षेत्रीय सल्लाहकार बुद्धि कटवाल, प्रदेशसभा १(२) सभापति मुरारी भट्टराई, पूर्व नगर सभापति किशोर राई, वडा अध्यक्ष रोहित काप्mले लगायतले प्रमाण–पत्र प्रदान गरेका थिए ।
क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा भएको प्रतियोगिताको औपचारिक कार्यक्रममा प्रमुख अतिथि तथा प्रदेश सांसद ममता तामाङ, क्षेत्रीय सल्लाहकार एवम् पूर्व जिल्ला सचिव बुद्धि कटवाल, प्रदेशसभा १(२) सभापति मुरारी भट्टराई, महासमिति सदस्य एवम् कार्यक्रम संयोजक जगतबहादुर कार्की, बराहक्षेत्र ५ का सभापति दिलबहादुर पौडेल लगायतले मन्तव्य राखेका थिए ।
कांग्रेसले सम्मेलनको अवसरमा असार २२ गते लोकतान्त्रिक चौक (भानुचौक) बाट ५ कि.मि. दौड प्रतियोगिता र सोही दिन २ बजे धरान १७ मा रहेको एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा नेपाल पत्रकार महासंघ र पार्टी वीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता पनि आयोजना गर्ने जनाएको छ भने असार २९ र ३० गते कांग्रेस महामन्त्री गगनकुमार थापाको प्रमुख आतिथ्यमा धरान १३ स्थित धरान व्यान्क्वेटमा दुईदिने सम्मेलन गर्ने जनाएको छ ।
0 प्रतिकृया