आफन्तले माया मारिसकेका थिए, नेपाल मेडिकल कलेजका चिकित्सकले बचाए
एक्सन खबर
काठमाडौं, २ साउन । मेनिङ्गो इन्सेफ्लाइटिस भएर गम्भिर भएका एक बिरामीलाई नेपाल मेडिकल कलेज (एनएमसी)ले एक महिनासम्मको सघन उपचारबाट निको बनाएर घर पठाएको छ ।
सोलुखुम्बु स्थायी घरभई बुढानिलकण्ठ नारायणथान बस्ने ४९ वर्षीय पासाङ शेर्पालाई गत असार १ गते अकस्मात बेहोस भएका थिए । राजधानीका अन्य अस्पतालहरुले उपचार गर्न नसकेपछि आफन्तले नेपाल मेडिकल कलेजको इमरजेन्सी ल्याउँदा पासाङको अवस्था गम्भिर भइसकेको थियो । तर, एनएमसीका दक्ष तथा अनुभवी चिकित्सकहरुले त्यहिदिन भेन्टिलेटरमा राखेर सघन उपचार थालेपछि उनी २० दिन भेन्टिलेटर र १० दिन आइसियूको उपचारपछि स्वस्थ भएर घर फर्कन सफल भए ।
पासाङलाई मेनिङ्गो इन्सेफ्लाइटिसले रगतमा संक्रमण हुनुका साथै उनको मिर्गौला र फोक्सोमा समेत असर गरिसकेको रहेछ । अचेत अवस्थामा रहेका उनलाई एनएमसीका चिकित्सकले तत्कालै भेन्टिलेटरमा राखेर उपचार थालेका थिए । ‘उहाँ यहाँ आउँदा गम्भिर अवस्थामा हुनुहुन्थ्यो । उहाँका आफन्तले माया नै मारिसक्नु भएको रहेछ । हामीले तत्कालै भेन्टिलेटरमा राखेर उपचार सुरु गर्यौं । घाँटीमा प्वाल पारेर अक्सिजन दियौं । मेनिङ्गो एन्सेफ्लाइसिट विरुद्धको एन्टीवायोटिक्सहरु प्रयोग गर्दै जाँदा विस्तारै सुधार हुँदै गयो ।’ पासाङको उपचारमा संलग्न क्रिटिकल केयरका चिकित्सकले भने ।
क्रिटिकल केयर युनिटका प्रमुख डा. सौरभ प्रधान लगायतकाे टीमकाे सक्रियताले शेर्पाले नयाँ जीवनदान पाए । भेन्टिलेटरबाट बाहिर निकालेर १० दिनसम्म आइसियूमा उपचार गरेपछि स्वस्थ भएका पासाङले नयाँ जीवन पाएपछि अस्पतालका डाक्टर नर्सहरुलाई कृतज्ञता व्यक्त गरे । ‘मैले पुर्नजीवन पाँए । यहाँहरु सबैलाई धन्यवाद ।’ उनले भने ।
बिरामीका भाईले माया मारिसकेको दाईलाई बचाउन अस्पताल र त्यहाँका चिकित्सकले निर्वाह गरेको भूमिका प्रति कृतज्ञता व्यक्त गरे । ‘हामीले माया मारिसकेको अवस्थामा पनि डाक्टरहरुले प्रयास गर्नुभयो । २० दिनसम्म भेन्टिलेटरमा राखेको मान्छे कसरी फर्केला भन्नेथियो तर, डाक्टरसावहरुको अथक मेहनतले दाई बच्नुभयो ।’ अस्पतालका नर्स, डाक्टरहरुको निरन्तरको प्रयासले आफ्नो दाईले जीवनदान पाएकोमा उनले क्रिटिकल केयर युनिटका डाक्टरहरुलाई धन्यवाद दिए ।
नेपाल मेडिकल कलेजको क्रिटिकल केयर युनिटमा दक्ष तथा अनुभवी डाक्टर नर्सहरु उपलब्ध छन् । अनुभवी डाक्टरहरुको समुह रहेकाले जस्तैसुकै गम्भिर बिरामी आएपनि हतारहतार रेफर गर्ने तथा भर्ना नै नलिने गरिँदैन । ‘नेपाल मेडिकल कलेज टर्सरी सेन्टर पनि भएकाले यहाँ आएका बिरामीलाई अन्त रेफर गर्ने कुरा आउँदैन । हामीसँग दक्ष जनशक्ति छन्, उच्चस्तरीय स्वास्थ्य उपकरण छन् ।’ कलेजले पछिल्ला दिनहरुमा आफ्नो स्वास्थ्य सेवालाई अझ प्रभावकारी र गुणस्तरीय बनाउँदै लगेको कलेजका अस्पताल निर्देशक प्रा.डा. माेदनाथ मरहठ्ठाले बताए ।
कलेजका निर्देशक जहाँगिर अन्सारीले आउँदा दिनहरूमा नेपाल मेडिकल कलेजकाे स्वास्थ्य सेवालाई विशिष्टिकृत गराउँदै लैजाने र मिर्गाैला, कलेजाे प्रत्याराेपण सेवा, अंकाेलाेजी, कार्डियाेलाेजी सेवा विस्तार गर्ने जानकारी दिए ।
0 प्रतिकृया